
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको राजनीतिक तथा कानूनी प्रतिवाद जारी राख्ने निर्णय गरेको छ ।
साथै, निर्वाचनको समीक्षा र आन्दोलनका थप कार्यक्रम तय गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको छ ।
पार्टी मुख्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले निकट भविष्यमै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
साथै, एमाले आगामी वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल सभा तथा प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।
त्यसअघि चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित वृहत् भेला गर्ने, २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने र वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने निर्णय पनि एमालेले गरेको छ ।
सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरू सम्बन्धमा गरिएका गतिविधिहरूका विषय समेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय पनि भएको एमाले सचिव महेश बस्नेतले फेसबूकमार्फत जानकारी दिएका छन् । त्यसका लागि भोलि (चैत १८ गते) ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्नेछ ।
सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाही तथा संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुतिको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिने निर्णय पनि भएको छ। भोलि पार्टी कार्यालयमा बस्ने गरी संसदीय दलको बैठक बोलाउने निर्णय समेत भएको बस्नेतले उल्लेख गरेका छन् ।