२१ जेठ २०८३, बिहीबार
नयाँ संसद् भवन

बजेट भाषणकै लागि तयार हुँदै संसद्को नयाँ हल, के हो भित्ताको नीलो रंगको रहस्य ?

जेठ १०, २०८३
काठमाडौं

नयाँ संसद् भवनको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । विशेषगरी प्रतिनिधिसभा बैठक कक्षको काम तीव्र गतिमा अघि बढाइएकाले आगामी जेठ १५ गते प्रस्तुत हुने आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण नयाँ भवनबाटै घोषणा हुने सम्भावना बलियो बनेको छ । निर्माण कम्पनी, संसद् सचिवालय र प्राविधिक टोली दिनरात खटिएर काम गरिरहेका छन् ।

हाल संसद् बैठक सोही भवनको बहुउद्देश्यीय हलबाट सञ्चालन हुँदै आएको छ । सरकारको नीति तथा कार्यक्रम पनि यही हलबाट प्रस्तुत गरिएको थियो । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दा स्थान अभावको समस्या लगातार देखिँदै आएको छ । सांसद, कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीको व्यवस्थापन गर्न कठिन भएपछि नयाँ प्रतिनिधिसभा हलको कामलाई प्राथमिकतामा राखिएको हो ।

अहिले प्रतिनिधिसभा बैठक कक्षमा कुर्सी जडान, वायरिङ, डेकोरेसन, साउन्ड सिस्टम परीक्षण तथा सेटअपको काम भइरहेको छ । संसद् सचिवालयका अनुसार यसपटक बैठक कक्षमा उच्च गुणस्तरका कुर्सी तथा आधुनिक साउन्ड सिस्टम प्रयोग गरिएको छ ।

सांसदहरूका लागि आवश्यक टेबल तथा डिजिटल संरचना जडान गर्ने अधिकांश काम सम्पन्न भइसकेको छ भने बाँकी काम पनि तीव्र गतिमा अघि बढाइएको छ ।

यसैबीच नयाँ प्रतिनिधिसभा हलको भित्तामा प्रयोग गरिएको नीलो रंगलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् । कतिपयले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीकै झण्डाको कलरसँग मिलाउन खोजेको भनेर पनि आलोचना गरिरहेका छन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सामान्यतया प्रतिनिधिसभामा नीलो र राष्ट्रिय सभामा रातो रंग प्रयोग गर्ने परम्परा रहँदै आएको छ । अहिलेको डिजाइन पनि सोही मान्यताअनुसार तयार गरिएको उनले स्पष्ट पारेका छन् ।

संसद् सचिवालयले प्रतिनिधिसभा हलको काम जेठ १५ गतेअघि नै सम्पन्न गर्न निर्देशन दिएको जनाएको छ । आगामी बजेट भाषण नयाँ हलबाटै गराउने उद्देश्यसहित अन्य केही कामलाई पछि सारेर भए पनि मुख्य सभाहल निर्माणमा जोड दिइएको छ ।

निर्माण स्थलमा अहिले कामदारहरू अत्यधिक दबाबबीच काम गरिरहेका छन् । साउन्ड सिस्टम परीक्षणदेखि सजावटसम्मका काम एकसाथ भइरहेका छन् ।

यो भवन शुरूमा २०७९ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, विभिन्न प्राविधिक, प्रशासनिक तथा निर्माणसम्बन्धी कारणले काम समयमा पूरा हुन सकेन । पटक–पटक म्याद थप्दै हाल छैटौंपटक समयावधि थपिएपछि निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

नयाँ संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैका लागि अत्याधुनिक सभाहल निर्माण गरिएको छ । साथै, संसदीय दलका कार्यालय, विभिन्न समिति कक्ष, संसद् सचिवालयका प्रशासनिक कक्ष तथा सुरक्षाकर्मीका लागि छुट्टै व्यवस्थापन गरिएको छ । भवनलाई आधुनिक संसदीय अभ्यासअनुसार प्रविधिमैत्री बनाइएको बताइएको छ ।

यस भवनमा अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सहज पहुँचलाई ध्यानमा राखेर लिफ्टको व्यवस्था समेत गरिएको छ ।

यसअघि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको संसद् भवन जनआन्दोलनका क्रममा भएको आगजनीपछि प्रभावित बनेको थियो ।

त्यसपछि संसद् बैठक सञ्चालनका लागि वैकल्पिक व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । संयुक्त बैठकका लागि पर्याप्त स्थान अभाव भएपछि बहुउद्देश्यीय हलमा अस्थायी रूपमा प्रतिनिधिसभा बैठक सञ्चालन शुरू गरिएको थियो । अहिले पनि संसद् बैठक त्यही हलबाट सञ्चालन भइरहेको छ ।

सांसदहरूको संख्या, संयुक्त बैठकको चाप तथा प्रशासनिक व्यवस्थापनमा समस्या भइरहेकाले नयाँ प्रतिनिधिसभा हलको कामलाई अत्यन्त प्राथमिकतामा राखिएको संसद् सचिवालयका प्रवक्ता गिरीले बताएका छन् । उनका अनुसार सबै प्रक्रिया समयमै पूरा भए आगामी बजेट भाषण नयाँ प्रतिनिधिसभा हलबाटै प्रस्तुत हुनेछ ।

करिब ८ अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको यो संसद् भवन पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा मात्र होइन, संसद् सचिवालय, संसदीय समिति तथा संसदीय दलका कार्यालयहरू समेत यही भवनबाट सञ्चालन हुनेछन् । यसले हाल विभिन्न स्थानमा छरिएर रहेका संसदीय संरचनालाई एउटै परिसरमा समेट्नेछ ।

निर्माण स्थलमा भइरहेको तीव्र कामले आगामी बजेट भाषण ऐतिहासिक रूपमा नयाँ प्रतिनिधिसभा हलबाट हुने संकेत देखिएको छ ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्