
नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई निमन्त्रणा बुझाउन पुगेका नेतालाई देउवा निवासबाट थर्काएर पठाएको खुलेको छ ।
विशेष महाधिवेशनका लागि गठित अतिथि सत्कार विभागका प्रमुख रामपल्टन साहलाई शनिबार सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले थर्काएर पठाएका हुन् ।
'म पार्टी सभापतिलाई निमन्त्रणा पत्र दिन उहाँको निवासमा पुगेको थिएँ । शुरूमा आधा घण्टा कुराउनुभयो । त्यसपछि भानुजी आएर पत्र पढेपछि तपाईंलाई लाज लाग्दैन ? भनेर पत्र मेरै खल्तीमा हालेर फर्काइदिनुभयो,' साहले लोकान्तरसँग भने ।
देउवा निवासमै पार्टीका अन्य नेताहरू पनि रहेको अवस्थामा समेत आफूलाई पत्र बुझाउन नदिएको उनको गुनासो छ ।
'त्यहाँ धेरै नेताहरू हुनुहुन्थ्यो, मीटिङ चलिराथ्यो, भित्र जान दिएको भए त्यहीँ पत्र दिनुहुन्थ्यो,' साहले भने, 'बाहिरैबाट फर्काएपछि नेताहरूको घर-घरमा पुगिरहेको छु ।'
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा भने आफूलाई सम्मानजनक व्यवहार गरेको र पत्र पनि बुझेको उनको भनाइ छ ।
'कार्यवाहक सभापतिज्यूको स्वकीयले पत्र बुझ्नुभयो । त्यसपछि मेरो नाम र नम्बर लिएर धन्यवादसहित फिर्ता पठाउनुभयो,' साहले भने ।