
अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन् । दुवै देशले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक गरेका हुन् ।
२ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए । यससँगै भारतमाथि लगाइएको ५० प्रतिशत ट्यारिफ घटाएर १८ प्रतिशतमा झार्ने निर्णय गरिएको थियो ।
ह्वाइट हाउसले जारी गरेको एक कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात नगर्ने प्रतिबद्धता जनाएको छ । भारतले अमेरिकाबाट ऊर्जा उत्पादनहरू खरिद गर्ने जनाएको छ । साथै, आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्न अमेरिकासँग सम्झौता गर्न सहमत भएको छ ।’
ट्रम्पले अर्को कार्यकारी आदेशमार्फत भारतले पुनः रुसबाट तेल खरिद गरेमा अमेरिकाले के कदम चाल्ने भन्ने कुरा स्पष्ट पारेका छन् ।
कार्यकारी आदेशमा भनिएको छ, यदि वाणिज्य मन्त्रीले भारतले रुसी तेलको प्रत्यक्ष वा अप्रत्यक्ष आयात पुनः सुरु गरेको पत्ता लगाएमा विदेश, वित्त, वाणिज्य, गृह मन्त्रालय, अमेरिकी व्यापार प्रतिनिधि, राष्ट्रिय सुरक्षा तथा आर्थिक नीतिका लागि राष्ट्रपति सहायकहरूसँग परामर्श गरी भारतमाथि थप कारबाही आवश्यक छ कि छैन र कति हदसम्म गर्ने भन्ने सिफारिस गरिनेछ ।’
भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त ट्यारिफ पुनः लागू गर्ने वा नगर्ने विषय पनि हुने ट्रम्पको आदेशमा भनिएको छ ।
भारतका वाणिज्य मन्त्री पीयूष गोयलले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै यो सम्झौताले भारतीय निर्यातकर्ता, एमएसएमई, किसान र माछा मार्ने समुदायका लागि ३० ट्रिलियन डलर बराबरको बजार खोल्ने बताए । अमेरिकाले भारतबाट आयात हुने वस्तुमा लाग्ने रेसिप्रोकल ट्यारिफ घटाउने जनाएको छ । यस कटौतीपछि भारतीय सामानमा ट्यारिफ दर १८ प्रतिशत रहनेछ । २५ प्रतिशत ट्यारिफ हटाउने निर्णय ७ फेब्रुअरी देखि लागू हुनेछ ।
ह्वाइट हाउसको विज्ञप्तिअनुसार अन्तरिम व्यापार सम्झौताका लागि एउटा रूपरेखा तय गरिएको छ । यसमा केही सर्त पनि निर्धारण गरिएको छ ।