
काठमाडौं, ८ चैत-आकर्षक तलबसहित कुवेत पठाउने भन्दै नेपाली युवासंग २० देखि ६० हजार रुपैयाँसम्म असुल्ने एक ठग म्यानपावर व्यवसायीलाई युवाहरूले वैदेशिक रोजगार विभागको कार्यालयभित्रै थुनेका छन् ।
करीब डेढ सयको संख्यामा रहेका युवाहरूले विभागको कार्यालय बुद्धनगर परिसरमै बजाज ओभरसिजको सञ्चालक बताउने राम सिंहलाई बिहीबार थुनेका हुन् ।
कुवेतको ग्लोबल एक्सन कम्पनीमा २ सय केडी (करीब ५५ हजार नेपाली रुपैयाँ) तलबसहित काममा पठाउनेभन्दै उनले ३ सय नेपाली युवाबाट पैसा असुलेका थिए । वैदेशिक रोजगार विभाग, राहत तथा उद्धार शाखाका निर्देशक शशिकुमार लम्सालले ठगीमा परेकाको संख्या अझै बढ्न सक्ने लोकान्तरलाई बताए ।
विभागका अनुसार सिंहको म्यानपावर कम्पनीको दुई वर्षअगाडि नै सम्बन्धन खारेज भइसकेको थियो । पीडित युवाले न्याय नपाए श्रम मन्त्री गोकर्ण विष्टलाई भेट्न जाने बताएका छन् ।
यसअघि मन्त्री विष्टले युवा ठग्ने म्यानपावरलाई नछाड्न सरकारी कर्मचारीलाई निर्देशन दिएका थिए । ठगीमा परेका युवा कमल कार्कीले म्यानपावरका ठगलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाए ।

