
काठमाडौं - विवेकशील साझा पार्टीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकताका लागि आफूहरू खुला तर सतर्क रहेको बताएको छ ।
पार्टी विभाजनपछि बसेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन मंगलबार पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर सूर्यराज आचार्यले वैकल्पिक शक्तिहरूसँगको एकतामा आफ्नो पार्टी सधैँ खुला तर सतर्क रहेको बताएका हुन् ।
‘वैकल्पिक शक्तिसँगको एकतामा हामी सधैँ खुला छौं, तर वैचारिक राजनीतिक स्पष्टता हुनुपर्छ,’ नयाँ शक्तिसँग एकताको सम्भावनाबारे पत्रकारको जिज्ञासामा आचार्यले भने, ‘वैकल्पिक राजनीतिको एकाधिकार हामीसँग मात्र छ भन्ने जडता हामीसँग छैन, तर एकताका लागि विचारमा एकरूपता, राजनीतिलाई परिभाषित गर्ने तरिका एउटै हुनुपर्छ, त्यसका लागि हामी सतर्क छौं ।’
फुटपछि पार्टीमा देखा परेका समस्या तथा त्यसको राजनीतिक र सांगठानिक समाधानका लागि सोमवार केन्द्रीय समिति बैठक बसेको थियो । केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशनका लागि २०७६ सालको फागुन १५ गतेको मिति तोकेको छ ।
विवेकशील साझाले पार्टीका केन्द्रीय विभागहरूको पुनर्गठन र जिम्मेवारी बाँडफाँड समेत गरेको छ । जसमा संगठनको जिम्मेवारी मुमाराम खनाल, पार्टीको अभियानको जिम्मेवारी किशोर थापा, नीति तथा कार्यक्रमको जिम्मेवारी सूर्यराज आचार्य र विदेश विभागको जिम्मेवारी संयोजक रवीन्द्र मिश्रले लिनेछन् ।
केन्द्रीय समितिले मधेशको भावना, चाहना र देशको रूपान्तरणमा उनीहरूको सपना बुझ्नका लागि माघको तेस्रो सातादेखि विशेष ‘मधेश मिसन’ सञ्चालन गर्ने निर्णय समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
छापामार शैलीमा फुटेर गए
प्रवक्ता आचार्यले फुटेर जानेहरू कुनै छलफल नगरी एक्कासि छापामार शैलीमा गएको गुनासो गरे । ‘अर्का संयोजक रवीन्द्र मिश्रसँग कमसेकम हामी जाँदैछौं भनेको भए पनि हुने, एक-एक कप चिया पिएर छलफल गरेको भए पनि हुने,’ आचार्यले भने, ‘एकाएक निर्वाचन आयोगमा गएर पुरानै नामको नयाँ दल दर्ताको निवेदन दिएपछि हामीलाई थाहा भयो, उहाँहरू छापामार शैलीमा जानु भयो ।’
१७ महिना अगाडि पार्टी एकीकरण भएदेखि नै भावनात्मक रूपमा नजिकिन गाह्रो भएको विवेकशील साझाको तर्क छ । ‘हामीले व्यवस्थापकीय कमजोरी भएको हो कि भनेर त्यसको समाधानको प्रयास पनि गरिरहेका थियौं तर उहाँहरूमा गम्भीर राजनीतिक विचलन पैदा भइसकेको रहेछ,’ आचार्यले गुनासो पोखे । पार्टी फुटको तात्कालिक कारण भने संयोजक उज्वल थापाको राजनीतिक प्रतिवेदन रहेको आचार्यको जिकिर छ ।
'फुटेर जानेहरूले भयङ्कर अंकगणितीय खेल खेले'
फुटेर जाने १६ जना केन्द्रीय सदस्यहरूले आफूमाथि पूरानो र अंकगणितीय राजनीति खेलेको आरोप विवेकशील साझाले लगाएको छ । ‘हामीलाई संसदीय दलमा अंकगणितको कस्तो महत्त्व छ, केन्द्रीय कमिटीमा बहुमतको कस्तो महत्त्व छ भन्ने थाहा थिएन,’ आचार्यले भने, ‘उहाँहरू हिसाब-किताब गरेर बस्नुभएको रहेछ र फ्याट्ट निस्किनु भयो ।’
प्रदेश नम्बर ३ का तत्कालीन एकीकृत पार्टी विवेकशील साझाका ३ जना संसदहरू मध्ये २ सांसद फुटेर गएका छन् । संसदीय दलमा फुटेर जानेहरूको बहुमत छ । ‘यस सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय हामीलाई मान्य हुनेछ,’ आचार्यले भने ।
पार्टी विभाजन हुन केन्द्रीय समिति र संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान छ । ३ मध्ये २ सांसद् नयाँ दलतर्फ लागेपछि संसदीय दलमा विवेकशील साझासँग ३३ प्रतिशत (१) सांसद मात्र छन् ।
‘यदि हामीले ५ जना केन्द्रीय सदस्य थपेर बहुमत पुर्याउने खेल खेलेको भए, बहुमतले उहाँहरूलाई निष्कासन गर्न पनि सक्थ्यौं,’ आचार्यले भने, ‘उहाँहरूको सांसद पद पनि धरापमा पर्न सक्थ्यो, तर हामीले त्यस्तो गरेनौं । अझै पनि बहुमत हाम्रो हातमै छ ।’ पाँच जना केन्द्रीय सदस्य थपेर बहुमत पुर्याएको भन्ने आरोप सही नभएको आचार्यको जिकिर छ ।
गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता
डाक्टर गोविन्द केसीले इलाममा गएर शुरू गरेको आमरण अनशनमा पार्टीको ऐक्यबद्धता रहेको प्रवक्ता आचार्यले जानकारी दिए । ‘डाक्टर केसीको मागको मूल मर्म पैसा नभएका तर निको हुने रोग लागेका नेपालीले उपचार नपाएर मर्नु नपरोस् भन्ने हो, त्यसमा हामी पहिल्यैदेखि एकमत थियौं,’ आचार्यले भने, ‘हाम्रो पार्टीको घोषणापत्रमै प्रत्येक नागरिकको शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने छ ।’