१० साउन २०८३, आइतबार
एन्फालाई अध्यागमन विभागको पत्र

‘अनुगमन शुरू गरेका छौं, कानून विपरीत विदेशी खेलाडी खेलाएको पाइए तत्कालै कडा कारबाही’

चैत ५, २०८२
काठमाडौं
‘अनुगमन शुरू गरेका छौं, कानून विपरीत विदेशी खेलाडी खेलाएको पाइए तत्कालै कडा कारबाही’

अध्यागमन विभागले पर्यटकीय भिसामा नेपाल भ्रमणमा आएका विदेशीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ ।

विभागले बिहीबार एन्फालाई औपचारिक रूपमा पठाएको पत्रमा कानूनी प्रक्रिया पूरा गरेर र श्रम स्वीकृति लिएर मात्र विदेशी खेलाडीलाई खेलमा सहभागी गराउन भनिएको छ ।

‘एन्फाबाट सञ्चालन भइरहेको महिला तथा पुरुष लिग फुटबलमा सहभागी क्लबहरूले पर्यटक भिसा लिएका विदेशी खेलाडीलाई समावेश गरेको भन्ने उजुरी विभागमा प्राप्त हुन आएको छ,’ विभागका निर्देशक टीकाराम ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

पर्यटक भिसा लिएका विदेशी खेलाडीलाई महिला तथा पुरुष लिगमा खेलाइएको विषयमा विभागले बिहीबारदेखि नै अनुगमन शुरू गरेको पनि पत्रमा उल्लेख छ ।

‘विभागबाट आजै (बिहीबार)देखि अनुगमन प्रारम्भ गरेको छ । श्रम स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाइने छ,’ विभागले एन्फालाई पठाएको पत्रमा भनिएको छ ।

विभागले एन्फालाई पठाएको पत्रको बोधार्थ युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पनि दिएको छ ।

एन्फाद्वारा काठमाडौंमा जारी ‘एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता’ मा नियम विपरीत विदेशी खेलाडीलाई खेलाइएको विषयमा बुधबार लोकान्तरले समाचार प्रकाशितगरेको थियो ।

एन्फा लिगमा १७ वटा क्लबको सहभागिता रहेको छ । त्यसमध्ये तीन विभागीय बाहेक अधिकांश क्लबबाट विदेशी खेलाडीले खेलिरहेका छन् ।

null

पर्यटक भिसामा नेपाल घुम्न आएका विदेशीलाई खेलाडीका रूपमा राष्ट्रिय लिगमा सहभागी गराइएको विषयमा सम्बन्धित सरकारी निकायमा उजुरी पनि परेको छ ।

नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि यस विषयमा एन्फासँग विस्तृत विवरण माग गरेको छ ।

पढ्नुहोस् यो पनि- एन्फा राष्ट्रिय लिगमा नियमविपरीत विदेशी खेलाडी भर्ती, अगाडि बढ्यो छानबिन

‘श्रम स्वीकृती/इजाजत लिई वा नलिई कुन–कुन क्लबबाट कुन–कुन देशका विदेशी नागरिक के कस्तो भूमिकामा राष्ट्रिय लिगमा सहभागी छन् ? नामावलीसहित विस्तृत विवरण परिषद्‌मा यथाशीघ्र पेश गर्नु हुन अनुरोध छ,’ राखेपद्वारा एन्फालाई पठाइएको पत्रमा भनिएको छ ।

नियम विपरीत विदेशी खेलाडी खेलाएको विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पनि उजुरी परेको छ ।

श्रम ऐन २०७४ को दफा २२, २३ र २४ तथा श्रम नियमावली २०७५ को नियम ७ देखि १५ सम्मको व्यवस्था अनुसार, श्रम इजाजत नलिई विदेशी कामदारलाई काममा लगाउन पाइँदैन ।

salt training

कमेन्ट गर्नुहोस्