०६ साउन २०८३, बुधबार
फेरिँदै सरकारी कार्यालयको छवि

बिचौलियामुक्त मालपोत: कार्यालय पुग्नेबित्तिकै चुपचाप काम शुरू गर्छन् कर्मचारी !

चैत २६, २०८२
विराटनगर
बिचौलियामुक्त मालपोत:  कार्यालय पुग्नेबित्तिकै चुपचाप काम शुरू गर्छन् कर्मचारी !

केही समय अगाडिसम्म सरकारी कार्यालय, खासगरी मालपोत भन्नासाथ सर्वसाधारणको मानसपटलमा एउटा चित्र नाच्थ्यो– ‘घन्टौँसम्म लाइन बस्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने र कर्मचारीको रूखो व्यवहार झेल्नुपर्ने ।’ तर, मोरङको बेलबारीस्थित मालपोत कार्यालयले अहिले यो भाष्यलाई पूरै बदलिदिएको छ । यो कार्यालय अहिले कुनै चुस्त निजी कम्पनीजस्तो देखिएको छ ।

बेलबारी–२ का भवानी रिजाल केही दिनअघि जग्गाको कित्ताकाटमा भएको त्रुटि सच्याउन मालपोत कार्यालय पुगेका थिए । सामान्य प्राविधिक त्रुटि सच्याउन पनि ठुलो रकम खर्चनुपर्ने बाध्यतामा रहेका रिजाल यसपटक भने सुखद आश्चर्यमा परे । यसअघि यही कामका लागि बाहिरका लेखापढी व्यवसायीसँग परामर्श गर्दा उनीहरूले १० हजार रुपैयाँ माग गरेका थिए ।

लेखापढी व्यवसायीहरूले विरोध गर्दै काम नगरेपछि उनी घर फर्केका थिए । सोमबार उनी फेरि मालपोत पुगे । सङ्घीय सरकारले कार्यालयभित्र बिचौलिया र लेखापढी व्यवसायीलाई छिर्न नदिन परिपत्र गरेपछि यहाँको वातावरण फेरिएको छ । अहिले बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय खुल्छन् ।

उनले सिधै कर्मचारीलाई भेटेर कागजात दिए । सबै कागजात कर्मचारीले नै भरिदिए । तर काम सकिएन । उनी मङ्गलबार बिहान ९ बजेतिर नै आफ्नो कागजात भएको कार्यकक्षमा पुगे । त्यहाँ उनी पुग्नेबित्तिकै 'हिजो अधुरो भएको काम होइन ?' भनेर कर्मचारीले सरासर गरिदिए ।

‘पहिला कर्मचारीहरू बाहिरबाटै फारम भराएर ल्याउनुस् भन्थे, तर यसपालि त उनीहरू आफैँले मेरा सबै कागजात तयार पारिदिए,’ रिजालले दङ्ग पर्दै भने, ‘मेरो एक पैसा पनि खर्च भएन र काम पनि सोचेभन्दा धेरै छिटो भयो । सरकारी कार्यालयमा यसरी बिनाझन्झट काम होला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ ।’

बेलबारी–११ का विनय मिश्र पनि मालपोतको फेरिएको रूप देखेर चकित छन् । बेलबारीकै एक सहकारी संस्थामा कार्यरत उनी पेसागत कामका सिलसिलामा सरकारी कार्यालय धाइरहन्छन् । जग्गा रोक्का र फुकुवाको काम लिएर आएका मिश्रले मालपोत कार्यालय अहिले कुनै कर्पोरेट हाउस वा निजी कम्पनीजस्तो भएको अनुभव सुनाए ।

null

‘पहिले कर्मचारीहरू सरकारी ढर्रामा काम गर्थे, अहिले त आफ्नै निजी कम्पनीमा काम गरेजस्तो जोस र जाँगर देखाउँछन्,’ मिश्रले भने, ‘आज त मेरो काम मात्र १५ मिनेटमा सकियो । यो त हाम्रा लागि ठूलो उपलब्धि हो ।’

यस्तै, अनुभव सुन्दरहरैँचा–१० खोर्सानेका रुद्रबहादुर कार्कीको पनि छ । सोमबार जग्गा रोक्काको काम सकेका उनी आइतबार बिहान १० नबज्दै घर कायम गर्ने अर्को काम लिएर पुगेका थिए । कार्यालय खुल्नेबित्तिकै कर्मचारीहरू आफ्नो कार्यकक्षमा हाजिर भई सेवा शुरू गरिसकेका थिए । उनले भने, ‘लेखापढी व्यवसायी नहुँदा पनि कर्मचारीको सहयोगले काम निकै सहज भयो ।’

null

सरकारले हालै मात्र सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । मङ्गलबार बिहान ९ बज्न नपाउँदै सबै कर्मचारीहरू आफ्नो कार्यकक्षमा पुगिसकेका थिए ।

विगतलाई सम्झँदै एक स्थानीय सेवाग्राही भन्छन्, ‘पहिला कर्मचारीहरू ११ बजेतिर मात्रै कार्यालय आइपुग्थे । हाजिर गरेर पनि कार्यकक्षमा पुग्न एक घण्टा लगाउँथे । मोबाइलमा झुम्मिने, सेयर बजार (नेप्से) हेर्ने वा गफगाफमा भुल्ने कर्मचारीहरू अहिले भने बदलिएका छन् ।’

कार्यालयमा पुगेका केही सेवाग्राहीहरू कर्मचारीले ‘चुपचाप घण्टी छाप’ भन्दै काम गरिरहेको बताउँछन् । यसले सेवा प्रवाहमा निकै सुधार ल्याएको उनीहरूको टिप्पणी छ ।

null

नेपाली समाजमा एउटा उखान निकै चर्चित छ– ‘सरकारी काम कहिले जान्छ घाम’ । अर्थात् सरकारी काम यति ढिलो हुन्छ कि दिन बितेको पत्तै हुँदैन । तर, बेलबारी मालपोतको सेवा लिएपछि खोर्सानेकै ओमकुमार श्रेष्ठ यो उखान अब इतिहास बन्ने बताउँछन् । ‘अब सरकारी काम पनि छिटो हुन्छ भन्ने विश्वास पलाएको छ । यदि सबै कार्यालय यसरी नै चल्ने हो भने नागरिकले सास्ती पाउनु पर्दैनथ्यो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्