
भारतीय नौसेना अमेरिकाको नेतृत्वमा भइरहेको बहुराष्ट्रिय सैन्य अभ्यास ‘सी ड्र्यागन २०२६’ मा सक्रिय रूपमा सहभागी भएको छ। मार्च महिनाभर सञ्चालन हुने यो अभ्यास गुआमस्थित एन्डरसन एयर फोर्स बेसमा भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अमेरिकी नौसेनाको नेतृत्वमा भइरहेको अभ्यासमा भारतसँगै अष्ट्रेलिया, जापान र न्यूजील्याण्डका समुद्री तथा वायुसेनाहरू सहभागी छन्। बहुराष्ट्रिय सहभागिताले इन्डो–प्यासिफिक क्षेत्रमा सहयोगी देशहरूबीच समन्वय, सहकार्य र समुद्री सुरक्षा सुदृढ पार्ने लक्ष्य राखिएको छ।
‘सी ड्र्यागन २०२६’ विशेष रूपमा पनडुब्बी विरोधी युद्ध क्षमतामा केन्द्रित छ। सहभागी देशहरूले जटिल तथा यथार्थपरक परिदृश्यमा पनडुब्बी पत्ता लगाउने, ट्र्याक गर्ने र निष्क्रिय पार्ने अभ्यास गरिरहेका छन्।
करिब दुई हप्तासम्म चल्ने अभ्यासमा विभिन्न देशका सेनाहरूले संयुक्त रूपमा डेटा साझेदारी, प्रविधि प्रयोग र समन्वित अपरेशन सञ्चालन गर्ने सीप विकास गर्नेछन्। अभ्यासको प्रतिस्पर्धात्मक ढाँचाले सहभागी वायु तथा नौसैनिक टोलीलाई आफ्नो रणनीति थप परिष्कृत गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।
अष्ट्रेलियाले अभ्यासका लागि करिब ५० जना एयरक्रूसहित आफ्नो अत्याधुनिक पी-८ ए पोसेडन समुद्री गस्ती विमान तैनाथ गरेको छ। यो विमान उन्नत राडार, सोनार बोय तथा इलेक्ट्रो–अप्टिकल सेन्सरले सुसज्जित छ, जसले विशाल समुद्री क्षेत्रमा लुकेका पनडुब्बीहरू पत्ता लगाउन सक्षम बनाउँछ।
त्यस्तै, भारतीय नौसेनाले पनि आफ्नो पी-८आई पोसेडन विमानमार्फत लामो दूरीको निगरानी तथा पनडुब्बी विरोधी अपरेशन सञ्चालन गर्ने क्षमता प्रदर्शन गरिरहेको छ।
विशेषज्ञहरूका अनुसार दक्षिण चीन सागर र हिन्द महासागर क्षेत्रमा बढ्दो सैन्य गतिविधि, विशेषगरी चीनको विस्तारशील पनडुब्बी क्षमताका कारण यस्ता अभ्यासहरू अझ महत्त्वपूर्ण बन्दै गएका छन् ।
आधुनिक युद्ध रणनीतिमा पनडुब्बीको भूमिका बढ्दो रहेकाले पनडुब्बी विरोधी तालिमलाई उच्च प्राथमिकता दिइएको समाचारमा उल्लेख छ ।
भारतका लागि यो अभ्यास ‘ब्लू–वाटर नेभी’ रणनीति अनुरूप टाढा–टाढाका समुद्री क्षेत्रमा सञ्चालन क्षमता अभिवृद्धि गर्ने अवसर हो । साथै, परियोजना ७५ आई र अरिहन्त–वर्गका पनडुब्बी कार्यक्रमसँग सम्बन्धित अनुभव र दक्षता बढाउन पनि यसले सहयोग गर्ने अपेक्षा गरिएको छ ।