२८ असार २०८३, आइतबार
कांग्रेसको विशेष महाधिवेशन

विश्वप्रकाशको सांगठनिक प्रतिवेदन– लाभको पद लिन कार्यकालको सीमा, संगठनमा 'ल्याटरल इन्ट्री'

पुस २७, २०८२
काठमाडौं
विश्वप्रकाशको सांगठनिक प्रतिवेदन– लाभको पद लिन कार्यकालको सीमा, संगठनमा 'ल्याटरल इन्ट्री'

नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीका नेताहरूलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदसम्म लाभका पद लिन कार्यकालको सीमा तोक्ने भएको छ ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले बन्दसत्रमा पेश गर्ने गरी तयार पारेको सांगठनिक प्रतिवेदनमा सो विषय उल्लेख छ ।

'एकपटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक मात्र सांसद बन्न पाउने विषय प्रतिवेदनमा छ,' शर्मानिकट स्रोतले लोकान्तरसँग भन्यो ।

उनले यो विषयलाई पार्टीको विधान महाधिवेशनमा पनि प्रस्ताव गरेका थिए । तर, पारित हुन सकेको थिएन ।

साथै, सांगठनिक प्रतिवेदनमा पार्टीका हरेक कमिटीमा युवा प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समावेश छ ।

'केन्द्रदेखि वडासम्मै ३० वर्षमुनि र ३० देखि ४० वर्ष उमेर समूहका युवालाई क्लस्टर नै तोकेर प्रतिनिधित्व सुनिश्चित गर्ने विषय प्रतिवेदनमा उल्लेख छ,' स्रोतले भन्यो, 'दुवै उमेर समूहबाट केन्द्रमा २०-२०, प्रदेशमा १०-१०, जिल्ला, क्षेत्र र पालिकामा ६-६ तथा वडामा ४-४ जनाको प्रतिनिधित्व सुनिश्चित हुनेछ ।'

पदाधिकारीको संरचनालाई यथावत् छाडिएको स्रोतले बतायो ।

विदेशस्थित जनसम्पर्क समितिहरूको हकमा भने छुट्टै संरचना प्रस्ताव गरिएको छ ।

'जनसम्पर्क समितिहरूबाट छुट्टै अन्तर्राष्ट्रिय संरचना बनाउने विषय प्रतिवेदनमा छ,' स्रोतले भन्यो, 'प्रत्येक देशको वर्तमान र पूर्व अध्यक्ष मध्येबाट २७ सदस्यीय अन्तर्राष्ट्रिय जनसम्पर्क परिषद् रहने छ ।'

साथै, पार्टीमा 'ल्याटरल इन्ट्री'को व्यवस्था गर्ने प्रस्ताव पनि गरिएको छ ।

यसअघि कांग्रेसमा तल्ला कमिटीहरूबाट अगाडि बढ्दै नेता बन्ने पद्धति मात्र रहेकोमा अब विभिन्न पेशा-व्यवसाय वा बुद्धिजीवीहरूबाट योग्य व्यक्तिहरूलाई सिधा 'इन्ट्री'को व्यवस्था गर्न लागिएको हो ।

पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागलाई नेतृत्वले लत्याएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्