
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको मंगलबार जारी खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि दुई सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४३ रन बनाएको हो ।
स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ७५ रनको योगदान गरे । उनले केवल ६२ बलको सामना गरी दुई छक्का र १२ वटा चौका पनि हिर्काए ।
अर्का ओपनर फिनले म्याकक्रिएथले पनि ३५ रन बनाए । माइकल इङ्लिसले पनि टोलीको खातामा अविजित ३४ रन थपे ।
नेपाली टोलीका बलर सन्दीप लामिछानेले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ४१ रन खर्चिए । करण केसीले पनि दुई विकेट हात पारे ।
नन्दन यादवले पनि दुई विकेट लिए । लिग–२ प्रतियोगिताको जारी शृंखलामा नेपाल र स्कटल्यान्डका अतिरिक्त अमेरिकाको पनि सहभागिता रहेको छ ।