
काठमाडौं, २६ पुस– प्राध्यापक डाक्टर गोविन्द केसीले आफूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेश सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएसँगै सर्वोच्च परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले अनसन भने भोलिसम्म जारी रहने बताए । यद्यपी भोलि अनसनबारे थप निर्णय लिइने केसीको भनाई छ ।
‘आदेश सकारात्मक छ, अनसन भोलिसम्म जारी रहन्छ’, केसीले भने, ‘थप अनसन बस्ने या तोड्ने भन्ने बारे भोलि नै थप निर्णय हुन्छ ।’
अदालतबाट केसी सिधै त्रिवि शिक्षण अस्पताल गएका छन् । जहाँ केसी अनसन बस्नेछन् । सोमबार प्रहरीले अदालतको मानहानी गरेको अभियोगमा प्रहरीले त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ परेको थियो ।
बुधबार न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको थियो ।
बयानका क्रममा डा केसीले आफू न्यायालयको स्वतन्त्रताको पक्षमा रहेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन हुनुपर्ने माग गरेका थिए ।
केसीको माग बमोजिम अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।
इजलासले पराजुलीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएका दुवै नागरिकताको प्रतिलिपि मगाउन तथा न्यायपरिषद्बाट शैक्षिक योग्यता र उमेर सम्बन्धी कागजात झिकाउन आदेश दिएको हो ।
प्रधानन्यायाधीश पराजुली विरुद्ध अभिव्यक्ती दिएर अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले सोमवार सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सो मुद्दामा सर्वोच्चले केसीलाई पक्राउ गर्न सर्वोच्चले आदेश दिएको थियो ।