असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालले सामना गर्नुपर्ने चुनौतीहरू धेरै छन् । यथार्थपरक, स्पष्ट एवं राष्ट्रिय हितलाई ध्यानमा राखी योजनाहरू तर्जुमा गर्ने हो भने यस्ता अधिकांश चुनौतीहरू सम्बोधन गर्न सकिन्छ । तर यसरी योजना बनाई कार्यान्वयन गर्ने कुरा नै सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ । विकासका सम्भावना, आर्थिक लगानी र स्रोत अभाव नेपालको चुनौती होइन । यस सन्दर्भमा छलफल गर्नुपर्ने अवस्था आइसकेको छ ।
उक्त कुरालाई छलफलमा उठाउनुभन्दा पहिला नेपालले अहिले सामना गरिरहेका केही महत्त्वपूर्ण समस्याहरूका सम्बन्धमा केही चर्चा गर्नु आवश्यक छ ।
(१) नेपालमा बौद्धिक र बौद्धिकता दुवै कुराको चर्को खडेरी रहेको छ । यसको मुख्य कारण विदेशीहरूले उपनिवेश बनाएको हाम्रो शिक्षा प्रणाली हो । एउटा सानो बालक वा बालिकाको दिमागलाई सिर्जनात्मक र रचनात्मक हुन बन्देज गरिन्छ । उसलाई पश्मिीकरण गर्न सबै ज्ञान र साहित्य पश्चिमी जगत्को सिकाइन्छ । उसले नेपाली धरातलीय ज्ञान (इपिस्टेमी) को बारेमा केही जानकारी पाउँदैन । उसले जे सिक्छ त्यो उसले आफ्नो समाजमा पाउँदैन र उसले जुन समाजमा बस्नुपर्ने हो त्यसका बारेमा उसले केही जान्दैन । उसले नेपालको इतिहास जान्न पाउँदैन, उसले नेपालका सांस्कृतिक आयामहरू जान्न पाउँदैन, उसले नेपाली साहित्य र आफ्नो भाषा पनि जान्न पाउँदैन । त्यसैले उसमा नेपाली मनोविज्ञान र राष्ट्रियताको अनुभूति हुनै सक्दैन ।
(२) प्राथमिक शिक्षाबाट यसरी भत्काइएको उसको मौलिकता माध्यमिक तहसम्म आउँदा अराजकतामा परिणत भइसकेको हुन्छ । माध्यमिक तहमा आइपुग्दा विद्यार्थी सिर्जना र रचनाहीन विद्रोहीमा परिणत भएको हुन्छ । त्यसैले उसमा आमाबाबु, समाज, संस्कृति र साहित्यप्रति अनन्त विद्रोहको भाव रहन्छ । उसले आफ्नो परिवार, समाज, संस्कृति देश सबैलाई निकम्मा देख्छ ।
(३) त्यसैले विश्वविद्यालयहरू ज्ञान उत्पादन गर्ने केन्द्र बन्नै सक्दैन । विश्वविद्यालयमा पुगेका विद्यार्थीहरूमध्ये कति विद्यार्थी संगठनमा पुगेका हुन्छन्, र उनीहरू पढाइ होइन राजनीतिका नाममा, विद्यार्थीका हितका नाममा, आफ्नो आन्दोलनका नाममा आफूमा बौद्धिकता सिर्जना गर्न छोडेर निरन्तर संस्थाकाविरुद्धमा विद्रोहको मनोविज्ञान निर्माण गर्दछन् ।
अरु कतिपय कसैको प्रभावमा, कसैको आर्जनका लागि विदेशको सपनामा दौडिन्छन् । उनीहरूको पनि आफूमा बौद्धिकता सिर्जनाको अभियानबाट बाहेक हुन्छन् । अरु कतिपय अलमलमा हुन्छन् ।
विश्वविद्यालयहरूको काम ज्ञान उत्पादन गर्ने हो । त्यसैले अनुसन्धानका कार्यहरू नै त्यहाँको मूल काम हो । तर विश्वविद्यालयमा, नेपालमा यस्तो कार्य हुँदैनन् । विद्यार्थी कक्षामा आउँदैनन् । कक्षामा विद्यार्थी नआउँदा राम्रो हुन्छ शिक्षकलाई, किनभने उसले पढाउनु पर्दैैन । पैसा कमाउने कथित शिक्षण संस्था जो मालिकहरूले लगानी गरेका छन्, उनीहरूको ध्येय त पैसा कमाउनु हो । त्यसैले नेपालको वर्तमान चुनौतीको मूल जरो त शिक्षाको निकम्मापन हो । यसको निकम्मापनले नै हो ।
(क) नेपाली बौद्धिक र कर्मचारी भनिएका मानिसमा विज्ञता नै छैन । उसले सिर्जनात्मक काम गर्नै सक्दैन ।
(ख) राष्ट्रको आर्थिक सामाजिक विकासका लागि पर्याप्त समालोचनात्मक (क्रिटिकल) र प्रस्ट दृष्टिकोण भएका प्राज्ञिक/बौद्धिक मानिसको आवश्यकता पर्दछ । नेपालमा त्यसको पनि खडेरी छ ।
(ग) रचनात्मक, समालोचनात्मक एवं निर्भिक मानिसले मात्र राष्ट्रको हितमा काम गर्दछ । तर नेपालमा यो अप्राप्य छ । त्यसैले कोही गैरसरकारी संस्थामा विदेशीको पैसा हात थापेर, कोही छोराछोरीलाई विदेशी स्थायी भिसाको खोजीमा, कोही विदेश डुलेर आनन्द लिन प्रत्येक मिनेट नेपालको बिक्री गरिरहेका छन् ।
(घ) जब बौद्धिकता र देशभक्ति ओइलाउँछ, तब उत्पादकत्व पनि ह्रास हुन्छ । त्यसैले देशमा उत्पादकत्वको पनि खडेरी छ । जब उत्पादकत्व ह्रास हुन्छ, तब व्यक्ति उपभोक्तावादको सिकार हुन्छ ।
(४) त्यसैले के स्पष्ट देख्न सकिन्छ भने नेपाल स्तरहीन शिक्षाको सिकार भएको छ । स्तरहीन शिक्षा पनि व्यापारिक वस्तु भएको छ । व्यापारले शिक्षाको नैतिकता भत्काएको छैन । नैतिकताविहीन शिक्षाले व्यक्तिमा आत्मसम्मान र स्वमर्यादामा ह्रास ल्याउँछ । जब व्यक्तिले आफैँलाई सम्मान गर्दैन, उसले अरुलाई पनि सम्मान गर्न जान्दैन । किनभने अरुलाई सम्मान गर्न पहिला आफूलाई आफ्नो सम्मानको लोभ हुनुपर्छ । मर्यादा र सम्मानहीन मानिसमा ‘देशभक्ति’ को भावना नै हुँदैन । त्यसैले ऊ आफ्नो देशप्रति बफादार हुँदैन । उसले न त देशको विकासका बारेमा सोच्छ, न त आफ्नो विकासको बारेमा ।
(५) जब ‘देशभक्ति’ मर्दछ, राष्ट्र पनि मर्छ । नेपाल अहिले यस तहमा आइपुगेको छ । अहिले नेपालीहरू राष्ट्रको अस्मिता बिक्री गर्न आपत्ति मान्दैनन् ।
(क) नेताहरू विदेशीको हदैसम्मको चाकरी गर्दछन् । उनीहरू जुनसुकै नियतले जेसुकै लिन पनि तयार छन् । उनीहरू कमजोर भेडाबाख्राको खाना र आवासको व्यवस्था गर्न सक्दैनन्, तर कहिलेकाँही ब्वाँसाहरूले नेपालमा हस्तक्षेप गरे पनि वक्तव्य निकाल्छन् ।
(ख) नेपाल पढेलेखेका थुप्रै मानिस दातृसंस्थाका अगाडि हात फैलाएर प्रोजेक्ट र विदेश भ्रमणको सहयोग माग्दछन् । उनीहरू देशमै आवश्यक ज्ञान र संस्थाहरू निर्माण गर्न चाहँदैनन् ।
(ग) कर्मचारीहरू देशका सूचना विदेशीलाई बिक्री गर्दछन् । उनीहरू दलका कर्मचारी बनेका छन् । यी सबै चुनौतीहरूलाई संश्लेषण गर्दा भन्न सकिन्छ ।
(१) नेपालको शिक्षा नेपालकै इतिहास, संस्कृति र गौरवविरोधी जगमा खडा भएको छ । यस शिक्षाको निर्माणमा एकातर्फ नेपाललाई ध्वस्त पार्ने अवान्छित विदेशी तत्वलाई साथ दिने भ्रष्ट मनोविज्ञान भएका नेता र कर्मचारी छन् । अर्कातिर शिक्षाको व्यापार गर्ने व्यापारी छन् ।
(२) कमजोर, राष्ट्र र समाजविरोधी शिक्षा प्रणालीले नेपाली स्वाभिमान बोक्ने देशभक्तिमाथि ठूलै घात गरेको छ । त्यसैले अर्को चुनौती भनेको दशेभक्तिको गिर्दो मनोविज्ञान हो ।
(३) गलत, राष्ट्रविरोधी शिक्षा र त्यसले जन्माएको ह्रासोन्मुख देशभक्तिले देशको उत्पादन प्रणाली भत्किएको छ । पहिलो कुरा त ‘उत्पादकत्व’ नै निर्माण भएको छैन । त्यसमा पनि अलिअलि पलाएको उत्पादकत्व पनि विदेशीका लागि प्रयोग भएको छ ।
यी चुनौतीका परिणामहरू
अहिलेसम्म तीनवटा कारणले नेपाल अस्तित्वमा रहेको छ । तर यसको अवस्था क्षयरोग लागेको मानिसको जस्तो छ, जो निरन्तर खोकिरहन्छ । ऊ मर्छ ,त्यो निश्चित छ । तर औषधि गर्न सके ऊ फेरि तन्दुरुस्त हुन सक्दछ । जसरी त्यो रोगी मानिसका लक्षणहरू हुन्छन्, त्यस्तै लक्षणहरू वर्तमान नेपालका पनि छन् ।
(१) नेपाल चरम आर्थिक भेदभावको लक्षणबाट ग्रस्त छ । किसानहरू, कामदारहरू तथा तल्लो आर्थिक तप्काका मानिसहरूले सास फेर्न पनि कर तिर्नुपर्छ । पानी पिउन पनि कर तिर्नुपर्छ । खानामा पनि कर तिर्नुपर्छ । अर्थात् गरीबले बाँच्न कर तिर्नुपर्छ । किसानले खेतको कर तिर्नुपर्छ । उत्पादन गर्न बीउ र मलमा कर तिर्नुपर्छ र उत्पादन बजार लैजाँदा बेच्दा पनि कर तिर्नुपर्छ ।
यी यस्ता गरीब किसानहरूको वार्षिक व्यय शक्ति अठार हजार मात्र छ । अर्थात् उनीहरू प्रत्येक व्यक्तिले वर्षमा जम्मा १८००० मा जीवनयापन गर्नुपर्छ । तर शासकहरू अब नेपालमा थोरै मानिस मात्र गरीब छन् भन्छन् । देशको कूल आयको ३/५ प्रतिशत यी गरीबका लागि खर्च हुन्छ । तर देशका धनी २० प्रतिशतले ५५ प्रतिशत लगानी प्राप्त गर्दछन् ।
(२) शिक्षामा गरिएको लगानी निरर्थक भइरहेको छ । सम्पन्न वर्गका मानिसहरू आफ्ना सन्तान निजी स्कूलमा पढाउँछन् । यिनै निजी स्कूलका विद्यार्थीहरू प्राविधिक, चिकित्सक, इन्जिनियर, वकिल र व्यवस्थापक बन्छन् । गरीब पढ्न पाउँदैनन् । उनीहरू दास जस्तै विदेशीका सेवामा लाग्छन् ।
(३) कर्मचारीतन्त्र भ्रष्टाचारको पर्याय भएको छ । कर्मचारीहरू राजनीतिक संगठन चलाएर राजनीतिक दलहरूसँग मिलेर राजनीति गर्दछन् । उनीहरू जनताका सेवक होइन मालिक बनेका छन् ।
(४) राजनीतिक नेताहरूका लागि राजनीति व्यवसाय बनेको छ । यहाँ पार्टी खोलेर बसेका एउटै पार्टीका मानिसहरूमा पदको किनबेच हुन्छ । देशको ढुकुटी लुट्नु पर्ने भएकोले पार्टीहरूमा ‘गुटहरू’ निर्माण हुन्छन् ।
(५) न्यायपालिका गैरसरकारी संस्थाले चलाएका छन् । वकिलहरू भित्रै दलाली गर्ने वकिल ठूलो र महत्त्वपूर्ण भएको छ ।
(६) सार्वजनिक यातायात मृत्यु लिलाम गर्ने केन्द्र बनेका छन् ।
(७) अस्पतालहरू मृत्यु बेच्दछन् ।
अब के गर्न सकिन्छ त ?
यस प्रश्नको उत्तर खोज्नेहरू नै निराशाको सिकार हुनुपर्ने खतरा देख्न थालिएको छ । यस प्रश्नको उत्तर दलाली गर्ने, विदेशीको चाकरी गर्ने, विदेशीको पैसा लिएर नेपालीहरूमा विभाजन गर्ने र धर्म संस्कृतिको नाश गर्ने मानिसले खोज्न सक्दैन । सशक्ति वृत्तभित्रको मानिस पनि हुँदैन । उसले सरकारका नीति निर्माणमा भूमिका पनि खेल्न सक्दैन, उसको पहुँच पनि हुँदैन ।
त्यसैले यी चुनौतीको डर र समस्याको डंगुर देखेर ऊ आफैं निराश हुन सक्तछ । यद्यपि देशलाई जोगाउने मानिसहरू यस प्रश्नको उत्तर खोज्नेहरू नै हुन् । माथि भनियो कि, यो देशको अस्तित्व तीनवटा कारणले रहेको छ ।
ती हुन् :
(१) पहिलो कारण हो अहिले पनि चुनौतीलाई चुनौती दिने र समस्यालाई परिवर्तनको ऊर्जामा बदल्ने मानिसहरू समाजमा थुप्रै छन् ।
(२) अहिले पनि देश बेच्नेहरूलाई नाङ्गो बनाउने र त्यसलाई दुत्कार गर्ने मानिसहरू छन् ।
(३) नेपालीहरूसँग समस्यासँग जुध्ने र एकपटक लडेपनि फेरि उठेर लड्ने ‘पुनर्ताजगी’ को गुण यथावत् छ, थुप्रैमा । अर्थात् सबै मानिस बेचिएका छैनन् । तर समस्याहरू र चुनौतीबाट अनभिज्ञ छन् । यदि यस सकारात्मक पक्षलाई हेर्ने हो भने, हामीले देशको निर्माणको खाका बनाउने र त्यसलाई लागू गर्न सामाजिक आन्दोलनको निर्माण गर्नुपर्दछ ।
१. नेपालीहरू आफ्नो राष्ट्रको इतिहासलाई जोगाउँदै आत्मसम्मान र आत्मगौरवपूर्ण ढंगले जीवनयापन गर्ने हो भने सबैभन्दा पहिला आधारभूत आवश्यकताको परिपूर्तिमा आत्मनिर्भर हुने उद्यमशीलताको बाटो हिँड्नै पर्छ । यसको तात्पर्य हो कृषिको आधुनिकीकरण र कृषि उत्पादन वृद्धिका लागि कृषि उत्पादकत्वको विकास गर्नु ।
नेपालको वर्तमान अर्थतन्त्रको जग कृषि नै हो । तर नवउदारवादी कार्यक्रम बोकेका नेपालका वामपन्थीहरू ‘कृषिको विकास र औद्योगिकीकरण’ होइन निजी क्षेत्रको विकास र ‘विदेशी जोडजाड’ उद्योगहरूलाई असीमित बैंकिङ ऋण लगानी गर्नुपर्ने मान्यता राख्दछन् । नेपालमा कृषिमा लगानी गर्ने पुँजीको अभाव छैन ।
नेपालमा कृषि उत्पादनको खपतको अभाव पनि छैन । अतः कृषि उत्पादनका क्षेत्रमा लगानीद्वारा उत्पादनमा आत्मनिर्भरता निर्माण गर्ने हो भने, करीब एक खरबको आयात तत्काल प्रतिस्थापन गर्न सकिन्छ । कृषिको यस्तो आधुनिक विकास र उत्पादनले नेपाली युवाहरूको विदेश पलायनलाई नियन्त्रण गर्न सकिन्छ ।
छोटो समयमा कृषि उत्पदनलाई उन्नत बनाउने औद्योगिक प्रतिष्ठानहरू निर्माण गरी लाखौं रोजगारी र उन्नत उत्पादनलाई विदेशी बजारमा पुर्याइ निर्यातको प्रवर्द्धनद्वारा थप आयात प्रतिस्थापित गर्न सक्ने अवस्था निर्माण गर्न सकिन्छ । अहिले तत्काल करीब एक खरब रूपैयाँ बराबरको खाद्यान्न आयात भइरहेको छ । दश अरबभन्दा बढीको मासु आयात भइरहेको छ । दश अरबभन्दा बढीको तरकारी र फलफुलको आयात भइरहेको छ ।
व्यापार घाटालाई सम्बोधन गर्ने र आयात प्रतिस्थापनका लागि कषि उत्पदनमा आत्मनिर्भर बन्नेतर्फ किन सरकारको ध्यान गइरहेको छैन ? किन अन्य क्षेत्रको औद्योगिकीकरणलाई प्राथमिकताको कुरा भइरहेको छ ? त्यसैले देशको देशभक्त बौद्धिक जमातले स्वयम् जनतालाई आफ्नो घर घरमा बजारबाट कृषि उत्पादन आयात गर्ने प्रवृत्तिलाई रोकी आत्मनिर्भरतातर्फ लक्षित रहने चेतनाको अभियान तुरुन्तै थाल्नुपर्ने आवश्यकता छ ।
(२) कृषि पेसालाई अपमानित पेसाको रूपमा प्रस्तुत गर्ने, अल्प अव्यावहारिक र राष्ट्रको गौरव विरोधी मनोविज्ञान निर्माण गर्ने वर्तमान व्यापारिक शिक्षालाई परिवर्तन गर्नु आवश्यक छ । शिक्षाको आमूल परिवर्तन विना नेपाली नागरिकहरूको उत्पादकत्वपूर्ण क्षमताको विकास गर्न कदापि सम्भव छैन । अतः शिक्षालाई प्रविधिमूलक बनाउने प्रयोजनका लागि कृषि, वनपैदावार, पशुपालन जस्ता क्षेत्रको विकासका लागि व्यावसायिक शिक्षाको प्रवर्द्धन गर्नु पर्नेमा सरकारी निकायहरू उत्पादनहीन स्कूलहरूका भवन, शिक्षक तालिम, पाठ्यपुस्तक प्रकाशन र कर्मचारी व्यवस्थामा अरबौं खर्च गरिरहेका छन् । यस्तो शिक्षाले उत्पादन गरेको जनशक्ति ‘स्युडो’ बौद्धिक बनी गैरसकारी संस्थाको सञ्चालन गर्न र जानी नजानी नेपाललाई विभाजन गर्ने विदेशी संस्थाको ‘मोहरा’ बन्न पुगेको अवस्था छ ।
(३) ‘राष्ट्रको विकास’ जनताको देशभक्तिको भावनालाई उजागर नगरी केवल दिवा सपना बन्न पुग्छ । देशभक्तिको उजागर दुई कारणले अनिवार्य हुन्छ । पहिलो हो, देशभक्त उद्यमी, उद्योगपति, कृषक आदिले मात्र व्यापार, व्यवसाय र बजारको नैतिकतालाई कायम राख्न सक्तछ । अर्कातिर देशभक्त नागरिकले मात्र देशलाई विदेशी खेलको दुष्चक्रबाट जोगाउन सक्तछ ।
देशको आर्थिक विकास भनेको अर्थतन्त्रको उन्नत व्यवस्थापन गर्नु मात्र होइन । ‘सामाजिक रूपान्तरण’ आर्थिक विकासको मूल लक्ष्य हो । अतः आर्थिक विकासको सबल आधार तयार गर्ने हो भने, प्रत्येक नागरिकलाई ‘राष्ट्रिय अनुशासनको दायरामा राख्नुपर्छ’ । यसले भेद्भावलाई अन्त गर्छ । नेपालको जनसंख्याको आधा हिस्सा महिला एवं दलितहरूमाथिका सामाजिक भेद्भावलाई उन्मूलन गरी उनीहरूलाई उत्पादनको औपचारिक क्षेत्रमा सरिक गराउने हो भने, पहिलो देशभक्तिपूर्ण अनुशासनलाई राज्यले प्राथमिकताका साथ विकासको एजेन्डामा समावेश गर्नुपर्दछ ।
(४) नेपालको वर्तमान करीब आठ खरबको व्यापार घाटाको मुख्य कारण पहिल्याउनु आवश्यक छ ।
बुँदागत रूपमा भन्ने हो भने यसरी राख्न सकिन्छ : (क) सन् १९९० बाट लादिएको नव उदारवादले नेपाली उपभोक्ता र बजारतन्त्रलाई पूर्णरूपमा पथभ्रष्ट बनाइसकेको छ । नव उदारवादले आयातमा ढोका पूरै खोलेको छ । तर निर्यातमा संरक्षणवादी विकसित देशहरूले नेपाल जस्ता देशलाई बजारको ढोका पूरै बन्द गरेका छन् ।
(ख) आफ्ना नागरिकलाई खपत कम गर्ने अनेकौं संयन्त्रहरू प्रयोग गर्ने विकसित देशहरूले आफ्ना निम्न कोटीका सामानहरू नेपाली बजारमा थुपारेका छन् । एकातिर पश्चिमी संस्कृतिको प्रभाव फैलाएर बेलुका रक्सी र मासु खानै पर्ने बानी बसाइदिएका छन्, अर्कातिर नानाथरीका स्वास्थ्य हेरबिचारका सामाग्री बजारमा थुपारेका छ । यस अतिउपभोगवाद खोक्नका लागि राज्यले अर्थतन्त्रको नीतिमा विशेष व्यवस्था गर्नुपर्ने हुन्छ ।
(ग) विकृत अतिउपभोक्तावादकै कारणले नेपालमा रक्सी र बीयर अनि रासायनिक पेय पदार्थको उत्पादनले रेकर्ड तोडेको अवस्था छ । यसलाई नियन्त्रण गर्न सकेमात्र अर्बौंको आयात प्रतिस्थापित गर्न सकिन्छ ।
तर पश्चिमी वित्तीय संस्थाहरूको प्रभावमा परेको नेपालको कर्मचारीतन्त्र, राजनीतिक नेता र सभ्रान्तहरूले जनपक्षीय अर्थतन्त्रको विकासको बाटो हिँड्न देलान् भन्ने कुरामा शंका गर्नुपर्ने अनेकौं आधारहरू छन् । पहिलो कुरा त नेपालका अर्थशास्त्रीहरू अधिकारमुखी विकासको अर्थतन्त्रका पक्षमा उभिन नै चाहँदैनन् ।
‘म्याक्रो’ अर्थात बाहिरी खुल्ला अर्थतन्त्र विकास भयो भने, त्यसबाट बिस्तारै धनी हुन थाल्छन् भन्ने ‘दृष्टिकोण बोकेका अर्थशास्त्रीहरूले नेपाली अर्थनीतिलाई हातकडी लगाएर राखेका छन् ।
यस्तो अर्थतन्त्रले ‘देशलाई धनी बनाई गरीबलाई’ धनी बनाउने सपना बोक्दछ । यो धनीहरू र विकृत पुँजीपतिले समाजमा आफ्नो अधीन राख्न निर्माण गरेको तुरूप मात्र हो । यसकै परिणाम हो हाम्रा अर्थशास्त्रीहरू देशका सबै धनीहरूको धन जम्मा गरी जनसंख्याले भाग गर्दछन् र प्रत्येक गरीबसँग ‘८१४’ डलर वार्षिक आम्दानी छ भनी घोषणा गर्दछन् ।
वास्तविकता के हो भने विकासको पहुँच प्रत्येक परिवारलाई प्राप्त हुनुपर्दछ । विकास नेपाली नागरिकको अधिकार हो । यो राज्यको खेल होइन । प्रत्येक नेपाली नागरिक धनी भएमात्र नेपाल राज्य धनी हुन्छ । अतः प्रत्येक नागरिकलाई धनी बनाउने हो भने (१) प्रत्येक व्यक्तिको शरीर र व्यक्तित्वको अकुण्ठित सुरक्षाको व्यवस्था राज्यले गर्नुपर्छ ।
जुनसुकै समयमा काम गर्दा पनि व्यक्तिको जीवनको सुरक्षाको प्रत्याभूति हुनुपर्छ । तर यसतर्फ राज्यले किन्चित ध्यान दिएको छैन । सवारी दुर्घटना, अपराध आत्महत्या, चिकित्सकको लापरवाही, विषयुक्त खाद्यान्न जस्ता कुराले बर्षेनी हजारौ मानिस मरिरहेका छन् । सुत्केरी हुन नसकेर मर्नेको संख्या त्यति नै छ । बलात्कारका घटना उत्तिकै बढिरहेका छन् ।
(२) प्रत्येक व्यक्तिलाई आफ्नो उत्पादकत्वलाई प्रवर्द्धन गर्ने उचित शिक्षाको व्यवस्था राज्यले गर्नुपर्दछ ।
(३) प्रत्येक व्यक्तिलाई या त उत्पादनको साधन, या सिप या रोजगारी राज्यले दिनुपर्छ ।
(४) प्रत्येक व्यक्तिलाई आफ्नो व्यवसाय रोज्ने अधिकार पनि राज्यले दिनुपर्छ । यी आधारभूत चारवटा अधिकारबाट व्यक्तिलाई सम्पन्न गर्नु नै गरीबीको रेखाभन्दा व्यक्तिलाई माथि ल्याउनु हो । यस अधिकारवादी विकासको अवधारणाले केही महत्त्वपूर्ण एवं आधारभूत सिद्धान्तहरूको कार्यान्वयनको माग गर्दछ ।
(१) व्यक्ति र समाजको समानान्तर विकासको सिद्धान्त पहिलो सिद्धान्त हो । समाजले अवसर सिर्जना गर्दछ र व्यक्तिले क्षमता अभिवृद्धि गर्दछ । अवसरको निर्माण गर्न समाजमा विकासका संरचना निर्माण गरिन्छ । जस्तै स्कूल, बाटो, बिजुली, अस्पताल इत्यादि । यी अवसरको सदुपयोग गर्दै व्यक्तिले क्षमता प्रवर्द्धन गर्दछ । जस्तै व्यक्तिले बिजुली प्रयोग गरी उत्पादन गर्दछ ।
(२) आधारभूत दिगो स्रोतको सिद्धान्त दोस्रो सिद्धान्त हो जसले व्यक्तिलाई उत्पादनको लागि पदार्थ प्रदान गर्दछ । तर यस्तो स्रोत दिगो हुनुपर्दछ ।
यी दुवै सिद्धान्तले कृतिको आधुनिकीकरणलाई नेपालको विकासको प्राथमिकता हो भन्ने देखाउँछन् । तर नेपालका अहिलेसम्मका कुनै पनि सरकारले कृषिको आधुनिकीकरण लाई प्राथमिकता दिएनन् । अहिले पनि सरकारको प्राथमिकता कृषिको आधुनिकता र उत्पादन वृद्धितर्फ मुखरित भएको पाइएको छैन । अब प्रत्येक नेपालीले त्यसतर्फ ध्यान केन्द्रित गर्नु आवश्यक छ ।
नेपाललाई गरीबी, विदेशी र अराजकताको कुचक्रबाट जोगाउने हो भने, हामी नेपालीले आर्थिक विकासको अभियानलाई अबको आन्दोलन बनाउन सक्नुपर्छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...