
गगनकुमार थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्णयविरुद्ध नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवेदक रहेको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ ।
उम्मेदवारी मनोनयनका लागि सोही दिनको समय दिइएको छ ।
सर्वोच्च पुगेका देउवा पक्षका नेताहरूले आजैका लागि पेशी तोकिदिन माग गरेका थिए ।
अदालतमा रहेका कांग्रेस नेता विमलेन्द्र निधिले आफूहरूले आजैका लागि पेशी तोकिदिन माग गरेको बताए । तर, उक्त मागअनुसार अदालतले पेशी तोक्न अस्वीकार गरेको गुनासो उनले गरे ।
निधिका अनुसार नेताहरू पूर्णबहादुर खड्का, एनपी साउद, महेन्द्र यादव लगायतका मुख्य रजिस्ट्रारकोमा पुगेका थिए ।
‘भोलि बिदा तथा पर्सि नोमिनेसन छ भनेर आजै पेशी तोकिदिन माग गरेका थियौं,’ उनले भने, ‘तर, सर्वोच्चले हाम्रो माग सुनुवाइ गरेन।’
निधिले सर्वोच्चको चौरमा आफूहरू कुरेर बसिरहेको पनि बताए ।
निर्वाचन आयोगले सुनुवाइको मौका समेत नदिई गरेको निर्णय गैरकानूनी रहेकाले उत्प्रेषणको आदेशले उक्त निर्णय बदर गर्न रिटमा माग गरिएको छ ।
निर्वाचन आयोगले शुक्रबार गगन नेतृत्वको नयाँ कार्यसमितिलाई वैधता दिएको थियो ।
काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
सोअनुसार निर्वाचन आयोगले दल दर्ता किताबमा कांग्रेसको विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो ।
देउवा पक्षको शनिबार बसेको बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने निर्णय गरेको थियो ।