
प्युठानको गौमुखी गाउँपालिका ६ लिवाङको बोहोरा परिवार खेती किसानी र गाईवस्तु पालेर बस्दै आएका थिए । ७० वर्षका केदार बोहोरा र २६ वर्षका छोरा रामु खेती किसानी र बस्तुभाउसँग नै रमाइरहेका थिए ।
आइतबार जंगलमा बस्तुभाउ चराउँदै गर्दा ठूलो पानी पर्यो । ठूलो पानीसँगै चट्याङ परेपछि उनीहरू अन्य दिनभन्दा छिटो गोरु र भेडा लिएर गोठ फर्किए । बाबुले खोरमा भेडा थुन्दै थिए । छोरा रामु गोरु बाँध्दै थिए । त्यही बेला ठूलो र चर्को आवाजसहित चट्याङ पर्यो । बाबुछोरा त्यही गोठमा ढले । उनीहरूलाई उठाउन गोठमा कोही थिएन ।
केदारको गोठमा चट्याङ परेको संकेत पाएपछि छिमेकीले गोठमा पुगे । उनी त्यहाँ पुग्दा बाबुछोरा, एउटा गोरु र दुई वटा भेडा ढलेको देखे । ‘गाडी खोजेर ल्याउँदा केही ढिलो भयो,’ गाउँका मधुराम केसीले भने, ‘पानी ठूलो परेर गाडी खोलाबाट तर्न पनि समस्या भयो । जिल्ला अस्पताल पुर्याउँदा दुवै जनाको मृत्यु भएको पुष्टि भयो ।’
समयमा उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याउन सकेको भएमा ज्यान जोगिन सक्ने केसीले बताए ।
उनीहरूको घर माथि डाँडामा हो । तर, गोठ र बारी केही तल रहेकाले उनीहरू गोठमा नै बस्ने गर्थे ।
क्यान्सरबाट पीडित केदारकी श्रीमतीको ५ वर्ष अघि मृत्यु भएको थियो । घरमा उनीहरू बाबुछोरा मात्रै थिए । केदार ठूलो छोराको परिवार विगत लामो समयदेखि भारतमा बस्दै आएका थियो ।
रामुको केही वर्ष अघि विवाह भए पनि श्रीमतीसँग सम्बन्ध राम्रो नहुँदा अर्कैसँग बिहे गरेर गएकी थिइन् ।
बाबुछोरा पशुपालन र कृषि गरेर बसेका थिए । ‘बाबुछोरालाई प्राकृतिक विपत्तिले चुड्यो घर, खाली भयो,’ केसीले भने, ‘रोजगारीका लागि अन्य ठाउँमा जाने अवसर पाए पनि वृद्ध बाबालाई एक्लै छाडेर नजाने भनेर रामु घरमै थिए । दैवको लिला विपत्ति बाबुछोरालाई चुडेर लग्यो ।’
चट्याङले लागेर उनीहरूसँगै केदारकी भाइबुहारी बोमी बोहोरा र गौमुखी–की २४ वर्षीया सृजना न्यौपाने घाइते भएका छन् ।
यस्तै माण्डवी गाउँपालिका–२ रातापानीमा पनि चट्याङ लागेर दुई दिदीबहिनी घाइते भएका छन् ।
२० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
गौमुखी गाउँपालिका अध्यक्ष विष्णु गिरीले वर्षासँगैको परेको चट्याङले बाबुछोराको मृत्यु स्थानीय र छिमेकी शोकमा डुबेको बताए ।