
नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभा निर्वाचनमा भएको पराजयबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने बताएका छन् । उनले पराजयको कारणबारे उम्मेदवारहरूसँग पनि छलफल गरिने उल्लेख गरे ।
समानुपातिकतर्फका सांसद छान्न आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले जिल्ला र प्रदेशबाट रिपोर्ट आएपछि छलफल हुने बताएका हुन् ।
‘चुनावको समीक्षाका लागि यसै साता बैठक बसेर समीक्षा गर्छौं । तलको रिपोर्ट आएपछि उम्मेदवारसँग पनि कुरा गर्छौं,’ थापाले भने ।
फागुन २१ गतेको चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सीटमा जीत निकालेको थियो ।
कांग्रेसले चुनावमा किन पराजय व्यहोर्नुपर्यो ? भनेर जिल्ला, प्रदेश र उम्मेदवारसँग जवाफ माग गरेको छ ।
महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलले शुक्रबार सबै जिल्ला समितिलाई परिपत्र गरेका छन् ।
३ गतेसम्म जवाफ पठाउन परिपत्र गरिएको र त्यो आएपछि केन्द्रीय समितिमा समीक्षा हुने महामन्त्री घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
कांग्रेसले समानुपातिकतर्फ पाएको २० सीटका लागि १५ महिला र ५ पुरुषको नाम निर्वाचन आयोगमा पठाएको छ ।