काठमाडौं, माघ १४ - लोकगीतका पारखीहरूलाई गायक खड्ग गर्बुजाको लामो परिचय आवश्यक पर्दैन होला । शारीरिक रूपले अपाङ्गता भएपनि निरन्तरताको लगाव र परिश्रमका कारण गर्बुजाले आफूलाई स्थापित कलाकारको नाममा स्थापित गराएका छन् । आजका व्यस्त गायक गर्बुजाको यो सफलता सजिलै आएको भने होइन ।
आफ्नो बाल्यकाल अत्यन्तै दुःखपूर्ण अवस्थामा गुज्रेको बताउँछन् गर्बुजा । म्याग्दीको एक दुर्गम गाउँमा जन्मेका गर्बुजाको पारिवारिक स्थिति राम्रो थिएन । बाल्यकालमा उनको परिवारसँग अभाव मात्र थियो । गाउँका आधाभन्दा धेरै व्यक्तिले चौब्याजेमा ऋण लिएर आफ्नो जीविका चलाउँथे । उनको बाल्यकाल भेडीगोठमा बित्यो । आफ्नो बाल्यकाल स्मरण गर्दै उनी सुनाउँछन्, ‘बाल्यकालमा के खाने भन्ने नै चिन्ता हुन्थ्यो । स्कूल जान पैसाको जोहो गर्न सक्ने स्थिति थिएन ।’
गाउँघरमा पढ्नुपर्छ भन्ने मानसिकता कसैलाई पनि थिएन । त्यसैले पनि उनी पढाइलाई खासै महत्व दिएनन् । बरू उनका बा–आमाले छोरा लाहुरे हुनेछ भन्ने सपना देखेका थिए ।
भर्ती हुनका लागि उनी भारत समेत पुगे । अन्तिम चरणमा पुगेपछि उनी उमेर नपुगेको भन्दै बाहिरिए । तिबेला उनले १५ वर्ष उमेर टेकेका थिए । भारतीय सेनामा भर्ती हुनका लागि १८ वर्ष पुग्नुपर्थ्यो ।
भर्ती हुन नसकेपछि एक वर्षसम्म भारतमै काम गरेर उतै बसे उनी । अनि केही पैसा जम्मा गरेर फेरि आफ्नै गाउँ फर्के । ‘म गाउँमा आएको केही समयमै हाम्रो गाउँमा गल्ला आएका थिए । गल्लाले गाउँका खाइलाग्दा युवालाई भारतीय आर्मीका लागि छनोट गर्थे ।’
गल्लाले उनलाई पनि छनोट ग–यो । अर्को महिना भर्तीका लागि आउन पनि आमन्त्रण ग–यो । ‘पन्ध्र दिनजति बाँकी थियो होला,’ उनी स्मरण गर्छन्, ‘एकदिन घाँस काट्न जाँदा म भीरबाट खसें ।’
त्यो घटनापछि छोरालाई लाहुरे बा–आमाको बनाउने सपना पूरा हुन सकेन । त्यसपछि उनी कहिल्यै दौडिन सकेनन् । हिँड्न पनि सकेनन् ।
भीरबाट खसेपछि उनको मेरुदण्डमा चोट लाग्यो । गाउँमा मोटरबाटो पुगेको थिएन । उपचारका लागि बस भेटाउन स्याङ्जा आउनुपर्थ्यो, जहाँ पुग्न मात्र तीन दिन हिँड्नुपर्थ्यो । थप उपचारका लागि पोखरा या तानसेन जाने सम्भावना त थियो तर परिवारको आर्थिक स्थिति बलियो थिएन । ‘त्यसबेला उपचार गर्न पाएको भए पनि निको नहुने रहेछ ।’ उनी डाक्टरको कुरालाई स्मरण गर्दै भन्छन्, ‘स्पाइनल इन्जुरीको उपचार अहिले सम्भव भएपनि त्यो बेला सम्भव थिएन रे !’
आफ्नो गाउँको वातावरणले उनलाई गीत गाउन सिकाएको थियो । सानैदेखि उनी गीत गुनगुनाउने गर्थे । कतै मादल बजाएको सुन्नै हुन्थेन, उनी पुगिहाल्थे ।
वनपाखामा घाँस काट्न जाँदा गीतमा आफ्नो पीडा पोख्थे उनी । अझ भीरबाट खसेर आफ्ना दुवै खुट्टा नचल्ने भएपछि उनको बढी व्याकुल भए । ‘त्यसबेलामा मसँग कुनै योजना थिएनन् । आफ्ना पीरव्यथालाई गीतको माध्यमबाट पोख्ने गर्थें ।’ उनी आफ्नो संघर्षशील यात्रालाई स्मरण गर्दै भन्छन्, ‘झन् मेरुदण्डले नै काम नगर्ने भएपछि त केही समय मसँग साथमा आफ्ना सपना पनि भएनन् ।’
दुवै खुट्टा नचल्ने भएपछि घर परिवारलाई सहयोग गर्न सक्ने उनको स्थिति रहेन । काम नगरी खान सक्ने घरको वातावरण थिएन । ‘त्यसबेला म हतोत्साही भएको थिएँ । काम गरेर ६ महिना पनि खान नपुग्ने परिवारमा मैले झन् बढी दुःख थपेको थिएँ ।’
भीरबाट लडेर अपांग भएपछि उनको जिन्दगी ओछ्यानमा सीमित भएको थियो । त्यसको केही समयमा आमालाई पनि प्यारालाइसिस भयो । ‘गरीबीको चपेटामा परेको घरमा दुईजना अेछ्यानमा पल्टेको देख्दा साह्रै विरक्त लाग्यो,’ भावुक हुँदै गर्बुजा भन्छन्, ‘त्यसबेलाको स्थिति अत्यन्तै कहालीलाग्दो भयो । मैले त्यो दृश्य सहन सकिनँ ।’
आफूले केही गर्न नसकेपनि परिवारको भर पर्दिनँ भन्ने लागेर उनी २०४६ सालमा घरबाट निस्के । निस्किने बेलामा उनले केही सपना बोकेका थिएनन् । घरबाट बाहिर जानका लागि उनलाई सहज थिएन । परिवारले उनलाई बाहिर जान दिँदैनथे । प्यारालाइसिस भएर छट्पटिएकी आमाको आग्रह नटेरी परिवार काममा गएको बेला उनी घरबाट निस्के । उनलाई त्यो समय विरक्त लागेको थियो ।
घरबाट निस्किने बेलामा उनले माहुरी बाजा बोकेर हिँडे । ‘हिँडेको नभनौं । घस्रेर यात्रा तय गरें । बाटोमा उनको साथी भन्नु नै माहुरी बाजा थियो ।’ उनले अतीत स्मरण गरे । ‘मैले गीत गाएर आफ्नो जिन्दगी चलाएँ । त्यो समय अत्यन्तै कष्टकर थियो ।’
घरबाट हिँडेको लगभग एक वर्षपछि उनी काठमाडौं आए । उनलाई गीत गाउने रस बसिसकेको थियो । लोकगीत नै उनको जिन्दगीको अभिन्न अंग उनलाई लागिसकेको थियो । ‘लोकगीत मनोरञ्जनको साधन मात्र होइन रहेछ,’ उनी भन्छन्, ‘मलाई मौलिक लोकसंस्कृतिमा पनि केही न केही गर्नुपर्छ भन्ने लाग्यो ।’
त्यसपछि उनी रेडियो नेपाल पुगे । आफूले गीत गाएर खानसक्छु भन्ने भावना उनको मनमा १६ वर्षको उमेरमा नै आइसकेको थियो । अन्ततः २०४७ सालमा उनी रेडियो नेपाल आए स्वर परीक्षणका लागि ।
स्वरपरीक्षणमा पास भए उनी । मारुनी बाजा बजाउँदा बजाउँदै उनले आफ्नो स्वरलाई मात्र तिखारेका थिएनन्, संगीतको लय पनि समाएका थिए ।
त्यतिबेला गीत गाउने सञ्चारमाध्यम भनेको रेडियो नेपाल मात्र थियो । दिनको एकपटक रेडियो नेपाल आउने नशा बस्यो उनलाई । पछि साथीभाइले उनलाई ‘मादल, हार्मोनियम, बाँसुरी बजाउन राम्रो जानेको छस्, रेडियो नेपालमा जागिर खा’ भनी सुझाव दिन थाले ।
त्यसबेलामा जागिर खान त्यति सहज थिएन । जनताले ल्याएको बहुदललाई पहुँचवालाले दुरुपयोग गरिरहेका थिए । जागिर खानका लागि कुनै पार्टीको कार्यकर्ता बन्नुपर्थ्यो । पार्टीको तोकविना जागिर पाउन गाह्रो थियो ।
‘म रेडियो नेपालमा जागिरका लागि गएँ । तत्कालीन निर्देशक स्वयं शैलेन्द्रराज शर्माले कुनै पार्टीको तोकविना मलाई नियुक्ति गर्नुभयो । मलाई लाग्छ, त्यसपछि मैले जिन्दगीको एउटा आयाम पूरा गरें,’ निर्देशकप्रति आभारी हुँदै उनी भन्छन् ।
रेडियो नेपालको करारको जागिरमा उनी सन्तुष्ट छन् । फिरन्ते मान्छेले जहाँ पनि बिहे गर्न सक्ने रहेछ भन्ने गर्बुजाले पर्वतकी गायिका मीना गर्बुजासँग काठमाडौंको एउटा कार्यक्रममा आउँदा भेट भएपछि एक वर्ष लामो प्रेम सम्बन्धपछि विवाह गरेको सुनाउँछन् ।
काठमाडौंको गोंगबुमा बसोबास गरिरहेका गर्बुजा आफ्नो परिवारसँग खुशी छन् । अपांगता आफ्नो कमजोरी नभएको पनि बताउँछन् । ‘शारीरिक रूपमा अपांग भएर त धेरै थोक गर्न सकिन्छ । मानसिक रूपमा अपांग हुनु भएन,’ उनी मुस्कुराउँदै भन्छन्, ‘हामीलाई हेय दृष्टिले हेर्ने मानसिकता भएका मानिस पनि समाजमा छन् ।’
नेपाली लोकगीतमा खासगरी मौलिक गीत गाउने लोकगायक खर्बुजाले ‘हेर्दाहेर्दै कान्छीले...’ लगायतका सालैजो गीत, ठाडो भाका, कौडा, झ्याउरे जस्ता थुप्रै भाकामा स्वर दिएका छन् । ‘अहिलेसम्म दुई दर्जन देशमा प्रस्तुति दिइसकेको छु । अहिले त नेपालका विभिन्न जिल्लामा पनि हामीलाई सुहाउने मञ्च निर्माण भइसकेका छन् । विभिन्न स्थानमा बाटो पुगेको छ,’ गर्बुजा बताउँछन् ।
आफ्नो विगतलाई हेर्दा सन्तोष लिनुपर्ने ठाउँ धेरै भएपनि हिजो गरेका गल्ती तथा कमजोरीलाई सच्याउँदा सच्याउँदै मान्छेको जिन्दगी जान्छ भन्ने उनलाई लाग्छ । कुनै दिन काठको फल्याकमा घिस्रेर गाउँदै हिडेका एक युवा अहिले ह्वीलचेयरमा डुल्छन् । भन्छन्, ‘देख्नेलाई म कमजोर छु भन्ने लाग्छ होला तर मलाई मेरो जिन्दगी अत्यन्तै सहज लाग्छ । बाँचुञ्जेल लोकगीत गाउन पाइयोस् । यही चाहना छ ।’
Advertisment
Advertisment