०४ साउन २०८३, सोमबार

सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरेको भन्दै बारको आपत्ति

जेठ ४, २०८३
काठमाडौं
सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरेको भन्दै बारको आपत्ति
फाइल फोटो

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले कायममुकायम (कामु) प्रधानन्यायाधीशको आदेशको अवज्ञा गरेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै बारले अदालतको प्रशासनिक अवरोध र संसद्‌मा विचाराधीन मुद्दामाथि भएको छलफलको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइएको (दरपीठ गरिएको) र त्यसविरुद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध सिर्जना गरिएको छ ।’

कायममुकायम प्रधानन्यायाधीशले संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ र सर्वोच्च अदालत नियमावली २०७४ बमोजिम दरपीठ भएका निवेदनहरू दर्ता गर्न आदेश दिए पनि प्रशासनले त्यसको अवज्ञा गरेको बारको दाबी छ । प्रशासनको यस्तो कार्यलाई बारले 'अप्राकृतिक' र 'ऐतिहासिक भूल'को संज्ञा दिएको छ ।

यसैगरी, अदालतमा विचाराधीन रहेका विषयमा संसदमा छलफल भएको प्रति पनि बारले कडा विरोध जनाएको छ ।

संविधानको धारा १०५ ले विचाराधीन मुद्दामा बहस गर्न बन्देज लगाएको स्मरण गराउँदै बारले संसदको बैठकमा भएका यस्ता टिप्पणीहरू संसदीय अभिलेखबाट हटाउन सभामुखसँग माग गरेको छ ।

भोलि 'लालटिन' बालेर विरोध गरिने

अदालती प्रशासनको स्वेच्छाचारिता र न्यायको खोजीका लागि भन्दै बारले भोलि (जेठ ५ गते) दिउँसो १:१५ बजे नेपाल बारको प्राङ्गणमा 'लालटिन' बालेर प्रदर्शन गर्ने घोषणा गरेको छ ।

‘अदालतको प्रशासनको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोधमा न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्न’ यो कार्यक्रम तय गरिएको बारले जनाएको छ ।

बारले आफ्ना सबै इकाइ र कानून व्यवसायीहरूलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गर्दै थप कार्यक्रमहरू सल्लाहकार र इकाइहरूको सुझावका आधारमा तय गरिने जानकारी दिएको छ ।

null

कमेन्ट गर्नुहोस्