
फागुन २१ को निर्वाचनमा भएको अप्रत्यासित हारबारे नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २७ बुँदे कारणसहितको समीक्षा प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।
परिमार्जनको प्रश्नमा दलहरू गम्भीर नबन्नु, देशले स्थिर सरकार नपाउनु, सरकार फेरिँदा पनि पुरानै प्रधानमन्त्री दोहोरिनु, नीति र थितिमा बेथिति कायम हुनु लगायतका कारणले जनता रिसाएको विश्वप्रकाशको निष्कर्ष छ ।
चुनावपछि सानेपामा शुक्रबार पहिलोपटक बसेको केन्द्रीय समिति बैठकमा विश्वप्रकाशले १४ पेजको प्रारम्भिक समीक्षा प्रतिवेदन पेश गरेका हुन् ।
विश्वप्रकाशले कांग्रेसको हारमा नेतृत्व मात्र नभएर समग्र पार्टी पंक्ति जिम्मेवार रहेको उल्लेख गरेका छन् ।
'सभापतिले नैतिक जिम्मेवारी लिएर राजीनामा गर्नु उच्च नैतिक प्रस्तुति निश्चय नै हो, यसलाई पार्टीले सम्मान र कदर गर्दछ। तर, यो पराजयको समग्र जिम्मेवार न केवल एक नेतृत्व हो, न केवल एक कार्यसमिति । हामी समग्र कांग्रेस यो समग्र पराजयको जिम्मेवार हौं,' विश्वप्रकाशको प्रतिवेदनमा लेखिएको छ ।
उनले विशेष महाधिवेशन सम्पन्न भएको ५ दिनमा उम्मेदवारी मनोनयनको समय आएकाले नागरिकसम्म त्यसलाई पुर्याउन समय अभाव भएको उल्लेख गरेका छन् ।
'विशेष महाधिवेशन सम्पन्न भएको पाँच दिनमा उम्मेदवारी दर्ता अनि पचासौं दिनमा निर्वाचन थियो । विशेष महाधिवेशनमार्फतको परिवर्तनले पार्टीको 'ग्रास रुट'सम्म उर्जा भर्न सकियो/उर्जा भरियो । तर, परिवर्तनको त्यो सन्देश यो छोटो अवधिमा नागरिकको मन मस्तिष्कसम्म पुऱ्याउन सकिएन। लामो समयदेखिको नागरिक असन्तुष्टिलाई यो छोटो अवधिमा 'यु टर्न' गराएर विश्वासमा बदल्न सकिएन । विशेष महाधिवेशनबाट पार्टीलाई उचाइमा उठाउन शुरू गरियो, तर समय पर्याप्त नहुँदा शिखरमा पुग्न सकिएन,' प्रारम्भिक समीक्षामा भनिएको छ ।
२१ फागुनमा भएको निर्वाचनमा कांग्रेस जम्मा ३८ सीटसहित दोस्रो दलका रूपमा खुम्चिएको थियो ।
हेर्नुहोस्, प्रतिवेदन: