०३ साउन २०८३, आइतबार

दुई दिन देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

साउन २, २०८३
काठमाडौं
दुई दिन देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मेलम्ची वर्षामापन केन्द्रमा १०५ दशमलव चार मिलिमिटरसम्म वर्षा मापन गरिएको छ ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले आगामी दुई दिन देशभर मनसुनी गतिविधि थप सक्रिय हुने विभागले जनाएको छ ।

विभागका प्रवक्ता विभूति पोखरेलले आज र आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताइन् ।

उनका अनुसार देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक/दुई स्थानमा भारीदेखि अतिभारी वर्षा हुन सक्नेछ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी–खोलामा बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रवक्ता पोखरेलले हवाई, पर्यटन, कृषि तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर सावधानी अपनाउन अनुरोध गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्