
मुलुकको निजी क्षेत्रका तीन ठूला छाता संगठनले उद्यमी, व्यवसायीमाथिको धरपकड र पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै त्रासपूर्ण अवस्थाले निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको जनाएका हुन् ।
नयाँ सरकार बनेपछि लगानीको वातावरण बन्ला भनेर अपेक्षा गरिएको भए पनि उद्यमी व्यवसायीमाथि भैरहेको धरपकडबाट त्रसित बनाउने काम गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजश्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने तीन वटै संगठनले जनाएका छन् ।
आर्थिक कसुरका सम्बन्धमा पहिले सुन्ने अनि कसुर प्रमाणित भएपछि मात्र थुन्ने दृष्टिकोण र व्यवहार गर्न निजी क्षेत्रले सरकारलाई ध्यानाकर्षणसमेत गराएको छ ।
उद्यमी व्यवसायीहरूले अनुसन्धानलाई सघाउन आफू पूर्ण तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी गराउँदा गराउँदै पनि आर्थिक कसुरकै अभियोजनमा पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित एवं दुःखी बनाएको उनीहरूको धारणा छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालको हस्ताक्षरमा संयुक्त विज्ञप्ति जारी गरिएको छ ।