
संसदीय चुनावमा दुई तिहाइ सिट जितेपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमानले धेरै चुनौतीबारे उल्लेख गरेका छन् । तारिक रहमानले देशको विदेश नीति बंगलादेश र जनताको हितलाई ध्यानमा राखेर तय गरिने बताएका हुन् ।
रहमानले भने,‘देशका जनताको हित सर्वोपरि छ र हामी उनीहरूको हितलाई गम्भीरतापूर्वक ध्यानमा राखेर विदेश नीति तय गर्नेछौं ।’
तारिक रहमानले आफूहरु फासीवादीहरूले छोडेका परिस्थितिमा यात्रा सुरु गर्न लागेको बताए । कमजोर अर्थतन्त्र, निष्क्रिय संवैधानिक र कानुनी संस्था र कमजोर कानुन व्यवस्थाको अवस्था रहेको बताए ।
उनले बीएनपी नेता तथा कार्यकर्ताहरूलाई भने,‘म देशभरका सबै तहका बीएनपी नेता तथा कार्यकर्तालाई सयौं उत्तेजक कार्यहरूको बाबजुद पनि शान्त र सतर्क रहन अपील गर्दछु । कतै पनि कुनै अप्रिय घटना नहोस् । कुनै पनि दुष्ट शक्तिले यो अवस्थाको फाइदा उठाएर कुनै अप्रिय घटना गर्न नपरोस् ।’
तारिक रहमानले बंगलादेशमा कुनै पनि प्रकारको गैरकानूनी गतिविधि सहन नसकिने बताए ।
उनले भने,‘राजनीतिक दलको आबद्धता, धर्म, जात वा भिन्नता जुनसुकै भएपनि कुनै पनि बहानामा कमजोरमाथि बलियाले आक्रमण गर्ने कुरा सहन गरिने छैन ।’