शेरबहादुर देउवा सभापति निर्वाचित भएपछि पहिलोपटक आयोजना भएको नेपाली कांग्रेस महासमितिको बैठकको रौनक कांग्रेस नेता कार्यकर्ताहरुमा छाएको छ ।
कांग्रेस शीर्ष नेता र महासमिति सदस्यहरु सिंहदरबारको मूलढोका अगाडि सरकारलाई औंला तेर्साइरहेका छन् । सरकारको कामकारबाहीको आलोचनामा उत्रिनु विपक्षीको स्वभाविक धर्म हो तर कांग्रेसजन यतिवेला सरकारविरुद्ध भन्दा आफ्ना गुटको डम्फू बजाउन व्यस्त देखिएका छन् ।
तर शनिवार मध्याह्न उद्घाटन भएको महासमितिको बैठकमा बोल्ने अधिकांश नेताहरु भने गुटउपगुटले पार्टीलाई ध्वस्त गराएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र सभापतिमै पराजित वरिष्ठ नेता रामचन्द्र पौडेललाई एक हुन आग्रह गरिरहेका थिए । उनीहरुको आग्रहमा प्रतिनिधहरुले ताली बजाउँन विर्सेनन् ।
कांग्रेसमा कति गुट छ भन्ने तथ्य लुकेको विषय होइन तर पनि मञ्चबाटै नेताले औंला भाँच्दै गुट गनेर जग हसाएका छन् ।
उद्घाटन सत्रमा आफ्ना भनाइ राखेका पूर्वसभामुख समेत रहेका नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले औंला भाँचेर गुटको संख्या गन्दै भनेका थिए,‘कांग्रेसभित्रका गुटहरू एक होइन, दुई होइन, तीन होइन, चार पनि होइन, पाँच वटाहरू रहेको समाचार दैनिक संचारमाध्यममा आउँछ ।
कांग्रेसभित्रको झगडा औंल्याउँदै रानाभाट थप्छन्, ‘हिजो बेलुकासम्म झगडा गर्नुभयो पत्रपत्रिकामा समाचार आएका छन्, यो चालाले नेपाली कांग्रेस कहिले सुध्रिने ?’ यो सुनेर दर्शकदीर्घामा रहेका कांग्रेस नेता कार्यकर्ताहरूले ताली बजाउँदै चर्को हुटिङ गरेका थिए ।
नेता कृष्ण सिटौला भने आन्तरिक विवादलाई त्यति धेरै हाइलाइट गरेनन् । तर उनले आफूले बोलेको मात्रै सत्य सावित गर्न खोज्नु मुर्खता हुने जिकिर गरे । उनले शीर्ष नेताले गल्ती गर्ने र त्यसलाई कार्यकर्ता वा महासमिति सदस्यहरुले सचेत गराउँनु पर्ने भन्दै कुटनीतिक भाषण गरे ।
कांग्रेस नेता गोपालमान श्रेष्ठ पार्टी हारको समिक्षा नभएको स्वीकार्दै सभापतिमा जितेका व्यक्तिलाई काम गर्न दिनुपर्ने बताए । रामचन्द्र पौडेल लगायतका संस्थापन इतरका नेताहरुको नाम नलिइ उनले सभापतिको हातखुट्टा बाँध्न खोजेको बताएका थिए ।
महिला नेतृहरू चित्रलेखा यादव र सीतादेवी यादवले पार्टीभित्र महिलाहरूलाई अघि बढ्ने वातावरण नभएको भन्दै नेतृत्वको आलोचना गरेका थिए । ‘कम्युनिस्टहरूले ओनसरीलाई सभामुख बनाए, विद्यादेवीलाई राष्ट्रपति बनाए, नेपाली कांग्रेसले महिलाहरूलाई कहिले देशको र संसदको प्रमुख बनाउँछ ?’ दुवै महिला नेतृहरूको साझा अभिव्यक्ति थियो ।
सहमहामन्त्री प्रकाशशरण महतले सभापतिले बोल्न नजानेको भन्दै टिप्पणी गरेका थिए । टुटफुट र गुटबन्दीका कारण कांग्रेस पछि परेको भन्दै उनले पनि एक भएर अघि बढ्नुपर्ने तर्क पेश गरे ।
नेपाली कांग्रेसभित्र हिन्दुत्वको बहस चलाउँदै आएका महामन्त्री सशांक कोइराला पनि पार्टी एकढिक्का हुन नसकेको कारणले चुनाव हारिएको बताए । ‘कांग्रेसका नेताहरूको सफल नेतृत्वमा इतिहासका सबै आन्दोलनहरू सफल भए । तर अहिले कम्युनिस्टहरूले जिते । यो हामी एक ढिक्का नहुनुको परिणाम हो’ भन्दै पार्टी एकढिक्का बनाउनका लागि सम्पूर्ण ताकत लगाउन नेताहरूलाई कोइरालाले आग्रह गरेका थिए ।
पार्टी एकतापछिका विवादित उपसभापति विजय गच्छदार पनि नेपाली कांग्रेस एकजुट हुनुपर्ने भन्दै आफू कम्युनिस्टले देश बर्बाद पार्ला कि भन्ने डरका कारणले कांग्रेसमा फर्किएको बताएका थिए । संविधान नबन्दैफोरम भन्ने पार्टी खोलेर कांग्रेस छाडेका गच्छदारले दश वर्षपछि कांग्रेस फर्किएर ‘जय नेपाल’ भन्न पाउँदा आफूलाई खुसी लागेको बताएका थिए । उनले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल एक हुनुका विकल्प नभएको भन्दै दुबै नेतालाई हात मिलाएर अघि बढ्न आग्रह गरेका थिए । त्यसपछि देउवा र पौडेलले हात समाएर कार्यकर्तालाई अभिवादन गरेका थिए । त्यो माहोलले दुई नेता एक भएको सन्देश दिन खोजेको थियो ।
सबैका टिकाटिप्पणी सुनेपछि भाषण गर्न आएका नेता पौडेलले आफू भुक्तभोगि भएको भन्दै एक हुन कुनै आपत्ति नभएको बताए । तर एकता मुद्दामा आवश्यक रहेको उनको जिकिर थियो ।
पौडेलले भने,‘किन नहुने हामी भर्खरै जुँगाको रेखी बसेको बेलामा जेलका कालकोठारीहरुमा सँगसँगै एउटै दुख भोगेका एउटै लक्ष्य लिएर हिँडेका, सँगै जवानी दिएका व्यक्तिहरुका बीचमा एकता किन नहुने मेल किन नहुने रु ’
उनले यसो भनिरहँदा महासमितिमा भागलिन आएका प्रतिनिधिले ताली पिटेका थिए । लगत्तै नेता पौडेलले भने,‘तपाईहरु सबैले उठेर भन्दै गर्दा मैले पत्याइरहेको थिइन म तपाईहरुलाई नै प्रश्न गर्छु, यहाँ बाट फर्केर जिल्लामा जाँदा तपाईहरु एक हुनुहुन्छ कि हुन्न रु जिल्लामा जाँदा छिर्केदाउ चल्ने हो कि होइन ।’
नेपाली कांग्रेसको संगठन कमजोर भएका कारणले जनताले भोट नदिएको भन्दै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘हामीले आफूलाई सुधार्नुपर्छ, त्यसपछि मात्र जनतासमक्ष जानुपर्छ ।’ एकता भन्दिएर मात्र हुँदैन, पार्टीमा सच्चा एकता हुनुपर्छ भन्दै पौडेलले नेपाली कांग्रेसकोछवी निर्माणका लागि मुद्दाहरूमै एकता हुनुपर्ने जिकिर गरे ।
पार्टी सभापति शेर बहादुर देउवाले पनि आफूहरू भित्र कमी कमजोरी रहेको स्वीकार्दै कमी कमजोरी माथि टेकेर विपक्षीहरूले लाभ लिएको बताए । उनले आगामी दिनमा कसैले पार्टी छोडेर जाने अवस्था नआउने बताए ।
कतिपय नेताहरूले अप्रत्यक्ष रूपमा आफ्नो गुटइतरका नेताहरूको आलोचना गर्न भ्याए पनि उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरू कांग्रेस सच्चिनुपर्ने आवश्यकता रहेको औंल्याएका थिए । गत स्थानीय, प्रादेशिक र संघीय चुनावमा लज्जास्पद हार बेहोरेको नेपाली कांग्रेसका नेताहरू महासमिति बैठकमा सच्चिने विषयमा जोड दिनु भनेको ‘पिसाव’ गरेपछि दैलो देख्नु जस्तै हो ।
चुनाव सकिएको १३ महिना हुनै लाग्दा पनि हारको जिम्मेवारी एक अर्कालाई लगाउँदै हिड्ने कांग्रेस नेताहरुले भाषण एक हुने र कांग्रेसलाई मजबुद बनाउँने विषय तत्कालै पत्याइहाल्ने अवस्था छैन ।
भाषणमा राम्रा कुरा गर्ने तर कोठे बैठक गर्न रुचाउने कांग्रेस नेताहरूले आफ्नो भनाइलाई कतिसम्म व्यवहारमा उतार्न सक्लान त ? कि रामचन्द्र पौडेलले भनेजस्तै महासमिति बैठक सकिएलगत्तै जिल्ला गएर एक अर्का विरुद्ध छिर्के हान्न थाल्लान् ? त्यो थाहा पाउन केही महिना नै काफी हुन्छ ।
साँच्चिकै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई सिंहदरबार छिराउने नेताहरूको अभिव्यक्ति पूरा होला कि नहोला त्यो भने समयक्रमले बताउँनेछ ।