
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारमाध्यम र प्रहरीबीच मजबुत तथा जिम्मेवार सम्बन्ध स्थापित हुनुपर्ने बताएका छन् । अपराध अनुसन्धान र शान्ति सुरक्षामा सहयोग पुर्याउन दुवै पक्षबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित ‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आईजीपी कार्कीले नागरिकको सुरक्षा र सार्वजनिक सेवामा मिडियाको भूमिका महत्त्वपूर्ण रहने बताए ।
उनले समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा अपराध नियन्त्रण गर्ने जिम्मा प्रहरीको भए पनि सचेतना र सत्य सूचना प्रवाहमार्फत् सञ्चारमाध्यमको योगदान पनि उत्तिकै आवश्यक हुने उल्लेख गरे ।
उनका अनुसार सञ्चारमाध्यमबाट प्रसारण हुने समाचार सत्य, तथ्य र जिम्मेवारीपूर्ण हुनुपर्छ । अपराध अनुसन्धानको प्रारम्भिक चरणमै अपरिपक्व समाचार सम्प्रेषण हुँदा प्रमाण संकलनमा असर पर्नुका साथै पीडित परिवारलाई थप पीडा र समाजमा भ्रम सिर्जना हुनसक्ने आईजीपी कार्कीले बताए ।
आईजीपी कार्कीले सूचना प्रविधिको विकाससँगै ‘ब्रेकिङ’ समाचार दिने होडबाजी बढ्दै जाँदा पत्रकारितामा चुनौती थपिएको उल्लेख गरे ।
उनले अनुसन्धानमा असर नपर्ने गरी जिम्मेवार र तथ्यपरक रिपोर्टिङ हुने विश्वास व्यक्त गर्दै प्रहरी र सञ्चार माध्यमबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।