३० जेठ २०८३, शनिबार

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौंका डायलासिस मशिन प्रयोगविहीन

जेठ ३०, २०८३
नवलपरासी
आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौंका डायलासिस मशिन प्रयोगविहीन

​भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौं मूल्यका डायलासिस मशिन प्रयोगविहीन भएका छन् ।

विभिन्न दातृ निकाय र नेपाल सरकारबाट स्थानीय तह र अस्पतालका लागि प्राप्त भएका ती मशिन प्रयोगमा आउन नसकेका हुन् ।

नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलिखेलले बर्दघाट नगरपालिका–१४ को शहीद स्मृतिलाई विक्रम संवत् २०८१ मा उपलब्ध गराएको एक करोड २० लाख मूल्य बराबरका छ वटा डायलासिस प्रयोगविहीन छन् ।

आर्थिक अभाव र मशिन सञ्चालनका लागि संरचना अभाव भएकाले प्रयोगविहीन भएको अस्पतालले बताएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिबीबहादुर थापाले लामो समयदेखि मशिन प्रयोगमा ल्याउन नसक्दा स्थानीय बिरामीलाई सेवा दिन नसकिएको बताए ।

त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको साढे आठ करोड बराबरका पाँच वटा डायलासिस पनि प्रयोगविहीन छन् । नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण ती मशिन सञ्चालनमा ल्याउन सकिएको छैन ।

सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले पनि आर्थिक अभाव र प्राविधिक अभावका कारण मशिन सञ्चालनमा ल्याउन नसकिएको बताइन् । सुनवलमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ ।

यता रामग्रामस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रहेको पाँच वटा डायलासिस मशिनले दैनिक १७ जना बिरामीलाई निरन्तर सेवा दिँदै आएको छ ।

बिरामीको चाप बढी भएकाले जिल्ला अस्पतालबाट सेवा लिन नसक्ने बिरामीहरू जिल्ला बाहिर जानुपर्ने अवस्था छ ।​

यदि प्रयोगविहीन भएका मशिन सञ्चालनमा आए बिरामीलाई सहज हुने पृथ्वीचन्द्र अस्पतालका व्यवस्थापक सीमा काफ्लेको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्