
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआर) टोली र रक्षा समाचारदाताबीच आज सम्पन्न मैत्रीपूर्ण फूटबल खेलमा सेनाको टोली विजयी भएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा भएको उक्त खेलमा सेनाको टोली ४–१ गोल अन्तरले विजयी भयो ।
निर्देशनालयका तर्फबाट सेनानी विजय पाण्डेले दुई तथा प्रमुख सेनानी उपन कार्की र प्राविधिक जमदार वसन्त ओलीले एक/एक गोल गरे ।
रक्षा समाचारदाताको टोलीबाट दीपेश केसीले सान्त्वना गोल गरे । उक्त खेलमा निर्देशनालयको टोली कप्तान सहायकरथी राजाराम बस्नेत र सञ्चारकर्मीका तर्फबाट कप्तान दीपक रिजाल रहेका थिए ।
प्रतियोगितामा सेनाको टोली हरियो रङ र सञ्चारकर्मीको टोली नीलो जर्सीमा मैदानमा उत्रिएको थियो ।
सैनिक तालिम महानिर्देशक एवं उपरथी प्रेम पुनले रेफ्रीलाई फूटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा सो खेल आयोजना गरिएको हो ।
निर्देशनालयको २०५८ चैत २० गते स्थापना भएको हो । निर्देशनालयले सैनिक र सञ्चारकर्मीबीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ ।