
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानसँग कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकाले इरानलाई नक्साबाटै मेटाइदिएको दाबी गरे।
न्युयोर्क टाइम्सले उनको युद्ध रेकर्डका बारेमा गरेको विश्लेषणको जवाफ दिँदै ट्रम्पले इरानमा आफ्ना लक्ष्यहरू निर्धारित समयभन्दा हप्तौं अगाडि नै प्राप्त गरिसकेको बताएका छन्।
ट्रम्पले इरानको सैन्य र राजनीतिक शक्तिको चित्रण गर्दै लेखेका छन्, 'उनीहरूको नेतृत्व समाप्त भएको छ, उनीहरूको नौसेना र वायुसेना ध्वस्त भएका छन् र उनीहरूसँग अब कुनै पनि रक्षा प्रणाली बाँकी छैन।'
उनले अगाडि थपेका छन्, 'अहिले उनीहरू (इरान) सम्झौता गर्न चाहन्छन्, तर म चाहन्नँ।'
मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेकै बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो । उनले इरानमा आफ्ना लक्ष्यहरू प्राप्त गर्न असफल भएको भन्ने टिप्पणीहरूलाई पूर्ण रूपमा खारेज समेत गरेका छन् ।