२२ असार २०८३, सोमबार
चुनावी ग्राउन्ड जिरो

अझै देउवालाई कुरिरहेको डडेल्धुरा : मतदाता भन्छन्- उनले जसलाई संकेत गर्छन्, उसैलाई समर्थन

युवामाझ लोकप्रिय महरसँग कांग्रेसको विरासत र नयाँ अनुहार, तारा जोशीलाई आफ्नै ‘ढुलमुले’ प्रवृत्ति भारी
माघ २७, २०८२
डडेल्धुरा
अझै देउवालाई कुरिरहेको डडेल्धुरा : मतदाता भन्छन्- उनले जसलाई संकेत गर्छन्, उसैलाई समर्थन

नेपालको राजनीतिक इतिहासमा डडेल्धुराले एउटै व्यक्तिलाई पाँचपटक प्रधानमन्त्रीको कुर्सीमा आसिन गराउने गौरव बोकेको छ। राजनीतिक व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा आफूलाई अग्रपङ्क्तिमा उभ्याउँदै आएको डडेल्धुराले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई पाँचपटक मुलुकको प्रधानमन्त्री र सातपटक आफ्नो प्रतिनिधिका रूपमा संघीय संसद्मा पुर्‍याएको छ।

अहिले फेरि देश निर्वाचनको सङ्घारमा उभिएको छ। तर, दशकौँदेखि डडेल्धुरावासीले विजयी गराएका ७९ वर्षीय देउवा यसपटक निर्वाचनमा ‘होमिएका’ छैनन्। यसपालि उनी न उम्मेदवार छन् न त कुनै उम्मेदवारलाई मत माग्न जनताको घरदैलोमा पुगेका छन्।

देउवा हुँदा र नहुँदा पनि डडेल्धुराको चर्चा भने सेलाएको छैन बरू झन् चुलिएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा देउवाको विरासत कसको काँधमा जाला भन्ने प्रश्न सबैको मनमा छ।

तर, स्पष्ट जवाफ डडेल्धुरावासीसँग पनि छैन। ‘अहिले नै भन्न सकिने अवस्था छैन। मतदाता अन्योलमा छन्। देशव्यापी रूपमा जनताले परिवर्तन खोजेका छन्। हाम्रो जिल्ला मात्र त्यसबाट अछुतो रहने अवस्था देख्दिनँ,’ अजयमेरु गाउँपालिका–१ का करवीर भण्डारी भन्छन्।

उनका अनुसार, जनता निराश छन्। अघिल्ला निर्वाचनमा जनतासँग गरिएका वाचाहरू पूरा भएका छैनन्। विकास निर्माणले गति लिन सकेको छैन। रोजगारीको खोजीमा मतदाता विदेशिनुपर्ने बाध्यता हटेको छैन।

‘मेरो रगतमै कांग्रेस छ। २०३६ सालदेखि राजनीतिमा होमिएको हुँ। जनमत सङ्ग्रहदेखि २०४६ सालमा प्रजातन्त्रका लागि भएको आन्दोलन र देशमा गणतन्त्र ल्याउन भएको २०६२–६३ को आन्दोलनसम्म म सडकमा ओर्लिएँ। तर, हाम्रा जनप्रतिनिधिले आफ्नो वाचा पूरा गरेनन्। जिल्लावासीका हिजोका समस्याहरू आज पनि उस्तै छन्। त्यसैले अहिलेसम्म हामीले स्पष्ट निर्णय लिन सकेका छैनौँ,’ उनी भन्छन्, 'समय अझै बाँकी छ । देउवाले (शेरबहादुर) अझै केही संकेत गर्नुभएको छैन । उहाँ खुल्नुभयो भने अझै स्पष्ट हुनसक्छ ।'

अजयमेरु गाउँपालिका–२ का रामबहादुर ऐर पनि आगामी निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा आफूहरू अझै स्पष्ट भइनसकेको बताउँछन्। ‘अन्यत्रको अवस्था थाहा छैन तर, हामी भने अझै स्पष्ट भइसकेका छैनौँ। कसलाई मत दिने अन्योलमै छौँ। हामीले जिताएर पठाएपछि पटक–पटक प्रधानमन्त्री भएको व्यक्तिले समेत जिल्लावासीको भावना अनुरूप सोचे जति काम गर्न सक्नुभएन। उहाँ यसपटक त उम्मेदवार नै हुनुहुन्न। नयाँले पनि हामीलाई विश्वास गर्ने गतिलो आधार दिन सक्नुभएको छैन। यस्तो स्थितिमा अहिले नै केही भनिहाल्ने अवस्था छैन,’ ऐर भन्छन्, 'केही दिनमा स्पष्ट हुँदै जाला ।' उनले पनि देउवाको संकेतले मतदातामा ठूलो प्रभाव पार्न सक्ने बताए । 

null

एकमात्र निर्वाचन क्षेत्र भएको डडेल्धुरामा विभिन्न दलका १० र तीन स्वतन्त्रसहित १३ जना उम्मेदवार छन्। जसमा प्रमुख दल कांग्रेसबाट नैनसिंह महर, एमालेबाट चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. तारा जोशी उम्मेदवार छन्।

यी चार दलका उम्मेदवारबीच नै तीव्र प्रतिस्पर्धा हुने स्थानीयको आकलन छ। जिल्लामा एक सय चार मतदान केन्द्र छन्। त्यसमध्ये सुरक्षा चुनौतीका दृष्टिकोणले ३३ अतिसंवेदनशील, ३४ संवेदनशील र ३७ वटा सामान्य सूचीमा छन्।

जिल्लामा गन्यापधुरा गाउँपालिका, परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिका गरी सातवटा स्थानीय तह छन्।

यी स्थानीय तहको कुल जनसंख्या एक लाख ३९ हजार छ। मतदाता संख्या भने ९३ हजार छ। अधिकांश युवाजमात रोजगारीका लागि विदेशिएका कारण योपटक निर्वाचनमा करिब ६० हजार मत खस्ने अनुमान छ।

युवामाझ लोकप्रिय महर

आगामी चुनावमा पनि देउवा पुनः उम्मेदवार हुन्छन् भन्ने आशा डडेल्धुरावासीलाई थियो। स्वयं देउवाकै चाहना पनि अन्तिमपटक चुनाव लड्ने नै थियो। तर, कांग्रेसभित्रको आन्तरिक शक्ति परिवर्तनले उनलाई चुनाव नलड्ने स्थितिमा पुर्‍याइदियो। अन्तिममा उनी उम्मेदवार बनेनन्। उनको विरासत धान्न कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिदेखि नै आफूलाई निखार्दै ल्याएका महर अहिले घरदैलोमा व्यस्त छन्। कैलाली र कञ्चनपुरमा सक्रिय राजनीति गरेका महरलाई यसपटक देउवाको विरासत धान्नुपर्ने चुनौती छ। युवामाझ लोकप्रिय रहेका महर देउवालाई मत दिएका मतदातालाई आफ्नो पक्षमा पनि कायम राख्न तल्लीन छन् ।

null

डडेल्धुरावासी अहिले पनि देउवालाई खराब पात्रका रूपमा बुझ्न चाहँदैनन्। देउवाबारे उनीहरूको राम्रै धारणा छ। तर, महरलाई उम्मेदवार बनाएपछि भने देउवाले एकपटक पनि जिल्ला टेकेका छैनन्। महरका सहयोगी भने देउवा र उनको सचिवालयले महरलाई नै निर्वाचनमा सघाउने दाबी गर्दै मत मागिरहेका छन्। यसपटक पनि देउवाले मत दिन संकेत गरेमा उनलाई जीत निकाल्न सहज हुने स्थानीयको अनुमान छ । 'डडेल्धुरा कांग्रेसको गढ हो भनिरहनै परेन । झण्डै साढे तीन दशक यहाँका मतदाताले देउवाको विकल्प खोजेनन्,' एक मतदाताले भने, 'अहिले उहाँ उम्मेदवार हुनुहुन्न तर, उहाँ खुल्दा मात्रै पनि धेरै कुरा निर्धारण हुने छ ।'

२०५२ सालमा नेपाल विद्यार्थी संघ डडेल्धुराको कार्यवाहक अध्यक्ष बनेका महर २०५६ सालमा नेविसंघ डडेल्धुराको अध्यक्ष निर्वाचित भएका थिए। उनले २०५४ सालमा कांग्रेस डडेल्धुरा प्रचार विभाग उप–प्रमुखका रूपमा पनि काम गरे।

त्यसपछि २०५७ सालमा नेविसंघको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका महर नेविसंघको संगठन विभाग प्रमुख हुँदै २०६४ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष चुनिएका थिए।

कांग्रेसमा सक्रिय राजनीति गरेका महर २०७३ सालमा नेविसंघको अध्यक्ष र पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। अहिले महर डडेल्धुराको विकास, सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, दूरसञ्चार र डडेल्धुरावासीको जीवनशैलीका मुद्दालाई आधार बनाएर चुनावी अभियानमा होमिएका छन्।

निर्णायक बन्न सक्छन् मल्ल

डडेल्धुरामा २०४८ सालयता भएका सबै संसदीय चुनावमा कांग्रेसको एकछत्र राज चल्दै आएको छ। कांग्रेसबाट अलग्गिएर बीपी कांग्रेसमा पुगेका कर्णबहादुर मल्ल पनि चल्तीका नेता हुन्। देउवासँग विद्रोह गरेर बीपी कांग्रेसमा वरिष्ठ उपाध्यक्ष बनेका मल्ललाई अझै पनि डडेल्धुराका केही स्थानीयले ‘भोट बैंक’का रूपमा चित्रित गर्दै आएका छन्।

नाम उल्लेख नगर्ने सर्तमा अमरगढी नगरपालिकाका एक स्थानीयले भने, ‘देउवासँग विद्रोह गर्ने नेता हुन् मल्ल। अहिले पनि कांग्रेसले मल्ललाई साथ लिएर जाने हो भने अरू पार्टीले यहाँ जीत नचिताए पनि हुन्छ। तर, पार्टीले के गर्छ हेर्दै जाऔँ।’

२०७९ सालमा माओवादी–कांग्रेस गठबन्धनका साझा उम्मेदवार देउवाले २५ हजार ५३४ मत प्राप्त गरी विजयी हुँदा स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका थिए। मल्लले भने ७ हजार ५३५ मत ल्याएका थिए।

त्यतिबेला एमालेले उम्मेदवारी दिएको थिएन। समानुपातिकतर्फ पनि कांग्रेसले धेरै मत ल्याएको थियो। कांग्रेसले समानुपातिकतर्फ १८ हजार ५६२, एमालेले ९ हजार २१४, नेकपाले ९ हजार ३७२, कांग्रेस बीपीले ४ हजार ५१४, रास्वपाले ३ हजार ६५० र राप्रपाले १५ सय पाएको थियो। विगतको अंकगणितीय अभ्यास हेर्दा पनि कांग्रेसको वर्चस्व कायमै राख्ने बुझाइ डडेल्धुरावासीको छ।

एमालेबाट टिकट नपाएपछि एकीकृत समाजवादी हुँदै रास्वपा बनेका जोशी

डडेल्धुरावासीले महरको मुख्य प्रतिस्पर्धीका रूपमा रास्वपाका उम्मेदवार डा. तारा जोशीलाई लिएका छन्। वामपन्थी पृष्ठभूमिका जोशीको लोकप्रियता पनि कम छैन। तर, एमालेबाट टिकट नपाएपछि नेकपा (एकीकृत समाजवादी) हुँदै अहिले रास्वपाबाट मैदानमा होमिएका जोशीलाई डडेल्धुरावासीले अवसरवादी उम्मेदवारका रूपमा बुझ्ने गरेका छन्।

null

निर्वाचन आयोगकै तथ्य हेर्दा दोस्रो संविधानसभा निर्वाचनमा देउवा निर्वाचित हुँदा तत्कालीन एमालेका उम्मेदवार बनेका जोशी तेस्रो भएका थिए। २०७४ सालमा प्रदेशसभा निर्वाचनमा पनि जोशी कांग्रेसका कर्णबहादुर मल्लसँग पराजित भएका थिए।

मल्लले पनि कांग्रेसमा विद्रोह गरेपछि उनले जोशीलाई समर्थन गरेका थिए। त्यसैले २०७९ सालको प्रदेशसभा निर्वाचनमा जोशीले कांग्रेसका उम्मेदवार गोविन्द बोहरालाई हराएका थिए। एमाले डडेल्धुराका अध्यक्ष रहेका बेला जोशीलाई एमाले–माओवादी एकता (२०७५) बाट बनेको नेकपामा अध्यक्षबाट हटाइएको थियो। त्यसपछि उनी माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीतिर लागेका थिए।

२०७९ सालको निर्वाचनमा टिकट नपाएपछि जोशीले स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभामा जीत हासिल गरेका थिए। जोशीलाई नजिकबाट बुझ्नेहरूका अनुसार उनी अलि ‘ढुलमुले’ प्रवृत्तिका छन्। कहिले एमालेकै पूर्वउपाध्यक्ष भीम रावल त कहिले समाजवादीतिर ढल्केका जोशी अहिले रास्वपाबाट चुनावी मैदानमा होमिएका हुन्।

गन्यापधुरा गाउँपालिका–२ का जोशीको राजनीतिक यात्रा पनि विद्यार्थीकालदेखि नै शुरू भएको हो। कैलाली बहुमुखी क्याम्पसबाट राजनीतिक यात्रा शुरू गरेका जोशी २०५४ सालको स्थानीय तह निर्वाचनमा गाविस अध्यक्षमा पराजित भएका थिए।

देउवा उठ्ने शंकामा एमालेको कमजोर उम्मेदवार

कांग्रेसले डडेल्धुरामा देउवालाई नै टिकट दिइने अनुमान गर्दै एमालेले चक्रबहादुर स्नेहीलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका उनी एमालेका पुराना नेता हुन्।

स्नेहीले सामाजिक सञ्जालमै आफू चुनाव नलड्ने खालको अभिव्यक्ति दिएका थिए। तर, पार्टीको निर्देशनपछि उनी उम्मेदवार बनेका हुन्। जानकारहरूका अनुसार, एमालेकै पुराना नेतामध्येका पठानसिंह बोहरालाई एमालेले टिकट दिने तयारी गरेको थियो। विपक्षीहरूका लागि उनी बलिया प्रतिस्पर्धी पनि बन्न सक्थे। तर, डडेल्धुराबाट देउवाले नै उम्मेदवारी दिने अनुमानका आधारमा एमालेले स्नेहीलाई अगाडि सारेको एमालेकै स्थानीय नेताहरू बताउँछन्।

नेकपाका माल पनि बलिया प्रतिस्पर्धी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता मानसिंह माल पनि अरू दलका उम्मेदवारसँगै प्रतिस्पर्धामा छन्। उनले पनि आफ्नो घरदैलो शुरू गरेका छन्। सुदूरपश्चिमको भित्री मधेश भनेर चिनिँदै आएको जोगबुडाका माल डडेल्धुराको राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा परिचित छन्।

२०५५ सालदेखि विद्यार्थीकालमै राजनीति शुरू गरेका उनी २०५८ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहेका थिए। माओवादी जनयुद्धमा प्लाटुन जनसेना कमान्डरको जिम्मेवारी सम्हालेका उनी हाल नेकपाका केन्द्रीय सदस्य छन्। संगठनात्मक क्षमता र जिल्लाको भूगोल तथा जनतासँगको निकट सम्बन्धलाई आधार मानेर उनी निर्वाचनमा होमिएका हुन्।

विगतको तुलनामा कम मत खस्ने आकलन

जिल्लाका अधिकांश ग्रामीण भाग सुनसान छन्। उपयुक्त अवसर र रोजगारीको खोजीमा अधिकांश नागरिक छिमेकी राष्ट्र भारत पुग्ने गर्छन्। निर्वाचनको सङ्घारमा पनि रोजगारको खोजीमा मतदाता विदेशिने क्रम रोकिएको छैन।

अर्कोतिर, आगामी निर्वाचनलाई लिएर स्थानीयमा खासै उत्साह पनि छैन। त्यसैले आगामी निर्वाचनमा तुलनात्मक रूपमा कम मत खस्ने अनुमान स्थानीयले गरेका छन्।

‘जिल्लामा रोजगार छैन। जीवन धान्न रोजगारीका लागि भारत जानुको विकल्प छैन। गाउँ–घर सुनसान छ। देशमा धेरैपटक निर्वाचन भइसक्यो। जनताको जीवनस्तर उस्तै छ। त्यसैले पनि मतदाता चुनावप्रति उत्साही छैनन्। रोजगारीका लागि भारतमै रहेका मतदाता पनि आउने सम्भावना कम छ,’ अमरगढी नगरपालिका–३ का मोहनसिंह मल्लले भने। भागेश्वर–३ की शान्ति चटौत र रत्ना साउद पनि मोहनसिंह मल्लकै धारणामा सहमत देखिन्छन्।

पहाडी जिल्लाको लाइफ लाइन सडक चुनावी मुद्दा

सुदूरपश्चिम प्रदेशमा नौवटा जिल्ला छन्। त्यसमध्ये तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाहेक अन्य पहाडी जिल्लासम्म पुग्ने सडकको अवस्था सन्तोषजनक छैन।

कैलालीको गोदावरीदेखि डडेल्धुरातर्फ जान पहाड उक्लन थालेदेखि नै केवल दुई लेनको सडक छ। त्यसमा पनि अधिकांश स्थानमा सडकको अलकत्रा उप्किएको छ। यो सडकमा डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटीलगायत जिल्लातर्फ जाने हजारौँ सवारी साधन गुड्ने गर्छन्।

तर, सडकको अवस्था निकै दयनीय छ। डडेल्धुराको बजार क्षेत्रकै सडकको अवस्था पनि नाजुक छ। ठाउँ–ठाउँमा कालोपत्रे उप्किएको छ। थोरै हावा चल्दा पनि धुलो उडेर हैरान पार्छ। थुप्रै ग्रामीण भेगमा त कालोपत्रे सडकसम्म छैन।

null

त्यसैले यसपटक मतदाताले सडकलाई पनि चुनावी मुद्दाका रूपमा उठाएका छन्। वर्षौँदेखि सडकको अवस्था उस्तै छ। केही समयअघि सडक टालटुल पार्ने काम शुरू भएको थियो। अहिले त्यो पनि रोकिएको छ। ‘यो सडक सुदूरपश्चिमका पहाडी जिल्लाहरूलाई जोड्ने लाइफ लाइन हो। यसपटक यसलाई पनि हामीले चुनावी मुद्दाका रूपमा उठाएका छौँ। अब आश्वासन दिएर मात्र हुँदैन। काम गरेरै देखाउनु पर्छ,’ अमरगढी नगरपालिकाका अजित विश्वकर्मा भन्छन्।

‘हिजोका उम्मेदवार वाचा बिर्सन्थे, आजकालाई फेसबुक भए पुग्छ’

राष्ट्रिय राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने डडेल्धुरामा अहिले पनि मतदाता ‘राष्ट्रिय फिगर’को खोजीमा देखिन्छन्। चुनावी एजेन्डा बोकेर कुनै पनि राष्ट्रिय स्तरका प्रभावशाली नेता डडेल्धुरा आएका छैनन्। ‘हामी पुराना र नयाँको दोधारमा छौँ। कसैले पनि स्पष्ट सन्देश दिन सकेका छैनन्। उम्मेदवार र स्थानीय नेताहरू मतदातालाई लोभ्याउन लागेका छन्। तर, राष्ट्रिय स्तरका कुनै पनि नेता नयाँ सन्देश लिएर आएका छैनन्,’ बैतडी घर भएर डडेल्धुरास्थित अमरगढीमा विगत १० वर्षदेखि व्यापार गर्दै आएका हरि विष्ट भन्छन्।

उनका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) हालै सुदूरपश्चिम भ्रमणका क्रममा डडेल्धुरा आएका थिए। तर, उनी पनि मतदातालाई सम्बोधन नगरी फर्किए।

‘रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाह भर्खरै डडेल्धुरा आउनुभएको थियो। उहाँ पनि सिधै रास्वपाको पार्टी कार्यालय जानुभयो। तर, मतदातालाई आफ्नो एजेन्डा नसुनाई फर्कनुभयो। हामी उहाँको विचार सुन्न आतुर थियौँ। हिजोका उम्मेदवार चुनाव जितेपछि आफ्नो वाचा बिर्सन्थे तर, आजका उम्मेदवारलाई त सामाजिक फेसबुक भए पुग्छ। आफ्नो सर्कल छाडेर सामान्य मतदातासँग नजिक हुन नै चाहँदैनन्,’ उनले दुखेसो पोखे।

salt training

कमेन्ट गर्नुहोस्