
रूपन्देही प्रहरीले जिल्लाको कञ्चन गाउँपालिका–३ रुद्रपुरका इशान शर्माको मृत्यु सडक दुर्घटनामा भएको बताएको छ । घटनापछिका विवरणका आधारमा शर्माको हत्या भएको कुनै आधार नदेखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीको दाबी छ ।
प्रहरीले दिएको जानकारीअनुसार शर्मालाई ठक्कर दिने लु २ ख ४९४८ नम्बरको फोर्स गाडी बुटवल उप–महानगरपालिका वडा नम्बर २ मैनाबगरमा पुर्याएर लुकाई छिपाई राखेको खुलेको छ ।
साथै मर्मतपछि पुन: सञ्चालन गरेको अवस्थामा बाग्लुङ, पाल्पा हुँदै बुटवल आउने क्रममा गाडी चालकलाई पुस ७ गते पक्राउ गरिएको रूपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बेहोस् अवस्थामा भेटिएका इशानलाई आफन्तहरूको उपस्थितिमा प्रहरीले नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याएको थियो । तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका जारी विज्ञप्तिमा उल्लेख छ ।
ठक्कर दिने गाडी चालक बाग्लुङ बरेङ गाउँपालिका छिसा घर भई हाल जिल्ला रूपन्देही कञ्चन गाउँपालिका वडा नम्बर ४ थकालीचोक बस्ने सन्तोष क्षेत्री, सवारी भगाउन सहयोग गर्ने रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर ५ बस्ने दीपेन्द्र भण्डारी क्षेत्री र सोही ठाउँका सन्देश क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए ।
तर परिवार र समाजले इशानको दुर्घटनामा नभई सुनियोजित हत्या भएको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
पुस २ गते साँझदेखि हराएका इशान पुस ४ गते घरनजिकै सडकको नालीभित्र गम्भीर चोट लागेको अवस्थामा फेला परेका थिए ।