०१ साउन २०८३, शुक्रबार

४ महिनाको अवधिमा पेट्रोलको भाउ प्रतिलिटर ४१ रुपैयाँ बढ्यो

चैत १९, २०८२
काठमाडौं
४ महिनाको अवधिमा पेट्रोलको भाउ प्रतिलिटर ४१ रुपैयाँ बढ्यो

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ । बिहीबार निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको भाउ भारी वृद्धि गरिएको हो । यो नयाँ मूल्य शुक्रबार बिहान ००:०१ बजेदेखि देशभर लागू हुनेछ ।

निगमको पछिल्लो चार महिनाको अवधिमा पेट्रोलको मूल्य प्रतिलिटर ४१ रुपैयाँ वृद्धि भएको देखिन्छ ।  २०८२ साल मंसिर १६ गते काठमाडौँमा प्रतिलिटर १६१ रुपैयाँ रहेको पेट्रोलको मूल्य चैत १९ गतेको नयाँ निर्णयसँगै २०२ रुपैयाँ पुगेको छ । 

निगमले पछिल्लो पटक पेट्रोल र डिजेल/मट्टितेल दुवैमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्य संरचना अनुसार देशका विभिन्न क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य कायम गरिएको छ । काठमाडौँ, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । त्यस्तै, यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ पुगेको छ ।

यसैगरी, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य २०१ रुपैयाँ र डिजेलको मूल्य १८१ रुपैयाँ कायम गरिएको छ । पहिलो वर्ग अन्तर्गतका तराईका क्षेत्रहरू (चारआली, विराटनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी) मा पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा र डिजेल १७९ रुपैयाँ ५० पैसामा बिक्री हुनेछ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मूल्यका कारण नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्