०३ असार २०८३, बुधबार

सर्वोच्चका मुख्य रजिष्ट्रारको विदेश भ्रमण मोह, आईएनजीओको खर्चमा अमेरिकाको सयर

असोज १९, २०७५
सर्वोच्चका मुख्य रजिष्ट्रारको विदेश भ्रमण मोह, आईएनजीओको खर्चमा अमेरिकाको सयर

काठमाडौं– गत असार १६ गते (शनिवार) नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई ‘अनुमतिबिना अनावश्यक विदेश भ्रमण’मा जान लागेको भन्दै विमानस्थलबाटै फिर्ता गरियो । 

तर, त्यसको दोस्रो दिन (असार १७ गते) सर्वोच्चका न्यायाधीशसहितको एक टोली युरोपेली मुलुक जर्जियातर्फ उड्यो । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई नेतृत्वको टोलीमा उच्च अदालतका न्यायाधीश केशव जोशी, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन प्रसाद भट्टराई, सहरजिष्ट्रार नारायण पन्थी, जिल्ला न्यायाधीश अर्जुन अधिकारीलगायत ९ जनाको टोली जर्जिया घुमेर आएको थियो । 

सरकारले गत फागुनमा सरकारी खर्चलाई मितव्ययी बनाउने भन्दै ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५’ जारी गर्यो । उक्त निर्देशिकाअनुसार सरकारी बजेट खर्च हुने भ्रमणका लागि पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था बाध्यकारी बनाइयो । 

तर, असार १७ गते जर्जिया उडेको न्यायाधीशसहितको टोलीको विदेश भ्रमणबारे सरकारले सुइकोसम्म पाएन । यस्तै अवस्था पुनः दोहरिन लागेको छ, सर्वोच्च अदालतमा । 

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन प्रसाद भट्टराईको नेतृत्वमा जिल्ला अदालतका न्यायाधीश, सर्वोच्च अदालतका कर्मचारी र जिल्ला अदालतका कर्मचारीसहितको टोली पुनः विदेश भ्रमणमा जाने तयारीमा छ । 

घटेन एनजीओको प्रभाव

तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले न्याय क्षेत्रलाई विभिन्न एनजीओ र आईएनजीओको प्रभावबाट मुक्त गर्ने भन्दै मन्त्रिपरिषदमा एउटा कार्ययोजना पेश गरेका थिए । 

विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरुले अदालतमा सञ्चालन गर्ने परियोजना र न्यायाधीशहरुलाई विदेश भ्रमण गराउने कार्य बढेको गुनासोलाई सम्बोधन गर्न भनेर कार्ययोजना ल्याउन लागिएको बताइएको थियो । 

कार्ययोजनामा एनजीओ र आईएनजीओले सरकारको अनुमति लिएर मात्रै अदालतमा परियोजना सञ्चालन गर्न पाउनेदेखि ‘मन्त्रिपरिषदको स्वीकृति’मा मात्रै प्रधानन्यायाधीश र न्यायाधीशले विदेश भ्रमण गर्न पाउने व्यवस्था गरिएको थियो । यद्यपि उक्त कार्ययोजना अहिले अलपत्र पारिएको छ । 

मुख्य रजिष्ट्रार भट्टराई नेतृत्वको टोली पनि एनजीओको प्रायोजनमा अमेरिका भ्रमणमा जान लागेको हो । शनिवार (असोज २० गते) अमेरिका उड्ने भट्टराई नेतृत्वको टोली असोज २९ गते (सोमवार) स्वेदश फर्किनेछ । 

भट्टराई नेतृत्वको टोलीमा ललितपुर जिल्ला अदालतका १ नम्बर न्यायाधीश बालमुकुन्द दवाडी, श्रेष्तेदार चन्द्र प्रकाश तिवारी लगायत सर्वोच्च अदालत र ललितपुर जिल्ला अदालतका कर्मचारी र केही कानून व्यवसायी पनि सहभागी हुनेछन् । 

भट्टराई जाने कार्यक्रमको मुख्य आयोजक अमेरिकामा मुख्य कार्यालय रहेको ‘दि इन्टरनेशनल लिगल फाउन्डेसन’ (आईएलएफ) हो । नेपालमा त्यसको व्यवस्थापन सार्वजनिक प्रतिरक्षक समाज नेपाल (पीडीएस) नेपाल नामक एक गैरसरकारी संस्थाले गर्न लागेको हो । 

मुख्य रजिष्ट्रारको विदेश भ्रमण मोह 

गत असार १७ मा भएको जर्जिया भ्रमणका लागि २०७४ मंसिरमा सर्वोच्च अदालतबाट ५० लाख रुपैयाँ बजेट माग गरिएको थियो । अर्थमन्त्रालयले सर्वोच्चको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले सर्वोच्चका न्यायाधीशसहितको टोलीलको अमेरिका भ्रमणको लाटि ५० लाख दिने सहमति जनाएको थियो । 

सरकारले छुट्याएको ५० लाख सक्न गत फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको नेतृत्वमा सारदाप्रसाद घिमिरे, तत्कालीन मुख्य रजिष्ट्रार नहकुल सुवेदीलगायतको टोली अमेरिका उड्ने तयारीमा थियो । तर, सरकारले अनावश्यक खर्च कटौतीको नीति लिएपछि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले उक्त भ्रमण रद्द गराए । 

पछि ५० लाख रुपैयाँ बजेट सक्नकै लागि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईसहितको टोली जर्जिया उड्यो । जसमा मुख्य रजिष्ट्रार राजन प्रसाद भट्टराई पनि सहभागी थिए । 

जर्जिया भ्रमणबाट फर्किएको ३ महिनामै मुख्य रजिष्ट्रार भट्टराई शनिवार पुनः अमेरिका उड्न लागेका हुन् । १ हप्ताको ‘स्टडी टूर’ भनिएको भ्रमणका लागि शनिवार अमेरिका उड्ने भट्टराई २९ गते स्वदेश फर्किने सर्वोच्च अदालत स्रोतले जनायो । 

‘खासमा यो भ्रमण आईएलएफले ललितपुर जिल्ला अदालतमा सञ्चालन गरेको एक सहजीकरण कार्यक्रमअन्तर्गत हुन लागेको हो । जसमा ललितपुर जिल्ला अदालतका न्यायाधीश र कर्मचारीलाई मात्र सहभागी बनाउने भन्ने थियो,’ भ्रमणको व्यवस्थापन गरिरहेको पीडीएस नेपाल नामक गैरसरकारी संस्थाका एक पदाधिकारीले लोकान्तरसँग भने, ‘तर सर्वोच्चका मुख्य रजिष्ट्रार ज्यूले आफू र केही कर्मचारीलाई पनि भ्रमण सहभागी गराउनुपर्ने अडान राख्नुभयो । उहाँलाई भ्रमण दलमा सहभागी नगराए भ्रमण नै स्वीकृत नहुने स्थिति आएपछि अहिले भ्रमण दलको आकार बढेको छ ।’

न्याय सेवाअन्तर्गत जिल्ला न्यायाधीशदेखि विशिष्ट श्रेणीका अधिकृतसम्मको विदेश भ्रमण प्रधानन्यायाधीशले स्वीकृत गर्ने व्यवस्था छ ।  भट्टराईले विदेश भ्रमणको तयारी पहिलेदेखि नै गरेपनि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रबाट भने केहीदिन अगाडि मात्रै आफ्नो र ललितपुर जिल्ला अदालतका न्यायाधीशको अमेरिका भ्रमण स्वीकृत गराएका थिए । 

ललितपुर जिल्ला अदालतका श्रेष्तेदार चन्द्र प्रकाश तिवारीलगायत सर्वोच्चका कर्मचारीको भ्रमण भने मुख्य रजिष्ट्रार भट्टराई आफैंले स्वीकृत गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्