
बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ शनिबारदेखि शुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब, वालिङ विजयी भएको छ । ट्रिनिटीले पद्मा स्पोर्टस् क्लब, ओखलढुङ्गालाई १–० गोलले पराजित गरेको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलमा वालिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेल शुरू भएको छैठौं मिनेटमा ७ नम्बर जर्सीकी भूमिका बुढाथोकीले गोल गरेकी थिइन् । जर्सी नम्बर १४ कि दीक्षा रनपालले डिबक्सको दायाँ कर्नरबाट निकालेको बललाई भूमिकाले वान टचमा गोल गरेकी हुन् ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको २०औं मिनेटमा पद्मा क्लबले पेनाल्टी प्राप्त गरेको थियो । तर जर्सी नम्बर १८ कि पोषणी बोहोराले गोल गर्न असफल भइन् ।
खेलमा ट्रिनिटीकी गोल रक्षक सावित्री किशानले प्लेर अफ द म्याच हुँदै नगद ५ हजार प्राप्त गरिन् । आइतबारको खेल आयोजक बीस पचहत्तर युवा क्लब, बुटवल र अभिषेक चर्च, नवलपुरकाबीच हुने सचिव दीपक गुरुङले जनाएका छन् ।
बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शनिबार गरेका हुन् ।
प्रतियोगिताको पुरस्कार राशिमा यस वर्ष वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार रूपैयाँ र दोस्रो हुने टोलीले १ लाख २५ हजार रूपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रूपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रूपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलको प्लेअर दि म्याच हुने खेलाडीले ५ हजार नगद पाउनेछन् ।
प्रतियोगिता हेर्न आउने दर्शकका लागि करिब ३ हजार क्षमता भएको अस्थायी प्याराफिट निर्माण गरिएको छ । जेठ २ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी छन् ।
प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोर्टस् क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, मकवानपुर फुटबल एकेडेमी हेटौँडा र आयोजक बीस पचहत्तर युवा क्लबले सहभागिता जनाएका छन् ।