
अन्ततः ठूलो विनाशको संघारमा पुगेको पश्चिम एसियामा केही समयका लागि भए पनि शान्तिको वातावरण बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको इरानमा विनाशकारी आक्रमण गर्ने चेतावनी दिएको अन्तिम समयसीमा सकिनु केही समयअघि मात्र दुवै देश दुई हप्ताको युद्धविरामका लागि सहमत भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसियल'मार्फत अमेरिका र इरानबीच एक निश्चित शान्ति सम्झौताका लागि धेरै कुरा अघि बढिसकेको र वार्तालाई निष्कर्षमा पुर्याउन दुई हप्ताको युद्धविराममा सहमति भएको घोषणा गरेका हुन् ।
यो सम्झौता यस्तो समयमा भएको छ जब ट्रम्पले इरानी सभ्यता नै समाप्त पारिदिनेसम्मको धम्की दिएका थिए । विश्लेषकहरूका अनुसार यो सम्झौताले ट्रम्पलाई एक कठिन परिस्थितिबाट बाहिर निस्कने बाटो दिएको छ । एकातिर उनले दिएको इरानको सभ्यता नै मेटिने धम्की पूरा गर्दा युद्ध भयावह हुने डर थियो भने अर्कोतिर पछि हट्दा उनको साखमा धक्का लाग्ने खतरा थियो ।
यद्यपि, यो युद्धविराम पूर्ण रूपमा इरानको व्यवहारमा निर्भर छ । इरानले होर्मुज जलमार्गलाई व्यावसायिक जहाजका लागि पूर्ण रूपमा खुला गर्नुपर्नेछ । ट्रम्पले दाबी गरेका छन् कि अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेको छ । तर, इरानको युरेनियम संवर्धन कार्यक्रमको भविष्य र क्षेत्रीय प्रोक्सी समूहहरूमाथिको इरानी प्रभाव अझै पनि अमेरिकाका लागि टाउको दुखाइको विषय बनेको छ।
ट्रम्पको आक्रामक भाषालाई लिएर अमेरिकामा राजनीतिक विभाजन देखिएको छ। डेमोक्र्याट नेताहरूले ट्रम्पको भाषालाई गैरजिम्मेवार र नेतृत्वका लागि अनुपयुक्त भन्दै आलोचना गरेका छन् । सिनेटका डेमोक्र्याट नेता चक शुमरले यसलाई अदूरदर्शी कदम भनेका छन् । ट्रम्पकै रिपब्लिकन पार्टीका कतिपय वरिष्ठ नेताहरूले पनि सम्पूर्ण सभ्यता नष्ट गर्ने धम्कीको विरोध गरेका छन्। तर ह्वाइट हाउसले भने ट्रम्पको यही कडा दबाबकै कारण इरान वार्तामा आएको दाबी गरेको छ।
अर्कोतर्फ, इरानी सरकार र त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले यो सम्झौतालाई शासनको ठूलो विजयको रूपमा प्रस्तुत गरिरहेका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै इरानले युद्धमा आफ्ना लगभग सबै लक्ष्य हासिल गरेको र शत्रु (अमेरिका/इजरायल)ले ऐतिहासिक असफलता व्यहोरेको दाबी गरेको छ।
फेब्रुअरी २८ मा सर्वोच्च नेता अली खामेनी र वरिष्ठ जनरलहरूको मृत्यु भएपछि यो युद्ध इरानी शासनका लागि अस्तित्वको लडाइँ बनेको थियो । ३० दिनभन्दा बढी समयसम्म अमेरिका र इजरायलको भीषण आक्रमण झेलेर पनि शासन टिकिरहनुलाई नै इरानले आफ्नो जित मानेको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले इरानको १० बुँदे प्रस्तावको सामान्य ढाँचा स्वीकार गरेको दाबी गरेका छन्, जसमा प्रतिबन्धहरू हटाउने र क्षतिपूर्ति दिने जस्ता विषय समावेश छन्।
तेहरानका जनताका लागि यो युद्धविरामको घोषणा एक राहतको खबर बनेको छ। धेरै मानिसहरू ट्रम्पको समयसीमा अघि आक्रमणको डरले खाद्यान्न, मैनबत्ती र पानी जम्मा गरेर जाग्राम बसेका थिए। बिजुली घरहरूमा हमला नहुने खबरले उनीहरूलाई केही शान्ति दिएको छ।
तर, शासन विरोधी तप्का भने निराश देखिएको छ। कतिपयले यो युद्धले सत्ता परिवर्तन गराउने आशा राखेका थिए, जुन पूरा भएन । अहिले इरानको अर्थतन्त्र ध्वस्त छ र सेनाले ठूलो क्षति बेहोरेको छ । आन्तरिक रूपमा सरकारले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिइरहेकाले जनतामा आक्रोश पनि छ । घाइते भएको र आर्थिक रूपमा कमजोर बनेको इरानी सत्ता आफ्ना आन्तरिक विरोधीहरूप्रति अझै कठोर बन्न सक्ने आशंका गरिएको छ ।
अहिलेका लागि विश्व बजारमा तेलको मूल्यप्रति ब्यारेल १०० डलरभन्दा तल झर्नु र शेयर बजार बढ्नु सकारात्मक संकेत हो । तर आगामी दुई हप्ताको वार्ता निकै कठिन हुने निश्चित छ ।
अमेरिका होर्मुजमा निर्बाध यातायात चाहन्छ भने इरान यसमा आफ्नो प्रभुत्व कायम राख्न चाहन्छ । इरानले अमेरिकाले युरेनियम संवर्धनमा सहमति दिएको दाबी गरेको छ, जबकि अमेरिकाले यसलाई अस्वीकार गर्दै आएको छ ।
विगत एक वर्षमा दुई पटक वार्ता हुँदाहुँदै युद्ध शुरू भएको इतिहास छ । त्यसैले, यो दुई हप्ताको युद्धविराम दिगो शान्तिमा परिणत हुन्छ वा अर्को ठूलो युद्धको तयारी मात्र हो, त्यो हेर्न बाँकी नै छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका विवरणहरूमा आधारित