०१ साउन २०८३, शुक्रबार
माघ ११ को सरगर्मी

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीको ३ सीटमा तीनै दलको नजर

पुस २०, २०८२
काठमाडौं
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीको ३ सीटमा तीनै दलको नजर

राष्ट्रिय सभामा रिक्त १८ पदका लागि आगामी माघ ११ मा हुने निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा एक महिना अगाडि हुने राष्ट्रिय सभाको एकतिहाइ सिटको निर्वाचनमा कुन–कुन दलबीच तालमेल हुन्छ भन्ने चासो बढेको छ ।

आमचुनावको बढ्दो माहोल र राष्ट्रिय सभाको चुनावी मिति नजिकिएसँगै पार्टीका नेताहरू आकांक्षी छनोट र चुनावी जोडघटाउको तयारीमा लागेका छन् । निर्वाचन आयोगले फागुन २० गतेदेखि रिक्त हुने पदका लागि चुनाव गराउन लागेको हो ।

लुम्बिनी प्रदेशबाट तीनजना सदस्य पदका लागि निर्वाचन हुँदैछ । लुम्बिनीमा ३०५ मतदाता रहेका छन्, जसमध्ये प्रदेशसभाका ८७ जनाको ४ हजार ६११ र १०९ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष गरी २१८ जनाको ४ हजार १४२ गरी कूल मतभार ८ हजार ७५३ रहेको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय, दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया यही पुस १९ गतेबाट शुरू हुने बताए ।

‘लुम्बिनीमा तीन पदका लागि चुनाव हुनेछ’, उनले भने, ‘खुला, महिला र अपाङ्गता क्षेत्रमा १/१ पदका लागि चुनाव हुन लागेको हो ।’

लुम्बिनीबाट एमालेका गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे तथा माओवादीका जगप्रसाद शर्मा ‘अपार’ को पदावधि आउँदो फागुन २० मा सकिँदैछ ।

त्यही पदका लागि हुने चुनावले नयाँ सदस्य चयन गर्नेछ ।

लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय सभामा नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रमुख तीन दलबीचको प्रतिस्पर्धामा अन्य साना दलको भूमिका निर्णायक हुन सक्ने आकलन गरिएको छ । तर, एमाले र नेकपाले कांग्रेससँग तालमेलका लागि तानातान गरेका छन् ।

एमालेका लागि लुम्बिनीबाट रिक्त हुने आफ्ना दुई सिट जोगाउन चुनौती छ । यता अंकभारमा बलिया प्रमुख दलसँग गठबन्धन गरेर फाइदा लिने दाउमा नेकपा देखिन्छ ।

प्रमुख दलमध्ये कांग्रेसले प्रदेश तहबाट उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ । कांग्रेसका प्रदेश सभापति अम्मरसिंह पुनले केन्द्रबाट कसरी अगाडि बढ्ने भन्ने छलफल चलिरहेको बताए ।

‘प्रदेशका १२ वटै जिल्लाबाट आएका १०४ जनाको नाम सिफारिस गरी पठाएका छौं’, सभापति पुनले भने, ‘तालमेलबाट अघि बढ्ने तयारी छ ।’

नेकपा नेता तथा साविक माओवादी केन्द्र लुम्बिनीका प्रदेश अध्यक्ष सुदर्शन बरालले तालमेलका लागि सबै दलसँग आफूहरूले छलफल अघि बढाएको बताए ।

‘हाम्रो पार्टीमा शिवलाल पोखरेल, प्रकाश सुवेदी र वृहस्पति अधिकारी आकांक्षी हुनुहुन्छ,’ बरालले भने, ‘मिलेर जानेमा दुईमत छैन । छलफलकै क्रममा छौं ।’

लुम्बिनी प्रदेशमा माओवादीका २९ पालिका अध्यक्ष/प्रमुख, १९ उपाध्यक्ष/उपप्रमुख र १२ प्रदेशसभा सदस्य रहेको बरालको भनाइ छ ।

एमालेले आन्तरिक रूपमा राष्ट्रिय सभा उम्मेदवारको विषयमा छलफल नगरे पनि तालमेल गरेर जाने विषयमा दुईमत नभएको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल बताउँछन् ।

कँडेलका अनुसार एमालेका ३९ प्रमुख/अध्यक्ष, २७ उपप्रमुख/उपाध्यक्ष र २९ प्रदेशसभा सदस्य रहेका छन् । विगतमा प्रदेश सभा सदस्यको मतभार ४८ रहेकोमा अहिले वृद्धि गरेर ५३ पुर्‍याइएको  छ । यस्तै, स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ बाट बढेर १९ पुगेको छ ।

यस हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गत सबैभन्दा धेरै मतभार नेपाली कांग्रेसको ३ हजार १७९ हुन्छ । यस्तै, एमालेको २ हजार ८१० र साविक माओवादीको १ हजार ३४३ छ । साविक माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका दल मिलेर नेकपा गठन भइसकेको अवस्थामा प्रदेश सभामा एकीकृत समाजवादीका एक सांसदको मतभार पनि थप हुने देखिन्छ ।

साना दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २६९ मतभार छ । नागरिक उन्मुक्ति पार्टीको २१२, जनता समाजवादी पार्टी (जसपा) को २७३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को २३५, जनमतको १५९, राष्ट्रिय जनमोर्चाको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्र ५३ मतभार छ ।

राप्रपा प्रदेश सांसद आशिष चौधरीले केन्द्रको निर्देशन अनुसार आफूहरू अघि बढ्ने बताए । जनमत पार्टी प्रदेशसभा संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सीके) ले पनि पार्टी केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा चुनावका लागि पुस १९ मा मतदाता नामावली प्रकाशन, पुस २० मा प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

यस्तै, परेको निवेदन तथा उजुरीमाथि पुस २१ र २२ गते छानबिन गरी आयोगले पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २७ गते बिहानसम्मको समय दिइएको छ । पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आगामी माघ ११ गते बिहान ९ बजेदेखि तीन बजेसम्म मतदान हुने कार्यतालिका छ ।

salt training

कमेन्ट गर्नुहोस्