कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पाेखरा | बैशाख २२, २०८१
सिनेमा हलमा लागेका फिल्म हेर्न कहिल्यै छुटाएनन् पोखराका दिलप्रसाद गुरुङले । त्यो त उनलाई फिल्म हेर्ने वातावरण पनि सहजै बन्ने गर्थ्यो । माइला दाइ नै उनलाई फिल्म हल बोकेर जान्थे । बगर बस्ने उनका लागि कल्पना सिनेमा हल टाढा पनि थिएन ।
दिलको सिनेमा र अभिनयप्रति त्यसै समयबाट रुचि बस्यो । त्यो रुचि विस्तारै आफैँभित्र पस्यो । विसं २०४६-४७ सालअघि बगर नाटकको उर्वरभूमि थियो । डाँफे कला मन्दिरले बेलाबेला नाटक मञ्चन गरिरहन्थ्यो । दिलले नाटक प्रदर्शन गर्ने उक्त कला मन्दिरमा मञ्चन भएका नाटक हेर्न कहिल्यै छुटाएनन् ।
नाटकको रिहर्सल उनी लुकीछिपी हेर्थे । पृथ्वीनारायण क्याम्पसमै हुन्थ्यो रिहर्सल । उनकै घर छेउमा हुने रिहर्सल हेर्ने मौका दिल जुराइहाल्थे । रंगकर्मीलाई देख्दा–देख्दा उनमा अभिनयको मोह पलायो ।
‘रिहर्सल हेर्दा हामी पनि खेल्न पाए हुन्थ्यो भन्ने हुटहुटी हुन्थ्यो । यसैको फलस्वरुप एसएलसी दिने बेला आफैँ जानी–नजानी निर्देशन गरेँ,’ दिलले विगत सम्झिए ।
त्यसो त दिलले कक्षा १ मा पढ्दा दुईवटा नाटकमा काम गर्ने मौका पाएका थिए । विद्यालयमा हुने अभिभावक दिवसमा सानो नाटक प्रर्दशनी हुन्थ्यो । त्यसैमा खेल्ने मौका पाएका थिए उनले । त्यसपछि नाटकको रस उनमा झन् बस्यो । यतिसम्म एसएलसी पढ्दापढ्दै उनले दुईवटा नाटक आफैँ लेखेर विद्यालयमा मञ्चन गरे । प्रमुख कलाकार आफैँ बने । ‘अन्ध विश्वास’ र ‘बिर्खेको करामत’ यी दुई नाटक लेखेर उनले विद्यालयमा नाटक मञ्चन गरे । २०५३ सालको कुरा हो यो । जुन वर्ष उनले एसएलसी परीक्षा पास गरेका थिए ।
विद्यालयमै नाटक लेखेर मञ्चन गरेपछि उनमा हौसला पलाएको थियो । नाटक आफैँ प्रदर्शन गर्न सक्ने र भविष्यमा यसै क्षेत्रमा लाग्ने । उनको सपनामा केही समय तुष लाग्यो । एक्लो भरमा नाटकको शुरूवात असहज थियो । उनले साथ खोजे साथीको । तर पोखरामा नाटक हेर्ने माहोल बनिसकेको थिएन । देशमा द्वन्द्व शुरू भएर अशान्ति हुन थालेपछि डाँफे कला मन्दिरले नाटक मञ्चन छोडेको थियो । पोखराको नाटकले कला र कथामा विश्राम लिएको थियो । उनको इच्छाले पनि केही समय विश्राम माग्यो ।
नाटक नचल्ने भन्दै साथीहरूले दिललाई सो क्षेत्रमा लगानी नगर्न सुझाव दिए । बरु क्लबको कोषमा राख्न उनीहरू सुझाव थियो । त्यसपछि तत्कालै नाटक घरमा लगानी गर्ने उनको सपना सेलायो । ‘होइन केटा आजभोलि नाटक चल्छ र ? साथीभाइले मलाई यसो भने । नाटकको पैसा क्लबको कोषमा लगानी गर्न सुझाए । यसले गर्दा उनीहरूसँग मेरो कुरा मिलेन, त्यत्तिकै सेलायो । सेलाएर गएपछि मेरो इच्छा पनि मर्यो,’ उनले सुनाए ।
नाटक मञ्चन गर्न वा अभिनय गर्न नपाएपनि यसको रस दिलमा गडिसकेको थियो । रंगमञ्चको हुटहुटी उनको मनबाट हटेन । समयको संयोग पनि उस्तै बन्यो । लामो अन्तरालपछि उनलाई समयले रंगमञ्चमै फर्कायो । पोखराको एकमात्र थिएटर हाउसः पोखरा थिएटरको सञ्चालक बनेर । उनले आफ्नो रहर, इच्छा सपना र कलाप्रतिको झुकावले खोलेका छन्– पोखरा नाटक घर । कक्षा १ मा साइड रोल खेलेर नाटकको रस बसालेका दिलको आफ्नै नाटकघरमा मुख्य रोलमा प्रस्तुत हुँदासम्मको कथा रोचक र रमाइलो छ ।
दिलका बुवा मनबहादुर गुरुङ ब्रिटिश आर्मी थिए । आर्थिक अभाव थिएन घरमा । साथै छोरालाई यो गर्नैपर्छ भन्ने दबाब पनि भएन । बुवाको इच्छा थियो छोराहरू राम्रो पढुन्, नाम कमाउन् । उनले धन कमाउने सपना छोरालाई कहिल्यै देखाएनन् । यसले गर्दा दिललाई त्यो विशेष छुट बन्यो । दिलले पारिवारिक विशेषाधिकारबाट पाएको लाभले आफ्नो सपना पूरा गर्न सहजता पाए भन्दा फरक पर्दैन । यसलाई त उनी पनि स्वीकार गर्छन् । त्यसैले त उनी भन्छन्, ‘नाटकले कला, संस्कृतिको जगेर्ना गरेर समाजमा काम राम्रो गरेपनि त्यो कमाउने पेशा थिए । यस्तो क्षेत्रमा लगानीमा गर्दा पनि बाले चुप लागेर पैसा दिनुभयो, यसमा म दंग पर्छु,’ प्रफुल्लित उनी भन्छन् ।
दिलले बुवासँग विभिन्न क्षेत्रमा लगानी हाल्नका लागि पैसा मागेका थिए । तर, बुवाले खल्तीबाट कहिल्यै पैसा निकालेनन् । नाटक घर बनाउनका लागि भने उनले सहजै पैसा दिए । ‘नाटकमा लगानी खोज्ने पैसाका लागि भने म कहीँ भौतारिनु परेन,’ उनी भन्छन् ।
बुवा दिलको सपनामा महत्वाकांक्षी बनेर उभिदिए । बालापनको एउटा घटना सम्झन्छन् दिल– सानोमा नाटकमा अभिनय गर्न बक्सरको उनलाई सामग्री चाहियो । उनले बुवालाई किनिदिन आग्रह गरे । बुवा पनि छोराको रहरमा मख्ख पर्दै सामान किनेर नाटक हेर्न गए । नाटक हेरेर फर्किएपछि बुवालाई थाहा भो– नाटकमा छोराको भूमिका बक्सरको पसिना पुछ्ने थियो । साँझ खाना खाँदै गर्दा बाले हप्काए । मुख्य पात्रमा अभिनय नगरेको भन्दै उनले हप्काएका हुन् ।
‘थुक्क पसिना पुछ्नेमा पो रैछस् तँ त ! बेक्कार कपडा किनिदिएँ,’ बुवाले उनलाई यसै भनेर हप्काए । दिलले बुझे बुवालाई नाटक खेल्दा आपत्ति छैन । लिड रोल नगरेकोमा दुःखेसो मात्र छ ।
परिवारको साथ पाएपनि दिलले लामो समय आफ्नो सपनाबाट बिमुख भने हुनुपर्यो । बाटो भेउ पाउन सकेका थिएनन् उनले । त्यसैबीच २०६८ सालमा पोखराको एक रेडियोमा प्राविधिक (टेक्निसियन)का रुपमा काम गर्न थाले । रेडियोमा सन्देशमूलक नाटक प्रशारण गर्न शुरूवात गरे उनले ।
‘रेडियो नाटकमा गर्दागर्दै फेरि नाटकमा रहर लाग्यो मलाई । मनमा गुम्सिएर बसेको नाटकको रहर त्यतिबेला फुस्कियो,’ उनले सुनाए ।
घुम्दैफिर्दै दिल आफ्नो इच्छाको बाटो हिँड्न थालेका थिए । त्यसले उनलाई नयाँ बाटो लैजाउँदै गरेको उनले पत्तै पाएका थिएनन् । रेडियो नाटक प्रशारण गरिरहेका उनले एफएम छोडे । नयाँ कार्यक्षेत्रमा जाेडिँदा त्यहाँ सहकर्मीले प्रस्ताव गरे रेडियो नाटकको । सहकर्मीले बारम्बार नाटकको कुरा गरेपछि उनले झट्ट भने ‘म नाटक त गर्छु, तर स्टेजमा ।’
त्यस समयमा पोखरा सभागृहमा नाटक मञ्चन भयो । त्यतिन्जेल पोखरामा नाटक घर बनिसकेको थिएन । युथ क्रिएसनले बेलोबला नाटक भने मञ्चन गरिरहन्थ्यो । पोखरा सभागृह हल, उद्योग वाणिज्य संघका हल नाटक मञ्चन गर्ने थलो थिए । त्यसले पनि उनलाई रंगमञ्चप्रति मोह फर्काएको थियो ।
स्टेज नाटक गर्ने सहकर्मीसँगको गफगाफपछि परिवर्तन कार्कीसँग उनको भेट भयो । परिवर्तनको युथ क्रिएसनमा निर्देशकको भूमिकामा रहेका कृष्ण उदासीसँग चिनाजानी थियो । कृष्ण त्यतिबेला (पोखरा नाटक घर बनाउनुअघि) खम्बा बने । दिल र परिवर्तनको रहरमा उनले साथ दिए । चार जनाको टीमले नाटक मञ्चन नहुने कृष्णले बताए । त्यसपछि दिल र उनको समूहले जोडजाम गरे ।
कृष्णको साथ पाएपछि २०७३ सालमा नाटक मञ्चन भयो ‘पुलिस र प्यास’ । समूहको नाम राखे पञ्च अमृत नाट्य समूह । समूहमा सदस्य थपिए । उद्योग वाणिज्य हलमा नाटक मञ्चन हुने सल्लाह भयो । कुरा हुँदै गर्दा टेक्निकल टीममा परेको कुरा थाहा भयो । यो उनलाई चित्त बुझेन । स्टेज खोजेका उनलाई पर्दा पछाडि बस्न मनले मानेन । उनले नाटकमा भूमिका खोजे । त्यसपछि पाए जुवाडेको भूमिका । दर्शकले टिकट काटेर हेरेको दिलको पहिलो नाटक यही नै थियो ।
नाटक मञ्चनबाट फाइदा भयो । त्यही समूहले अर्को नाटक मञ्चन गर्यो– मौसम हराएको देश । त्यसलाई पनि कृष्ण उदासीले निर्देशन गरेका थिए । यसपालि नाटकले घाटा ब्यहोर्यो । तर, समूहले हार मानेनन् । उनीहरूले अर्को ‘एक रुपैयाँ’ नामक नाटक मञ्चन गरे । यसमा समूहलाई फाइदा भयो ।
त्यो बेलासम्म समूह छरपष्ट भइसकेको थियो । ‘एक रुपैयाँ नाटक मञ्चन गर्दासम्म । मौसम हराएको देश मञ्चन गर्नुअगाडि समूहले सार्वजनिक रुपमा एक वर्षमा नाटक घर निर्माण गर्ने घोषणा गरेका थिए । नाटक घर हेर्न चारजना काठमाडौं पुगे । दुई लाखको दरले समूहका व्यक्तिले लगानी गरे नाटक घर बन्छ भन्ने निष्कर्ष निकाले । त्यो बेलासम्म समूहमा संख्या पनि बढेको थियो । १० जनाभन्दा बढी पुगेका थिए । तर, समूह छरपस्ट हुँदा तीनजना मात्र नाटक घरका लागि लागत लगाउन तयार थिए ।
दिल र परिवर्तन नाटक घर बनाउन अडिग रहे । टीममा अर्को एकजना साथी पनि थिए । गैह्रपाटनमा जग्गा पाए । १० वर्षका लागि लिजमा लिए । दुई रोपनी जग्गामा नाटक घर ठड्याउन लागे । दुवैले खल्तीबाट पैसा हाले । पैसा नभएको भनेर तेस्रो व्यक्तिले बीचमै लगानी हाल्न हात उठाए । काम रोकियो । काम रोकिएपछि जग्गाधनी आए । जग्गाधनीले ३३ प्रतिशत शेयरको जिम्मेवारी उठाएर सहयोग गरे । ५० लाख लागतमा ठडियो पोखरा थिएटर । नाटक घर त ठडियो तर नाटक गर्नका लागि समूह थिएन । दिल र परिवर्तन मिलेर समूह आफैँ तयार गरे ।
साइड रोलदेखि निर्देशक र ‘धनीराम’सम्मको यात्रा
२०७४ सालमा नाटक घर निर्माण सम्पन्न भयो । फागुन २ गते नाटक घरको उद्घाटन भयो । सरभक्तद्धारा लेखिएको नाटक ‘शिरुमा रानी’ उद्घाटनको दिनमै मञ्चन भयो । दर्शकले नाटक घर खचाखच भयो । त्यसमा पनि उनले मुख्यमन्त्रीको सल्लाहकारको भूमिका निभाए ।
‘शिरुमा रानी’ पोखरामा एकदम राम्रो प्रदर्शन भयो । दर्शक चापाचाप,’ उनले खुशी हुँदै त्यो समय सम्झिए ।
‘शिरुमा रानी’ले दिललाई नाटकबारे धेरै सिकाएको थियो । उनी दिनप्रतिदिन रंगमञ्च क्षेत्रमा निखारिँदै थिए । नाटक घरकै सञ्चालक भएपछि उनीमाथि थप जिम्मेवारी थियो ।
‘शिखरमा पुग्नु ठूलो कुरा होइन । शिखरमा टिकिरहनु ठूलो हो । हल बनाउनु ठूलो होइन रहेछ । त्यसलाई सञ्चालन गरेर टिकाइ राख्न गाह्रो हुने रहेछ,’ उनले भने ।
दिलले २०७६ सालमा नाटकको निर्देशक आफैँ बने । उनले दीपक पराजुलीद्धारा लिखित नाटक ‘यो कस्तो महाभारत ?’ निर्देशन र मञ्चन गरे । यो नाटकमा उनी पर्दा पछाडि नै रमाए ।
उनले त्यसको चार वर्षपछि लिड रोल गरेर आफ्ना बुवालाई देखाए । २०८० मा मञ्चन भएको ‘धनीरामको गोरु’ नाटकमा मुख्य भूमिकामा थिए दिल । बुवाले सानोमा पोखेको दुःखेसो सम्झिइरहेका थिए उनले । त्यसैले उनले बुवालाई नाटक हेर्न जान प्रस्ताव गरे । नाटकमा छोराले अभिनय गरेको छैन कि भनेर शुरूमा बुवा जान मानेनन् । पछि दिलले आफू भएको जानकारी दिएपछि बुवा–आमा दुवैले हेर्ने रहर गरे । यसरी दिलले ३५ वर्षपछि बुवाकै अगाडि लिड रोल खेलेर नाटक देखाए । ‘३५ वर्षपछि लिड रोल गरेर धनीरामको गोरुमा मैले बुवालाई देखाएँ,’ सुसी हुँदै उनले भने ।
‘धनीरामको गोरु’ दिलको पहिलो लिड रोल नाटक भने थिएन । त्यसअघि ‘उर्वशी सुक्तमा’ नाटकमा उनी प्रमुख भूमिकामा देखिएका थिए । तर, त्यस समय आमा–बुवा दुवै विदेश थिए । नाटकमा बाँचिराख्न दिललाई बुवासँगै बहिनीले पनि साथ दिइन् । ‘बाबाको साथ त थियो नै । त्यसमा मलार्ई बहिनीको साथ बढी प्रिय बन्यो,’ उनले कृतज्ञता व्यक्त गर्दै भने । आम्दानी कम भएपछि दिललाई नाटकघरमा चाहिने लगानी उठाउनै गाह्रो भयो । यस्तो अवस्थामा बहिनीको साथ पाएको उनले बताए । ‘मलाई पैसाको खाँचो भए बहिनी सहायता गर्न अघि बढिहाल्छिन् । बुवाको लचिलोपनले पनि साथ दियो उनलाई,’ उनले भने ।
पोखरामा दिल र उनका साथीले खोलेको पोखरा थिएटरको आफ्नै विशेषता छ । यो पोखराको एकमात्र रंगमञ्च हो । पोखरा थिएटरले नाटकमात्र मञ्चन गर्दैन । कलाकारलाई आशा पनि दिइरहेको छ । नाटकघरबाट १२ जना शिक्षकको रुपमा विभिन्न विद्यालयमा पढाउन जान्छन् । उनीहरूका लागि यो आम्दानीको स्रोत बनेको छ । यो नाटकघरकै देन हो ।
यसबारे दिल भन्छन्, ‘नाटकमा समय ज्यादा दिनुपर्छ । दालभात तरकारी जुटाउनुपर्यो । दालभात खानेसम्म बनाउन सक्नुपर्छ भनेर हामीले तीनवर्ष जति भयो फुल टाइमर स्टाफ राखेका छौं । जो स्कूलमा पढाउन जान्छन् । यसले बाँच्ने आधार बनाएको छ ।’
पोखरामा अब छिट्टै अर्को नाटकघर थपिँदै छ । यसले नाटकघर सञ्चालनमा चुनौती थप्ने पक्का रहेको सरोकारवालाहरूको भनाइ छ । दिलको स्वच्छ तरिकाले नाटकघर सञ्चालन गर्ने योजना छ । यसका लागि उनले ड्रीम प्रोजेक्ट बनाएका छन् । पोखरालाई रंगमञ्चको हबका रुपमा स्थापित गर्ने उनको रहर छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...