
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएका दुइटा मुद्दा फिर्ता गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् ।
लामिछानेले आफूविरुद्ध अदालतमा जबर्जस्ती सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दर्ता गराइएको भन्दै उक्त मुद्दा फिर्ता लिइदिन आग्रहसहित कार्यालयमा निवेदन दिएका हुन् ।
‘आफूमाथि राजनीतिक पूर्वाग्रहले लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिइदिन निवेदन दिनुभएको हो,’ महान्यायाधिवक्ता सविता भण्डारीले लोकान्तरसँग भनिन् ।
लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध दाबी नपुग्ने देखिएपछि तत्कालीन सरकारले आफूलाई कैदमै राख्ने मनसायले जबर्जस्ती मुद्दा थपेर अदालतमा दर्ता गरेको जिकिर निवेदनमा गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयले अहिले लामिछानेको निवेदनमाथि अध्ययन गरिरहेको छ । तर, मुद्दा फिर्ता गर्न नमिल्ने महान्यायाधिवक्ता भण्डारीले बताइन् । ‘उहाँले निवेदन दिए पनि मुद्दा फिर्ता हुँदैन,’ उनले भनिन् ।
मुलुक फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ३६ मा अभियोपत्र संशोधन गर्नसक्ने प्रावधान छ । लामिछानेले उक्त दफालाई आधार बनाएर निवेदन दिएको भण्डारीले बताइन् । तर, सम्पत्ति शुद्धीकरणको आरोप फिर्ता लिन नपाइने मुद्दाको सूचीमा छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा चलिरहेको छ । त्यस्तै, रुपन्देही र काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगी र संगठित अपराधको मुद्दा चलिरहेको छ ।
गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीबाट रकम प्रवाह भएको थियो । त्यतिबेला लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए ।
गोर्खा मिडियाका अध्यक्ष जीवी राई लगायतसँगको मिलेमतोमा सहकारी ठगेको आरोपमा उनीमाथि पाँचवटा जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्था छ ।
उच्च अदालत बुटवलको धरौटी तथा जमानत सम्बन्धी आदेशबाट केही साताअघि उनी जेलमुक्त भएका थिए ।