
भारत र रुसबीच पाँचौँ पुस्ताको अत्याधुनिक स्टिल्थ फाइटर जेट 'सुखोई-५७ई' भारतमै उत्पादन गर्ने विषयमा औपचारिक परामर्श र छलफल सुरु भएको छ । रुसी संघीय सैन्य-प्राविधिक सहयोग सेवाका अनुसार मस्को क्षेत्रमा आयोजित पहिलो अन्तर्राष्ट्रिय सुरक्षा मञ्चको उच्च-स्तरीय बैठकपछि यो संवादले गति लिएको हो ।
बैठकमा रुसी अधिकारीहरूले भारतसँगको द्विपक्षीय सैन्य औद्योगिक सहयोगलाई थप सुदृढ र विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
यस अवधिमा दुवै देशले सुखोई फाइटर जेट, टी-९०एस मुख्य युद्धक ट्याङ्कका साथै विभिन्न साना हतियार र गोलाबारुद प्रणालीहरूको स्वदेशमै उत्पादन लाइन सफलतापूर्वक स्थापना गरिसकेका छन्।
'विङ्ग्स इन्डिया २०२६' कार्यक्रमका दौरान रुसको युनाइटेड एयरक्राफ्ट कर्पोरेसनका कार्यकारीहरूले भारतमा सु ५७ ई को अनुमतिप्राप्त (लाइसेन्स्ड) उत्पादन सम्बन्धी विस्तृत प्रस्ताव अघि सारेका थिए । मस्कोले यस सम्झौतालाई अझ आकर्षक बनाउन पूर्ण प्रविधि हस्तान्तरणको प्रस्ताव गरेको छ।
यसअन्तर्गत विमानको 'सोर्स कोड' मा पहुँच दिनुका साथै इन्जिन र एइएसए राडार प्रणाली जस्ता महत्त्वपूर्ण पाटपुर्जाहरू भारतमै स्थानीयकरण गर्ने सुविधा समावेश छ।
रुसको सरकारी हतियार निर्यातकर्ता 'रोसोबोरोनएक्सपोर्ट'ले यसलाई केवल एउटा व्यापारिक बिक्री मात्र नभएर दीर्घकालीन औद्योगिक साझेदारीको रूपमा व्याख्या गरेको छ।