
काठमाडौं– नेपालमा वार्षिक ६ सय ३५ मेट्रिक टन विषादीको खपत हुने गरेको छ ।
नेपालमा किटनाशक, रोगनाशक र झारपातनाशक गरेर वार्षिक ६ सय ३५ मेट्रिक टन विषादी आयात हुने र अधिकांश तरकारीमा प्रयोग हुने गरेको हो ।
प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्कअनुसार वार्षिक १ सय ६९ मेट्रिक टन किटनाशक, ३ सय ४७ मेट्रिक टन रोगनाशक र १ सय ५ मेट्रिक टन झारपातनाशक विषादी आयात हुने गरेको हो ।
केन्द्रका अनुसार नेपालमा विषादीको प्रयोग वर्षेनी बढ्दै गइरहेको र औषतमा वार्षिक ७५ करोड रुपैयाँ विषादीको लागि मात्रै खर्च भइरहेको केन्द्रले जानकारी दिएको छ ।
नेपालमा कृषि जन्य उत्पादनमा हुने विषादीको प्रयोगको ८५ प्रतिशत हिस्सा तरकारीमा मात्रै खपत हुने गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराज शर्माले बताए ।
तरकारी बालीमा प्रति हेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग हुने गरेको उनले बताए ।
एक हप्ता विषादीमुक्त कार्यक्रम
केन्द्रले सोमवारदेखि एक हप्ता विषादीमुक्त कार्यक्रमको आयोजना गरेको छ ।
मुलुकका विभिन्न जिल्ला तथा स्थानीय तहमा गरी ‘विषादी प्रयोग मुक्त सप्ताह २०७५’को आयोजना गरेको हो । ‘पोषण सुरक्षा र खाद्य स्वतन्त्रता, घातक विषादीमुक्त कृषिको आवश्यकता’ भन्ने मुल नाराका साथ साताव्यापी कार्यक्रमको मनाइरहेको हो ।
कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट छुट्याइएको र सोही बजेटको सीमाभित्र रहेर विषादीका बारेमा जनचेतनामुलक कार्यक्रम गर्दै विषादीमुक्त सप्ताह मनाउन लागिएको केन्द्रका प्रमुख शर्माले बताए ।
शर्माले वर्षभरी विषादीको प्रयोग गरेर एक हप्तामात्रै कर्यक्रमको आयोजना भनेर सोच्न नहुने बताए । ‘हामीले वर्षभरी पनि विभिन्न कार्यक्रम गरेर तथा सञ्चारमाध्यममार्फत् पनि विषादीका बारेमा जनचेतनामुलक प्रचार गरिरहेका हुन्छौं,’ उनले भने, ‘त्यसबाट पनि विषादीको बारेमा धेरै जनचेतना बढेको छ र यो एक हप्ता गरिएको कार्यक्रमले पनि आम जनमानसको धारणामा निकै परिवर्तन आउँछ भन्ने हो ।’
त्यस्तै उनले विगतका वर्षहरूमा गरिने यस्ता कार्यक्रमले विषादीको कम प्रयोग गराउन सहयोग गरेको दावी गरे ।
नेपालमा सन् २०१३ देखि 'विषादीमुक्त सप्ताह' मनाइँदै आएको छ ।