
मध्य पूर्वमा जारी इरान, इजरायल र अमेरिका सम्मिलित त्रिकोणीय तनावले विश्वलाई पुनः एकपटक ठूलो युद्धको संघारमा उभ्याएको छ। इरान र इजरायलबीचको प्रत्यक्ष सैन्य मुठभेड भएको एक महिना बितिसक्दा पनि रोकिने छाँछ छैन, बरू यो संकटले इराक, साउदी अरेबिया, लेबनान र सिरियासहित दर्जनौं देशहरूलाई समेत प्रभावित तुल्याएको छ ।
यसै पृष्ठभूमिमा अन्तर्राष्ट्रिय इतिहासका विज्ञहरूले वर्तमान परिस्थितिको तुलना पहिलो विश्वयुद्धको शुरूआत गर्न थालेका छन्, जसले के हामी तेस्रो विश्वयुद्धतिर बढ्दैछौं? भन्ने गम्भीर प्रश्न उब्जाएको छ।
अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर एमेरिटस मार्गरेट म्याकमिलनका अनुसार धेरैलाई लाग्छ कि युद्धहरू सधैं सुनियोजित हुन्छन्, तर इतिहासले यसको विपरीत तथ्य प्रस्तुत गर्दछ।
सन् १९१४ मा अस्ट्रिया-हंगेरीका राजकुमारको हत्यापछि कसरी साना घटनाहरूको श्रृंखला र कूटनीतिक गलतफहमीले सम्पूर्ण युरोपलाई पहिलो विश्वयुद्धमा धकेल्यो, त्यसलाई म्याकमिलनले वर्तमानसँग जोडेर हेरेकी छन्। उनका अनुसार अहिले पनि इरान वा यमनका हुथी विद्रोहीहरूले समुद्री व्यापार मार्ग वा होर्मुजको जलडमरूमा गर्ने सानो अवरोधले विश्वव्यापी ऊर्जा आपूर्ति ठप्प पार्न सक्छ, जसले प्रमुख विश्व शक्तिहरूलाई नचाहेरै पनि युद्धको मैदानमा तान्न सक्ने जोखिम रहन्छ।

यद्यपि, लन्डनस्थित किंग्स कलेजकी प्रोफेसर जो मिलो भने यसलाई तत्कालै 'विश्वयुद्ध' भनिहाल्न हतार हुने तर्क गर्छिन्। मिलोका अनुसार विश्वयुद्ध तब मात्र हुन्छ जब चीन र रूसजस्ता महाशक्तिहरू प्रत्यक्ष रूपमा मैदानमा उत्रिन्छन्।
हालका लागि चीनले मध्य पूर्वमा अमेरिकाको बढ्दो संलग्नतालाई आफ्नो रणनीतिक लाभको रूपमा हेरिरहेको छ। प्रतिद्वन्द्वी शक्ति द्वन्द्वमा फसेको हेर्नु चीनको लागि तेलको मूल्य वृद्धिभन्दा ठूलो रणनीतिक जित हो।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले पहिले नै तेस्रो विश्वयुद्धको बीउ रोपेको दाबी गरे तापनि, मस्को र बेइजिङले मध्य पूर्वको क्षेत्रीय युद्धमा सिधै होमिनुमा आफ्नो हित नदेखेको विज्ञहरूको विश्लेषण छ।
युद्धको यो भुमरीमा नेताहरूको अहंकार र गर्वले पनि ठूलो भूमिका खेल्ने गरेको छ। मार्गरेट म्याकमिलन भन्छिन्, 'इतिहासमा धेरैजसो युद्धहरू राष्ट्रिय गर्व वा विरोधीको डरका कारण लम्बिन्छन्।'

रूसी राष्ट्रपति पुटिनले युक्रेनमा गरेको आक्रमण र त्यहाँ भएको अकल्पनीय मानवीय क्षतिलाई उनले यसैको उदाहरण मान्छिन्। बेलायती रक्षा मन्त्रालयका अनुसार रूसले युक्रेनमा भोगेको हताहत दोस्रो विश्वयुद्धमा अमेरिकाले भोगेको कुल क्षतिभन्दा बढी छ।
यति ठूलो क्षति भोग्दा पनि पछि हट्न अस्वीकार गर्ने प्रवृत्तिले सीमित द्वन्द्वलाई विनाशकारी युद्धमा परिणत गर्न सक्ने खतरा सधैं जीवितै रहन्छ।
अन्ततः, यो संकटलाई महायुद्धमा परिणत हुनबाट जोगाउने एक मात्र कडी 'सक्रिय कूटनीति' नै हो। इतिहासका यस्ता मोडहरूमा परिस्थिति धेरै खतरनाक हुँदैछ भनेर बुझ्ने र संवादको ढोका खोल्ने नेतृत्वको आवश्यकता पर्दछ।
इजरायल, अमेरिका र इरानले आफ्ना सैन्य क्षमताको सीमा बुझेर कूटनीतिक मध्यस्थता मार्फत सुरक्षा व्यवस्था र प्रतिबन्धहरूका विषयमा नयाँ समझदारी कायम नगरेसम्म यो क्षेत्रीय युद्धको छाया विश्वभर मडारिइरहने निश्चित देखिन्छ। बीबीसी विवरणहरूका आधारमा