
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तालाई सकारात्मक भन्दै आक्रमण रोक्ने घोषणा गरे पनि इरानले यसलाई ठाडै अस्वीकार गरेको छ। ट्रम्पले इरानलाई 'होर्मुज जलमार्ग' नखोले त्यहाँका पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिँदै जारी गरेको ४८ घण्टाको अल्टिमेटम समाप्त हुनु केही समयअघि मात्र आफ्नो अडान परिवर्तन गरेका थिए।
ट्रम्पले आगामी पाँच दिनसम्म इरानी पावर प्लान्टहरूमा कुनै पनि सैन्य हमला नगर्न रक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ वार) लाई निर्देशन दिएका छन्। उनले बितेका दुई दिनमा अत्यन्तै फलदायी कुराकानी भएको र यो संवाद हप्ताभरि जारी रहने पनि बताए।
तर, तेहरानको प्रतिक्रिया ट्रम्पको दाबीसँग मेल खाँदैन। इरानी पक्षले ट्रम्पको दाबीलाई कडा शब्दमा खण्डन गरेको छ। इरानको आधिकारिक अडान सार्वजनिक गर्दै विदेश मन्त्रालय र सञ्चारमाध्यमहरूले अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि वार्ता नभएको बताएका छन्।
ट्रम्पको घोषणाको केही समयपछि नै इरानको सरकारी टेलिभिजनले तेहरानको कडा चेतावनीका कारण अमेरिकी राष्ट्रपति पछाडि हटेको दाबी गर्यो। विदेश मन्त्रालयले अमेरिकासँग कुनै पनि वार्ता भएको कुरालाई पूर्णतः अस्वीकार गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार, विश्वव्यापी तेल बजारमा आएको उछाल र इरानले पश्चिम एसियाका सबै अमेरिकी ऊर्जा केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएपछि ट्रम्प पछाडि हटेका हुन्।
ट्रम्पले इरानलाई लिएर कयौँ दाबीहरू गरेका छन्। एकातर्फ उनले वार्तामा सहमतिका धेरै बुँदाहरू फेला परेको बताएका छन् भने, अर्कोतर्फ इरानमा सत्ता परिवर्तनको प्रक्रिया प्रभावकारी रूपमा अगाडि बढिरहेको दाबी गरेका छन्। उनले वार्ता असफल भए बमबारी जारी रहने चेतावनी समेत दिएका छन्। ट्रम्पले आयतुल्लाह खामेनीका छोरा मुजतबालाई नेता स्वीकार नगर्ने र सम्भवतः भेनेजुएलामा जस्तै इरानमा पनि अमेरिकाले आफ्नै अनुकूलको 'नेता' खोज्ने स्पष्ट पारेका छन्।
ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनीको मृत्यु आफूले नचाहेको बताएका छन्। यद्यपि, उनले मुजतबा जीवित छन् कि छैनन् भन्नेबारे आफूलाई थाहा नभएको उल्लेख गरे।
फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानमा शासन परिवर्तन सम्भव भएको र आफू यस उद्देश्यका लागि एक प्रमुख व्यक्तित्वसँग वार्तामा रहेको बताए। ट्रम्पका अनुसार, अमेरिका इरानमा नयाँ राजनीतिक प्रणालीका विकल्पहरूमा काम गरिरहेको छ। उनले भेनेजुएलाजस्तै नयाँ नेता उदय हुन सक्ने वा अमेरिकासँग संयुक्त नेतृत्व मोडेल अपनाउन सकिने संकेत गरे।
इरानले भने हालको द्वन्द्वमा पछि नहट्ने र आफ्नो क्षतिको पूर्ति नभएसम्म लडाइँ जारी रहने बताएको छ। इरानी सर्वोच्च नेता मुजतबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले इरानका सर्तहरू स्पष्ट भएको बताए। उनका अनुसार सबै आर्थिक प्रतिबन्धहरू हटाइनुपर्ने र अमेरिकाले भविष्यमा कुनै हस्तक्षेप नगर्ने दृढ ग्यारेन्टी प्रदान गर्नुपर्नेछ।
टेलिभिजनमा प्रसारित वक्तव्यमा रेजाईले इरानी सेनाले पूर्ण शक्तिका साथ कारबाही गरिरहेको र नयाँ सर्वोच्च नेताको दृढ नेतृत्वमा देशले परिस्थितिलाई सम्हालिरहेको दाबी गरे।
मोहसेन रेजाईले युद्ध एक हप्ताभित्र समाप्त हुन सक्ने भए पनि इजरायलका कारण जारी रहेको बताए। रेजाईका अनुसार अमेरिका युद्धविरामका लागि तयार थियो र द्वन्द्व अन्त्य गर्ने दिशामा अघि बढिरहेको थियो। यद्यपि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमण जारी राख्न जोड दिएका कारण युद्ध लम्बिएको हो।
ट्रम्पको बयानपछि स्टक बजारहरू पुनः उकालो लाग्न थालेका छन्। उनको भनाइपछि ब्रेन्ट कच्चा तेलको मूल्य १३ प्रतिशतले घटेर प्रति ब्यारेल लगभग ९६ डलरमा स्थिर भएको छ।
राष्ट्रपति ट्रम्पले इरानका लागि तय गरेको 'रातो रेखा' बाट पछि हट्ने आकस्मिक निर्णयले उनको युद्धकालीन निर्णय प्रक्रियालाई वास्तवमा केले प्रेरित गरिरहेको छ भन्नेबारे गम्भीर प्रश्नहरू उब्जाएको छ।