२१ असार २०८३, आइतबार

दुर्गमको दुःख : सर्पदंशको उपचारका लागि दार्चुलाबाट काठमाडौं

असार २, २०७५
दुर्गमको दुःख : सर्पदंशको उपचारका लागि दार्चुलाबाट काठमाडौं

काठमाडौं , २ असार – दार्चुलाकी ६४ वर्षिया पार्वतीदेवी टाँगा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको १२ नम्बर शैय्यामा भेटिइन् । उनका गोडाहरू सुन्निएका थिए । हातको पाखुरा, पेट र शरीरको अन्य भागमा निलडाम थियो ।

टाँगालाई शौचालय जाँदा देब्रे हातको नाडीमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि टाँगालाई उनका छोराले आधा घण्टाभित्र जिल्ला अस्पताल दार्चुला पु¥याए । जिल्ला अस्पताल दार्चुलाले भर्ना नै गरेर ४ दिनसम्म उपचार ग¥यो । ४ दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गराएपनि टाँगाको देब्रे हातमा सर्पले टोकेको ठाउँमा झनै निलो हुँदै गयो ।

विस्तारै हातको पाखुरा र शरीरका अन्य भागमा पनि रगत जमेर निलो डाम देखियो । शरीर समेत सुन्निन थाल्यो । शरीर सुन्निने र निलो दाग देखिन थालेपछि जिल्ला अस्पताल दार्चुलाले भेरी अञ्चल अस्पताल नेपालगञ्जमा रेफर गरिदिएको टाँगाका दाजु नयनसिंह धामीले लोकान्तरलाई बताए । सर्पले टोकेको दाग ‘मन्त्रले जान्छ’ भनेर झारफुक समेत गरेको उनले सुनाए ।

‘हाम्रो गाउँमा सर्पले टोकेको निलो मन्त्रले निको हुन्छ भन्ने चलन छ, हामीले झारफुक पनि गर्यौं,’ टाँगाका दाजु नयनसिंहले लोकान्तरसँग भने, ‘सामान्य सर्पले टोकेको होला भनेर सोच्यौं । ४ दिनसम्म भर्ना गरेर राखेपछि जिल्ला अस्पतालले औषधि छैन भनेर भेरी अञ्चल अस्पतालमा पठायो ।’

भेरी अञ्चल अस्पतालमा रिफर भएपछि टाँगालाई १० दिनसम्म आइसीयूमा राखेर उपचार गरियो । अञ्चल अस्पतालमा १० दिनसम्म उपचार गर्दा निको हुनुको सट्टा झनै वान्ता हुने र ज्वरो समेत आउन थाल्यो । टाँगाको स्वास्थ्यमा खराबी बढ्न थालेपछि भेरी अञ्चल अस्पतालले पनि काठमाडौं रेफर गरिदिएको धामीले बताए । ‘अञ्चल अस्पतालले आइसीयूमै राखेर उपचार गरेको हो । तर, १० दिनसम्म पनि ठिक नभएपछि फेरि औषधि छैन नै भन्यो, टेकु अस्पतालमा जानुस् भनेर पठायो । हवाइजहाजबाट काठमाडौंमा ल्यायौं,’ उनले भने ।

गत बुधबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएकी टाँगाको अहिले उपचार भइरहेको छ । सर्पको विषको असरले शरीरमा अन्य स्वास्थ्य समस्या समेत देखिन थालेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । जिल्ला अस्पताल र अञ्चल अस्पतालमा सर्पले टोकेको औषधि नपाउँदा काठमाडौं आउन बाध्य भएको टागाँका दाजु नयनसिंहले गुनासो गरे । ‘जिल्ला अस्पतालमा जहिल्यै औषधिको समस्या हुन्छ, उपचार गर्न गयो भने काठमाडौं नै रिफर भएर आउनुपर्छ,’ नयनसिंहले गुनासो गरे ।

दार्जुलाकी टाँगाजस्तै जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आउने गरेका छन् । काभे्र, धादिङ, गोरखा, मकवानपुर लगायतका पहाडी जिल्लाबाट आउने सर्पदंशका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । ‘अस्पतालमा अहिले इमर्जेन्सीमा मात्रै दैनिक १२ जना सर्पदंशका बिरामी आउन थालेका छन्,’ डा. पुनले भने, ‘हामीले बिरामीको रगतमा खराबी देखियो भने भर्ना गरेर नै उपचार गराउँछौं ।’

वर्षा र रोपाइको समय शुरू भएको भन्दै उनले सर्पदंशका बिरामी बढ्न सक्ने बताए । ‘अब बर्खा लागेको छ, ग्रामीण क्षेत्रमा रोपाइ पनि शुरू हुँदैछ, त्यसैले सर्पदंशका बिरामी झनै बढ्न सक्छन्,’ डा. पुनले भने, ‘किसानले खेतबारीमा जाँदा, बाटोमा हिँड्दा ध्यान दिएर हिँड्नुपर्छ, सर्पले टोकिहालेमा स्वास्थ्य संस्थामा आइहाल्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्