
काठमाडौं – खानेपानी सचिव गजेन्द्र ठाकुरले आगामी दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने दाबी गरेका छन् ।
प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रविधि समितिको आइतवार बसेको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै खानेपानी सचिव ठाकुरले यस्तो दाबी गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका समिति सदस्य झलनाथ खनालले मेलम्चीको पानी काठमाडौं कहिले आइपुग्छ भन्ने प्रश्न गर्दै मिति तोक्न आग्रह गरेका थिए ।
खनालको प्रश्नको जवाफ दिँदै सचिव ठाकुरले दुई महिनाभित्रै मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्ने दाबी गरे ।
‘६० दिनमा प्राविधिक काम सकिन्छ,’ उनले भने, ‘त्यसको एक हप्ताभित्रै पानी सुन्दरीजलमा झर्छ ।’
यसअघि विभिन्न प्राविधिक काममा भएको ढिलाइका कारण पानी आउन नसकेपनि अबको दुई महिनामा कुनै पनि हालतमा पानी आइपुग्ने सचिव ठाकुरको दाबी थियो ।
मेलम्ची खानेपानी समितिका कार्यकारी निर्देशक सूर्यराज कंडेलले टनेलको काम बाँकी रहेकाले अझै केही सयम लाग्ने बताए ।
उनले ठेकेदार कम्पनीलाई केही रकम उपलब्ध गराउन बाँकी रहेको र रकम उपलब्ध गराउन नसकेमा कार्य लम्बिन सक्ने बताए ।
बैठकमा खानेपानी मन्त्री बीना मगरको उपस्थिति थिएन । उनको अनुपस्थितिप्रति अधिकांश सांसदहरूले आक्रोस व्यक्त गरे ।
यसअघि मन्त्री मगरले दशैंभित्रै मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताएकी थिइन् ।