२८ असार २०८३, आइतबार
फिफा विश्वकप–२०२६

स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा, क्वार्टरफाइनल प्रवेश गर्न अब पाराग्वेसँग भिड्ने

असार १७, २०८३
काठमाडौं
स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा, क्वार्टरफाइनल प्रवेश गर्न अब पाराग्वेसँग भिड्ने

कप्तान किलियन एम्बाप्पेले विश्वकप इतिहासमै नयाँ कीर्तिमान रचेको खेलमा फ्रान्सले स्वीडेनलाई सहजै हराएको छ । बुधबार बिहान सम्पन्न खेलमा स्वीडेनविरुद्ध ३–० को सहज निकाल्दै फ्रान्स फिफा विश्वकप २०२६ क‍ो अन्तिम १६ मा पुगेको हो । 

फ्रान्स अब क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग भिड्ने छ । मंगलबार जर्मनीलाई पेनाल्टीमा हराएको पाराग्वे र फ्रान्स आगामी शनिबार फिलाडेल्फियामा प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि क्यानडा वा मोरक्कोको सामना गर्नेछ।

फ्रान्सेली टोली लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने आफ्नो लक्ष्यतर्फ बलियो रूपमा अगाडि बढेको छ । सन् १९९८ यता फ्रान्सले विश्वकपका नकआउट खेलहरूमा मात्र तीनवटा हार बेहोरेको छ, जसमध्ये दुईवटा फाइनल खेल हुन् ।

खेलको दुवै हाफमा एक-एक गोल गर्दै २७ वर्षीय स्टार स्ट्राइकर एम्बाप्पे विश्वकपको नकआउट चरणमा सबैभन्दा बढी गोल गर्ने सर्वकालीन खेलाडी बनेका छन् । नकआउट चरणमा उनको गोल सङ्ख्या १० पुगेको छ, जुन ब्राजिलका महान् खेलाडीहरू लिओनिडास र रोनाल्डोको अघिल्लो कीर्तिमान (८ गोल) भन्दा दुई गोल बढी हो।

विश्वकपमा व्यक्तिगत ६ गोल पुर्‍याउँदै एम्बाप्पेले अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीसँगै गोल्डेन बुटको दौडमा संयुक्त रूपमा शीर्ष स्थान बाँडेका छन् । यसका साथै विश्वकप खेल जीवनमा उनको कुल गोल सङ्ख्या १८ पुगेको छ, जुन मेस्सीको सर्वकालीन विश्वकप रेकर्ड (१९ गोल) भन्दा मात्र एक गोल कम हो । खेलको ८५ औँ मिनेटमा एम्बाप्पे मैदानबाट बाहिरिँदा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले उनलाई सम्मानस्वरूप शिर झुकाएर अभिवादन गरेका थिए।

न्युजर्सीको मेटलाइफ स्टेडियममा ८० हजार ६६३ दर्शकबीच भएको यो खेलमा अत्यधिक गर्मी र खराब वायु गुणस्तरका कारण खेलाडीहरूले निकै संघर्ष गर्नुपरेको थियो । ३२ डिग्री सेल्सियसको गर्मी र उच्च आर्द्रताबीच पहिलो हाफको ‘हाइड्रेसन ब्रेक’मा फ्रान्सेली डिफेन्डर लुकास डिग्नेले आफूलाई स्प्रिंकलरको पानीले भिजाएका थिए।

null

खेलको शुरूदेखि नै फ्रान्सले स्वीडेनमाथि दबाब बनाएको थियो । खेलको २० औँ मिनेटमा एम्बाप्पेले गरेको गोललाई अफसाइडको झण्डाले रोकेको थियो भने ३२ औँ मिनेटमा जुल्स कुन्डेको पासमा एम्बाप्पेको प्रहार गोलपोस्टको बारमा ठोक्किएर फर्किएको थियो । त्यसको चार मिनेटपछि माइकल ओलिसेले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको उत्कृष्ट 'सिजर किक' (बाइसाइकल किक) पनि पोस्टको बारमै लाग्यो र रिबाउन्डमा ओस्मान डेम्बेलेको प्रहार बाहिरियो।

स्वीडेनका गोलकिपर जेकब विडेल जेटरस्ट्रोमले धेरै उत्कृष्ट बचाउ गरे पनि ४५ औँ मिनेटमा एम्बाप्पेको प्रहार रोक्न सकेनन् । ओलिसेको कर्नर प्रहारपछि डेम्बेलेले मिलाइदिएको पासलाई एम्बाप्पेले उत्कृष्ट ‘क्रसओभर स्टेप’ चाल्दै पोस्टमा बल छिराए । यो उनको ६१ औँ अन्तर्राष्ट्रिय गोल थियो। 

खेलको दोस्रो हाफ शुरू भएको आठौँ मिनेटमा (५३ औँ मिनेटमा) स्वीडेनका गुस्ताफ लागरबिएल्केले बल गुमाएपछि ओरेलियन चुआमेनीको पासमा माइकल ओलिसेले उत्कृष्ट गोल गरे।

त्यसपछि ७४ औँ मिनेटमा एम्बाप्पेले बारकोलालाई ब्याकहील पास दिए, बारकोलाले ओलिसेलाई र ओलिसेको उत्कृष्ट पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

स्वीडेनले खेलको पहिलो हाफमा एउटा राम्रो अवसर पाएको थियो तर इलियट स्ट्राउडको प्रहार १२ यार्ड टाढाबाट पोस्ट माथिबाट बाहिरियो। खेलको अन्तिम समयमा आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले गोल गर्ने सुनौलो अवसर पाए पनि फ्रान्सेली गोलकिपर माइक म्याग्ननले त्यसलाई असफल तुल्याइदिए।

salt training

कमेन्ट गर्नुहोस्