०३ साउन २०८३, आइतबार

सियारीमा माछा महोत्सवको तयारी

पुस २८, २०८२
बुटवल
सियारीमा माछा महोत्सवको तयारी

माछा उत्पादनमा राम्रो पहिचान बनाएको रूपन्देहीको सियारीमा माछा तथा कृषि महोत्सव हुने भएको छ । 

सियारी गाउँपालिकाले छपियाको माछालाई प्रवर्द्धन गर्न आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म सियारी माछा तथा कृषि महोत्सव गर्न लागेको हो । 

गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले माछासँगै कृषिमा अब्बल रहेको पालिकाका किसानको उत्पादन र बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले माछा महोत्सव गर्न लागेको जानकारी दिए । 

कृषि, व्यापार, उद्योग मेला/महोत्सव हुने गरे पनि माछा महोत्सव देशमै फरक र नयाँ रहेको अध्यक्ष घिमिरेको भनाइ छ । 

सियारीले देशमा कूल माछा उत्पादनको २५ प्रतिशत हिस्सा ओगटेको छ । माछासँगै मह, ढाका तरकारी र पशुपंक्षीका उत्पादनले पनि महोत्सवमा स्थान पाउनेछन् । 

‘अहिले पनि यहाँका माछाले मुलुकमा हुने कूल उत्पादनको २५ प्रतिशत ओगटिरहेको छ’, घिमिरेले भने,  ‘यहाँ तयार हुने माछाका परिकार पनि लोकप्रिय भइरहेका छन् । माछाका सुकुटी, अचार खान धेरै आन्तरिक तथा बाह्य पर्यटक आउँछन् ।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले माछा महोत्सव गर्ने पालिकाको कार्यक्रमले किसानका आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने बताए ।  

‘माछा र माछाका परिकारको प्रवर्द्धन गर्ने हो,’ उनले भने, ‘संघका पदाधिकारीले खटिएरै महोत्सव सफल बनाउने छन् ।’ 

गाउँपालिकाभित्र एक हजार दुई ४७ हेक्टर जलासय क्षेत्र रहेका छन् । त्यसमध्ये एक हजार ११२ हेक्टर माछा जोन कार्यक्रम अन्तर्गत पर्छ । 

पालिकामा प्रतिहेक्टर १० मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले पालिका माछा र दुग्ध उत्पादनमा आत्मनिर्भर रहेको जनाए । 

‘किसानलाई अझैं उत्प्रेरित गर्न महोत्सव आयोजना गर्न लागिएको हो,’ उनले भने, ‘गाउँपालिकाले माछाको ब्राण्डिङ गर्न भूमिका खेल्दै आएको छ । यसलाई अझै प्रभावकारी तुल्याउन पालिकाभित्रको कृषि क्षेत्र समेटेर महोत्सव गर्न लागेका हौं ।’

salt training

कमेन्ट गर्नुहोस्