२९ जेठ २०८३, शुक्रबार

राम्रो काम गरेर फर्किएकाले फेरि कोरिया जान पाउने, यस्तो छ प्रक्रिया

बैशाख १९, २०७५
राम्रो काम गरेर फर्किएकाले फेरि कोरिया जान पाउने, यस्तो छ प्रक्रिया

काठमाडौं, १९ वैशाख– ‘कम्प्युटर बेस्ड टेस्ट’ (सीबीटी) मार्फत कोरिया जानेहरु यही वैशाख १९ गते परीक्षामा सामेल हुँदैछन् । पहिलो पटक कोरिया गएर आइसकेका र पुनः जान चाहनेहरुको लागि लिइने परीक्षा सीबीटी हो । 

सीबीटीमार्फत कोरिया जानको लागि कुल ३ हजार १सय६३ जनाले आवेदन भरेको इपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालले लोकान्तरलाई जानकारी दिए । तीन हजार भन्दा बढीको आवेदन आएको भए पनि करिब ५० प्रतिशतले मात्र कोरिया जाने अनुमति पाउन सक्ने खनालको भनाइ छ ।

कोरियाका रोजगारदाता कम्पनीहरुले यस अघि राम्रो काम गरेका कामदारलाई पुनः कोरिया बोलाउन सक्ने प्रावधान यो वर्षदेखि ल्याइएको हो ।

सीबीटीमार्फत पुनः कोरिया जान चाहनेहरुलाई त्यहाँको रोजगारदाता कम्पनीले सिफारिस गर्नुपर्ने हुन्छ । उनीहरुले लिखित परीक्षा दिनु पर्दैन । यो भन्दा अगाडि कोरिया जानको लागि लिखित भाषा परीक्षा पास गर्नुको विकल्प थिएन । सीबीटीमार्फत कोरिया जान चाहनेहरु न्यूनतम एक वर्ष कोरियामा काम गरेर फर्केको हुनुपर्छ ।

इपिएस प्रमुख खनालका अनुसार पहिलो पटक भाषा परीक्षा पास गरेर गएका कामदारहरुलाई रोजगारदाता कम्पनीले एउटा रोस्टर कायम गरेर राखेको हुन्छ, जसमा कसले कस्तो काम गरेको छ भनेर उल्लेख गरिन्छ ।
 त्यसैको आधारमा राम्रो काम गर्नेहरुले आफ्नो श्रम सम्झौता सकिएर नेपाल फर्किसकेपछि पनि पुनः कोरिया जानको लागि आवेदन दिन सक्नेछन् ।

नियमित भाषा परीक्षा कहिले हुन्छ ? 

नेपालबाट नयाँ कामदार पठाउनको लागि वैदेशिक रोजगार विभागले गत चैत ८ देखि १७ गतेसम्म अनलाइन आवेदन खुला गरेको थियो । अनलाइन परीक्षा आवेदन भर्न सबैभन्दा पहिला ग्लोबल आइएमई बैंकमा २४ अमेरिकी डलर बुझाएको भौचर र पासपोर्ट नम्बर आवश्यक पर्ने गर्छ । २०१९ को लागि करिब ८३ हजार जनाले कोरिया जानको लागि आवेदन फारम भरेका थिए, जसमध्ये करिब ७१ सय जनालाई कोरियाले रोजगारी दिनेछ ।

पहिलोपटक कोरिया जानको लागि आवेदन फारम भरेकाहरुको लागि भने जेठ २६ र २७ गते लिखित भाषा परीक्षा हुने तय भएको छ । उनीहरुलाई पीबीटी अर्थात ‘प्रोफिसिएन्सी बेस्ड टेस्ट’ भन्ने प्रक्रिया अन्तर्गत लगिन्छ । उनीहरुको भाषा परीक्षा लिखित हुन्छ ।

परीक्षा समिति कस्तो हुन्छ ? 

पीबीटी अर्थात लिखित भाषा परीक्षा कोरियन प्रतिनिधीहरुले नै लिने भएता पनि त्यसमा अनियमितता हुन नदिन र राम्रोसंग सुचारु गर्नको लागि एउटा निर्देशक समिति बनाइएको हुन्छ  । जसको अध्यक्षता श्रम मन्त्रीले गर्छन् । 

त्यस भन्दा तल अर्को परीक्षा समिति हुन्छ जसलाई श्रम मन्त्रालयको सचिवले संयोजन गरेका हुन्छन् । सो परीक्षा समितिमा प्रमुख जिल्ला अधिकृतसहित गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट पनि सदस्यको रुपमा सामेल हुन्छन् । परीक्षा समितिले समन्वय गर्ने काम गरिरहेको हुन्छ । यही आर्थिक वर्षदेखि निर्देशक समितिले पोखरामा पनि भाषा परीक्षा संचालन गर्ने निर्णय गरेको छ ।

प्रक्रिया कस्तो हुन्छ ?

भाषा परीक्षा पास गर्नेहरुलाई कोरियाका रोजगारदाता कम्पनीहरुले छनोट गर्दछन् । उनीहरुले कामदार छनोट गर्ने कुनै मापदण्ड भने छैन । त्यसपछि लेबर कन्ट्रयाक्ट बनाएर उताको रोजगारदाता कम्पनीले सही गरेर नेपाल पठाइदिन्छ । इपिएस कोरिया शाखाले त्यो भाषा परीक्षामा पास भएकाहरुलाई बोलाएर लेबर कन्ट्रयाक्टमा सही गराएर उता पठाइदिन्छ । त्यसपछि भिसाको प्रक्रिया शुरु हुन्छ । कोरियाको सरकारले दूतावासमार्फत भिसाको लागि ‘सिसिबीआइ’ फारम भरिसकेपछि पास भएका आवेदकहरुको पासपोर्ट जम्मा गरेर दूतावास पठाइन्छ ।

खर्च कति लाग्छ ?

सीसीबीआइ भैसकेपछि आवेदकहरुलाई एउटा अर्को फारम भर्न लगाइन्छ । भिसा शुल्कको रुपमा पास भएका कामदारहरुबाट प्रतिकामदार रु ६००० लिइन्छ र त्यसपछि उनीहरुले मेडिकल चेकअप र अभिमुखीकरण तालिमको लागि क्रमश ५६ र ४६ डलर तिर्नुपर्ने हुन्छ । 

मेडिकल चेकअपको लागि टेकु अस्पताल, निजामति अस्पताल या पाटन अस्पताल मध्ये कुनै एउटा अस्पताल छान्नु पर्छ भने भैंसेपाटी तालिम केन्द्रमा गएर अभिमुखीकरण तालिम लिन सकिनेछ । 

माथिका प्रक्रिया सकिएपछि कामदार आफैंले हवाइजहाजको टिकट लिनुपर्ने हुन्छ । करिब एक लाख भित्र आवेदकले सबै प्रक्रिया गर्न सक्ने शाखा प्रमुख खनाल बताउँछन् ।

मेडिकल गर्न जानेहरुले कोरिया मैत्री क्षयरोग अस्पतालबाट क्षयरोगको पनि परीक्षण गराउनुपर्ने हुन्छ ।

सीबीटीमार्फत पुनः कोरिया जान चाहनेहरुले कम्प्युटर टेस्ट दिनुपर्ने हुन्छ भने पिबिटीमार्फत पहिलो पटक कोरिया जान चाहने कामदारहरुले लिखित भाषा परीक्षा दिनुपर्ने हुन्छ । 
त्यसपछिका सबै प्रक्रियाहरु लगभग उस्तै हुने कोरिया शाखा प्रमुख खनाल बताउँछन्।

कति नेपाली गए कोरिया  ? 

कोरियामा नेपाल सरकारले नै कामदारहरु पठाउने गरी २००८ मा भएको सम्झौता पछाडि अहिलेसम्म ४ लाख जातिले भाषा परीक्षाको लागि आवेदन दिएका छन् भने करिब ५७ हजार पुरुषले सो भाषापरीक्षा पास गरेका छन् । भाषा परीक्षा पास गर्ने महिलाको संख्या भने १० प्रतिशत भन्दा कम अर्थात ५५ सय मात्र रहेको छ । अर्थात ४ लाख मध्ये कूल ६२ हजार ५ सयले मात्र भाषा परीक्षा पास गर्न सफल भएका छन् ।

भाषा परीक्षा पास भएका मध्ये जम्माजम्मी ६१ हजार जतिले‘जब एप्लिकेसन फारम’ भरेका थिए । तर ति मध्ये जम्मा ५१ हजार एक सय मात्र कोरिया पुगेर काम गरेको तथ्यांक रहेको खनालले लोकान्तरलाई बताए ।

हालसम्म कति नेपाली कोरियामा अवैधानिक बसेका छन् त भन्ने प्रश्नमा खनालले आफूलाई कुनै जानकारी नभएको बताए । तर विभिन्न रिपोर्टहरुका अनुसार  अवैधानिक रुपमा कोरिया बस्नेको संख्या करिब ५ हजारको हाराहारीमा छन् ।  कोरियामा बस्ने अवैधानिक नेपालीहरुको संख्या बढ्नु त्यति राम्रो नभएको बताउँदै खनालले उक्त संख्या बढ्दै गएमा कोरियाले नेपाली कामदार कटौती गर्न सक्ने सम्भावना रहेको लोकान्तरलाई बताए ।

कोरियामा अवैधानिक बस्ने नेपालीहरुको संख्यामा कमी ल्याउने उद्देश्यले कोरियास्थित नेपाली दूतावासले कोरियन सरकारको सहयोगमा ‘ह्याप्पी होम रिटर्न’ नामक कार्यक्रम संचालन गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्