
हङकङका चर्चित मिडिया टाइकुन र लोकतन्त्र पक्षधर अभियन्ता जिम्मी लाईलाई राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत २० वर्षको जेल सजाय सुनाइएको छ।
हङकङको अदालतले सोमबार सुनाएको यो सजाय राष्ट्रिय सुरक्षा कानुन लागू भएयताकै सबैभन्दा कठोर भएको बीबीसीले उल्लेख गरेको छ ।
७७ वर्षीय लाईलाई विदेशी शक्तिसँग साँठगाँठ गरेको र राज्यद्रोहलाई बढावा दिएको आरोपमा दोषी ठहर गरिएको हो। उनीसँगै उनको बन्द भइसकेको 'एप्पल डेली' अखबारका ६ पूर्व कार्यकारीहरू र दुई अन्य अभियन्ताहरूलाई पनि ६ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ। फैसला सुन्दा लाई शान्त देखिन्थे भने अदालतमा उपस्थित उनका परिवार र समर्थकहरू भावुक बनेका थिए।
पत्रकार संरक्षण समितिले यो फैसलालाई हङकङमा प्रेस स्वतन्त्रताको 'अन्तिम शबपेटीमा किला ठोकेको' भन्दै कडा भर्त्सना गरेको छ। सीपीजेकी प्रमुख जोडी गिन्सबर्गले हङकङमा विधिको शासन पूर्ण रूपमा ध्वस्त भएको टिप्पणी गरेकी छिन्।