
नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत रहेको बताएको छ । कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमानमा चोट पुगेको भन्दै संसद्मा औपचारिक असहमति जनाएको हो ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषय गम्भीर रहेको बताए । उनले उक्त अभिव्यक्तिले आफू मात्र नभई करिब तीन करोड नेपाली नागरिकको शीर निहुरिएको महसुस भएको बताए ।
राईले प्रधानमन्त्रीको भनाइ संसद्को अभिलेखमा रेकर्ड भइसकेको र भविष्यमा नजिरका रूपमा स्थापित हुने भएकाले त्यसप्रति कांग्रेसको ‘नोट अफ डिसेन्ट’ रहेको जानकारी दिए । उनले प्रधानमन्त्रीले नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो भन्नेबारे संसद्मा स्पष्ट हिसाब दिनुपर्ने माग गरे ।
‘यो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो’, उनले भने, ‘भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहियो भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने ? प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्छ ।’
प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादसम्बन्धी नेपालले अन्तर्राष्ट्रिय स्तरमा गर्दै आएको दाबी कमजोर बनाउने तथा नेपाललाई पनि सीमा अतिक्रमणकारी राष्ट्रका रूपमा चित्रित गर्ने भाष्य निर्माण गरेको सांसद राईको आरोप छ ।
राईले प्रधानमन्त्रीले सस्तो लोकप्रियताका लागि सदनको गरिमा भत्काउने काम गरेको टिप्पणी गर्दै उनले यस्तो अभिव्यक्तिबाट के पुष्टि गर्न खोजेका हुन् भन्नेबारे संसद्मै जवाफ दिनुपर्ने बताए । प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएपछि मात्र सदनमा सहकार्यको वातावरण बन्न सक्ने उनको भनाइ थियो ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत गरे । राष्ट्रिय हितसँग जोडिएको विषयमा सभामुख मौन बसेको भन्दै उनले त्यसले पदीय जिम्मेवारी र गरिमामाथि पनि प्रश्न उठाएको बताए ।
‘मलाई लागेको थियो- राष्ट्रिय हितमाथि धावा बोल्दै गर्दा सदनमा अभिभावकको रूपमा सभामुखले आफैं रुलिङ गर्नुहुन्छ भन्ने । तर सभामुखले पनि मौनता साँध्नु गम्भीर त्रुटि मात्र होइन पदीय गरिमा र जिम्मेवारीमाथि पनि प्रश्न उठेको छ’, सांसद राईले भने ।