
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थान, बागमती र गण्डकीको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । मधेश, कोशी, बागमती र गण्डकीको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनीका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।
आज राति कोशी कोशीलगायत बागमती, लुम्बिनी र गण्डकीका हिमाली र पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।