
चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई बधाई दिएका छन् । प्रधानमन्त्री शाहलाई आज एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताए ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री लीले नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
सन्देशमा प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर ‘बेल्ट एण्ड रोड इनिसिएटभ्’लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताए ।
साथै प्रधानमन्त्री लीले विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याए ।
यसैगरी, चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई ज्ञापन गरेका छन् । मन्त्री खनाललाई शुक्रबार बधाई सन्देश पठाउँदै चिनियाँ परराष्ट्रमन्त्रीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देश सुख–दुःखमा सँगसँगै उभिँदै आएको बताए ।
परराष्ट्रमन्त्री वाङले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा निरन्तर विकास हुँदै आएको पनि उल्लेख गरे ।