
आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा स्कटल्यान्डले दोस्रो जित हात पारेको छ ।
स्कटल्यान्डले शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डलाई पाँच विकेटले हराएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।
थाइल्यान्डका लागि कप्तान नारुमोल चाइवाईले अविजित ७३ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले केवल ५५ बलमा दुई छक्का र नौ चौका पनि प्रहार गरिन् ।
जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले भने १४.४ ओभरमा पाँच विकेट गुमाएर एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
स्कटल्यान्डको जितमा सारा ब्राइसले अविजित ५२ रनको योगदान गरिन् । उनले ३५ बलमा एक छक्का र आठ चौका पनि प्रहार गरिन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् ।
ओपनर क्याथरिन फ्रासरले पनि टोलीका लागि ४१ रनको योगदान गरिन् । उनले केवल ३१ बलमा सात चौका पनि हिर्काएकी थिइन् ।
जितसँगै स्कटल्यान्ड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा थाइल्यान्डको यो पहिलो हार हो ।
समूह ‘बी’ तालिकामा तीन खेलबाट ६ अंक बटुलेको नेदरल्यान्ड्स पहिलो स्थानमा आसीन छ । नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर–६’ चरणमा पनि पुगिसकेको छ ।
तीन खेलबाट चार अंक जोडेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट चार अंक बटुलेको थाइल्यान्ड तेस्रो स्थानमा छ ।
दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको जिम्बाब्वेले भने अंक जोडन सकेका छैनन् । शनिबार दिउँसो १ बजे कीर्तिपुर मैदानमा नेपाल र जिम्बाब्वे आपसमा भिड्दै छन् ।
समूह ‘बी’ बाट तीनवटा टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्नेछन् । शनिबारको खेलमा जिम्बाब्वेलाई हराएमा नेपालको पनि अगाडि बढ्ने सपना जीवित रहनेछ ।
जिम्बाब्वेसँग पराजित भएमा नेपाली टोलीको ‘सुपर–६’ चरणमा पुग्ने र आगामी आईसीसी टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ ।
यो प्रतियोगिताबाट चारवटा टोली विश्वकपमा छनोट हुने प्रावधान छ । त्यसैले यो प्रतियोगिता सहभागी १० वटै टोलीका लागि निकै महत्त्वपूर्ण छ ।